कीवर्डहरू -

स्वास्थ्य बीमामा सामूहिक दर्ता र नवीकरण अब अनलाइनबाटै

स्वास्थ्य बीमामा सामूहिक दर्ता र नवीकरण अब अनलाइनबाटै

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहज, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले प्रदेश सरकार तथा स्थानीय तहका लागि ‘डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवा’ सञ्चालनमा ल्याएको छ ।

बोर्डले मंगलबारदेखि आफ्नो आधिकारिक पोर्टलमार्फत नयाँ सेवा सुरु गरेको हो । सेवाको पहिलो चरणमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँचसहितको छुट्टाछुट्टै ड्यासबोर्ड उपलब्ध गराइएको छ ।

नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै अब प्रदेश तथा स्थानीय तहले आफ्नै ड्यासबोर्ड प्रयोग गरेर आफ्नो क्षेत्रभित्रका नागरिक तथा लक्षित लाभग्राहीलाई एकैपटक सामूहिक रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन र नवीकरण गर्न सक्नेछन् ।

यसका साथै स्थानीय तहले दर्ता सहयोगीमार्फत वा आफैँ ड्यासबोर्ड प्रयोग गरी बीमाबापतको योगदान रकम भुक्तानी गर्न सक्नेछन् । भुक्तानी तथा बीमासम्बन्धी सम्पूर्ण विवरण समेत अनलाइन प्रणालीमै सुरक्षित रहने व्यवस्था गरिएको छ ।

बोर्डका प्रवक्ता डा. पवनकुमार साहका अनुसार नयाँ प्रणालीले बीमा दर्ता तथा नवीकरण प्रक्रियामा लाग्ने समय घटाउनुका साथै कामलाई सरल, छरितो, व्यवस्थित र पारदर्शी बनाउनेछ ।

स्वास्थ्य बीमाको पहुँच विस्तार गर्न डिजिटल प्रविधिको उपयोगलाई प्राथमिकता दिँदै बोर्डले सबै प्रदेश सरकार तथा स्थानीय तहलाई नयाँ प्रणालीमा आबद्ध भई सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।