कीवर्डहरू -

स्वास्थ्य बीमा नवीकरण गर्न परिवारका सबै सदस्यको केवाईसी अनिवार्य, अनलाइनबाटै विवरण अद्यावधिक गर्न सकिने

स्वास्थ्य बीमा नवीकरण गर्न परिवारका सबै सदस्यको केवाईसी अनिवार्य, अनलाइनबाटै विवरण अद्यावधिक गर्न सकिने

काठमाडौं । स्वास्थ्य बीमा नवीकरण गर्ने क्रममा अब बीमामा आबद्ध परिवारका सबै सदस्यको व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले बीमा अभिलेखलाई व्यवस्थित बनाउने र वास्तविक बीमितको पहिचान सुनिश्चित गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरेको हो ।

नयाँ व्यवस्थाअनुसार परिवारका सबै सदस्यको केवाईसी विवरण अद्यावधिक नगरेसम्म स्वास्थ्य बीमा नवीकरण प्रक्रिया अघि बढाउन पाइने छैन । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेलका अनुसार नवीकरण गर्न चाहने बीमितले बोर्डको आधिकारिक एचआईबी ई-पोर्टलमा गएर आफ्नो पुरानो बीमासम्बन्धी विवरण हेर्नुपर्नेछ । त्यसपछि परिवारका प्रत्येक सदस्यको व्यक्तिगत विवरण अद्यावधिक गरेर नवीकरण गर्न सकिनेछ ।

अध्यक्ष प्याकुरेलले स्वास्थ्य बीमा कार्यक्रमलाई थप पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउन केवाईसी अनिवार्य गरिएको बताए । बैंकिङ सेवामा जस्तै स्वास्थ्य बीमा नवीकरण गर्दा पनि सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक हुनुपर्ने उनको भनाइ छ ।

अब दर्ता सहयोगीको भर पर्नु नपर्ने
यसअघि स्वास्थ्य बीमासम्बन्धी विवरण परिवर्तन वा अद्यावधिक गर्न बीमितले दर्ता सहयोगीको सहायता लिनुपर्ने अवस्था थियो । तर नयाँ व्यवस्थापछि बीमित आफैँले अनलाइन प्रणाली प्रयोग गरी आफ्नो र परिवारका सदस्यको विवरण अद्यावधिक गर्न सक्नेछन् ।

बोर्डका अनुसार हाल स्वास्थ्य बीमा कार्यक्रममा एक करोड नौ लाख व्यक्ति आबद्ध छन् । तीमध्ये ७६ लाखले बीमा नवीकरण गरिसकेका छन् । बीमितमध्ये करिब साढे १३ लाख ज्येष्ठ नागरिक छन् । उनीहरूमध्ये कतिपयको मृत्यु भइसकेको हुन सक्ने भएपनि अभिलेख अद्यावधिक नहुँदा वास्तविक अवस्था पहिचान गर्न कठिनाइ भइरहेको अध्यक्ष प्याकुरेलले बताए ।

उनका अनुसार केवाईसी अद्यावधिक भएपछि बीमामा आबद्ध व्यक्तिको वास्तविक अवस्था पहिचान गर्न सहज हुनेछ । यसले मृत्यु भएका व्यक्तिको विवरण अद्यावधिक गर्न र बीमाको अभिलेखमा रहेका त्रुटि सच्याउनसमेत सहयोग पुग्नेछ ।

राष्ट्रिय परिचयपत्रसँग जोडिने बीमितको विवरण
बोर्डले बीमितको व्यक्तिगत विवरणलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने तयारीसमेत गरेको छ । यसबाट बीमितको पहिचान तथा व्यक्तिगत विवरण प्रमाणीकरण गर्न सहज हुने अध्यक्ष प्याकुरेलले बताए ।

राष्ट्रिय परिचयपत्रसँग विवरण जोडिएपछि एउटै व्यक्तिका नाममा दोहोरो अभिलेख रहने समस्या हटाउन पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ । यसले स्वास्थ्य बीमा कार्यक्रमको तथ्यांकलाई थप विश्वसनीय र व्यवस्थित बनाउने बोर्डको विश्वास छ ।

अध्यक्ष प्याकुरेलले राज्यबाट उपलब्ध गराइने सामाजिक सुरक्षा सुविधामा वास्तविक लाभग्राहीको पहिचान आवश्यक भएजस्तै स्वास्थ्य बीमामा पनि आधिकारिक बीमितको विवरण सुनिश्चित गर्नुपर्ने बताए ।

उनका अनुसार केवाईसी अद्यावधिकले बीमाको सुविधा वास्तविक हकदारसम्म पुर्‍याउन र कार्यक्रमको प्रभावकारी व्यवस्थापन गर्न सहयोग गर्नेछ ।