स्वास्थ्य
डिजिटल प्रविधिले बदलिँदै त्रिवि शिक्षण अस्पतालको सेवा अनुभव
गोरखाकी जेसिका रसाइली उपचारका लागि बेला–बेला त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल आइरहन्छिन्। सेवा सुस्त हुनु र हरेक कामका लागि लामो लाइन लाग्नु उनका लागि सामान्य अनुभवजस्तै बनिसकेको थियो।
तर केही दिनअघि अस्पताल पुगेकी रसाइली छक्क परिन्। बिहान दिएको रगतको नमुनाको रिपोर्ट त्यही दिन उपलब्ध भयो, त्यो पनि लामो लाइन बस्नुपरेन।
‘पहिला रगतको रिपोर्ट लिन ३–४ दिन लाग्थ्यो। रिपोर्ट लिन पनि लामो लाइन बस्नुपर्थ्यो,’ रसाइलीले आइसिटी समाचारसँग भनिन्, ‘मेसिन राखेपछि रिपोर्ट लिन धेरै सहज भएको छ।’
***
कालिकोट घर भएका वीरेन्द्र शाहीको अनुभव पनि यसपटक फरक रह्यो। आफन्तको उपचारका लागि अस्पताल आएका उनले पहिलेझैँ काउन्टरमा गएर पैसा जम्मा गर्न लाइन बस्नुपरेन। न क्यास बोक्नुपर्ने झन्झट, न त पालो कुर्नुपर्ने बाध्यता। उनले क्युआर स्क्यान गरेरै रकम डिपोजिट गरे।
‘पहिले बिरामी छोडेर पैसा डिपोजिट गर्न जानुपर्थ्यो। लाइन पनि लामो हुन्थ्यो,’ शाहीले भने, ‘अहिले क्युआरबाटै पैसा तिर्न मिल्ने भएपछि धेरै सहज भएको छ।’
***
जेसिका रसाइली र वीरेन्द्र शाही प्रतिनिधि पात्र मात्रै हुन्। पछिल्लो समय त्रिवि शिक्षण अस्पतालमा आउने अधिकांश सेवाग्राहीले सेवा प्रवाहको प्रक्रियामा यस्तै नयाँ र सहज अनुभव गरिरहेका छन्। यसको मुख्य कारण हो—डिजिटल प्रविधिको प्रभावकारी प्रयोग।
त्रिवि शिक्षण अस्पताल भन्नासाथ लामो लाइन, भिडभाड र झन्झटको तस्बिर आँखा अगाडि आउँथ्यो। धेरै सेवाग्राही यसैलाई नियति जस्तै स्वीकार गरिरहेका थिए। तर पछिल्लो समय प्रविधिको प्रयोगले यो धारणा विस्तारै बदलिँदै गएको छ।
अस्पतालका आईटी इन्चार्ज राजन लामिछानेका अनुसार डिजिटल प्रणाली लागू भएपछि सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको छ। अनलाइनमार्फत डाक्टरको अपोइन्टमेन्ट लिनेदेखि ल्याब रिपोर्ट हेर्ने सुविधासमेत उपलब्ध छ। करिब २ महिनाअघि अस्पतालले ल्याब रिपोर्ट लिन र पैसा डिपोजिटका लागि भेन्डिङ मेसिनसमेत सञ्चालनमा ल्याएको छ।
‘अहिले दुई वटा प्रयोजनका लागि भेन्डिङ मेसिन प्रयोगमा छन्,’ लामिछानेले भने, ‘एउटाबाट ल्याब रिपोर्ट लिन र अर्कोबाट पैसा डिपोजिट गर्न सकिन्छ।’
भेन्डिङ मेसिन सञ्चालनमा आएपछि पहिलेझैँ कोठा–कोठा धाउनुपर्ने बाध्यता हटेको अस्पतालका डाक्टर गणेश शाह बताउँछन्। उनका अनुसार, पहिले बिहानै आएर लाइन बस्नुपर्ने र रिपोर्ट तयार भइसकेपछि पनि लामो समय कुर्नुपर्ने अवस्था थियो।
बिलमा रहेको क्युआर कोड मेसिनमा देखाएपछि रिपोर्ट तयार भएको छ भने आफैँ प्रिन्ट गर्न सकिन्छ । यदि रिपोर्ट तयार नभएको भए सिस्टममै देखाउँछ।
भेन्डिङ मेसिनले पैसा जम्मा गर्ने प्रक्रिया पनि निकै सरल बनेको छ। भेन्डिङ मेसिनमा बिरामीको आईडी वा क्युआर कोड देखाएर प्रवेश गरेपछि स्क्रिनमा देखाइएको क्युआर स्क्यान गरेर रकम जम्मा गर्न सकिन्छ। भुक्तानीपछि रसिद पनि त्यहीँ प्रिन्ट हुन्छ।
डिजिटल प्रणाली लागू भएपछि बिरामी मात्र होइन, अस्पतालका कर्मचारीलाई पनि काम गर्न सहज भएको अस्पतालकी स्टाफ नर्स सुमित्रा देवकोटाले बताइन्। उनका अनुसार, भीड व्यवस्थापन र सेवाग्राहीसँगको समन्वय दुवैमा सुधार आएको छ।
डिजिटल प्रविधिको प्रयोगसँगै त्रिवि शिक्षण अस्पतालको सेवा अनुभव क्रमशः रूपान्तरण हुँदै गएको छ। लामो लाइन र झन्झटको पहिचान बनाएको अस्पताल अब छिटो, छरितो र सेवाग्राहीमैत्री प्रणालीतर्फ अघि बढ्दैछ।
स्वास्थ्य
सरकारले प्रत्येक प्रदेशका एक संघीय र दुई अन्य अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने
सरकारले प्रत्येक प्रदेशका एक संघीय र दुई अन्य अस्पतालहरूमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने भएको छ ।
अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने नेपमेड्सको मोबाइल एप सार्वजनिक
अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरे…
इसेवाको एकमा चार अफर, दैनिक एक रूपैयाँ भन्दा कममै स्वास्थ्य र दुर्घटना बीमा सुविधा
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एकमा चार अफर सार्वजनिक गरेको…
अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म ह्याप्पी माइन्ड्स
काठमाडौंकी श्रेया गिरीले बेलायतमा मास्टर्स अध्ययन गरिरहेकी थिइन् । अध्ययन गर्दा गर्दै कोरोना महामारी सुरू भयो । महामारीपछि उनको मानसिक स्वास्थ्यमा समस्या देखि…
तीनजना डाक्टरले सुरू गरेको ‘डक्टर्स अन कल’, जसले दिन्छ घरमै स्वास्थ्य सेवा
५-६ वर्ष अगाडि नेपालमा सूचना प्रविधिको चर्चा खासै हुँदैन्थ्यो । अहिलेको जस्तो इन्टरनेट सुविधा पनि थिएन । प्रविधि बारे साक्षरता पनि कमै थियो । त्यो बेला &lsq…
खल्तीले ल्यायो सुरक्षा प्याकेज, वार्षिक ३५० रूपैयाँमा २.३ लाखको बिमा र थप स्वास्थ्य सेवा
खल्तीले आफ्ना ग्राहकहरूका लागि ‘खल्ती सुरक्षा’ नामकको स्वास्थ्य सेवा प्याकेज उपलब्ध गरा…