काठमाडौं । स्वास्थ्य व्यवसायीको दर्ता, प्रमाणपत्र प्रमाणीकरण र नियमन प्रक्रियालाई थप व्यवस्थित बनाउन नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले प्रविधिमा आधारित सेवा विस्तार गर्ने भएको छ । परिषद्ले दर्ता तथा नवीकरण अनलाइनबाट गर्ने, प्रमाणपत्रमा क्यूआर कोड राख्ने र स्वास्थ्य व्यवसायीको कार्यक्षेत्र स्पष्ट पार्ने योजनासहित संस्थागत सुधारका कार्यक्रम सार्वजनिक गरेको छ ।
परिषद्का अध्यक्ष सगुन पौडेलले सेवा प्रवाहमा देखिएका प्रक्रियागत जटिलता हटाउँदै संस्थालाई पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले सुधारका काम अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार कानुनी व्यवस्था परिमार्जन, अनुगमन प्रणाली सुदृढीकरण र सेवाग्राहीलाई सहज पहुँच उपलब्ध गराउने विषयलाई पनि कार्ययोजनामा समेटिएको छ ।
प्रस्तावित डिजिटल प्रणाली लागू भएपछि स्वास्थ्य व्यवसायीले दर्ता तथा नवीकरणका लागि अनलाइनबाटै प्रक्रिया पूरा गर्न सक्नेछन् । परिषद्बाट जारी भएका प्रमाणपत्रको आधिकारिकता क्यूआर कोडमार्फत परीक्षण गर्न मिल्ने व्यवस्था गरिनेछ । साथै, आफ्नो दर्ता र प्रमाणपत्रको अवस्था आफैँ जाँच गर्न सकिने ‘नो योर स्टाटस’ प्रणाली विकास गर्ने तयारी छ ।
परिषद्का रजिष्ट्रार रमेश श्रेष्ठले स्वास्थ्य व्यवसायीको योग्यता, दर्ता र अभ्याससम्बन्धी व्यवस्थालाई एकरूप बनाउन विभिन्न निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मास्टर अफ पब्लिक हेल्थ (एमपीएच) लगायत स्नातकोत्तर तहका विशेषज्ञता दर्तालाई निरन्तरता दिइनेछ ।
त्यसैगरी, ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच) र एमपीएचलगायतका शैक्षिक विधामा अध्ययन गरेका जनशक्तिको कार्यक्षेत्र तथा अभ्यासको दायरा (स्कोप अफ प्राक्टिस) निर्धारण गरी प्रमाणपत्र जारी गर्ने प्रक्रिया अघि बढाइएको छ । स्वास्थ्य व्यवसायीले आफ्नो योग्यता र निर्धारित कार्यक्षेत्रभन्दा बाहिर गएर सेवा प्रदान गर्न नपाउने व्यवस्था प्रभावकारी बनाउने परिषद्को योजना छ ।
दर्ता नवीकरणलाई व्यवस्थित बनाउने क्रममा प्रिस्क्रिप्सन, रेफरल स्लिप र व्यावसायिक आचारसंहितासम्बन्धी विषयलाई समेत समेटिनेछ । यसले स्वास्थ्य सेवाको अभ्यासमा व्यावसायिक मर्यादा र जिम्मेवारी कायम गर्न सहयोग पुग्ने परिषद्को अपेक्षा छ ।
कानुन संशोधन र नियमनमा पनि जोड
स्वास्थ्य व्यवसायीको कामकारबाहीलाई व्यवस्थित बनाउन विद्यमान कानुनी प्रावधानमा आवश्यक संशोधन गर्ने तयारी परिषद्ले गरेको छ । यसका लागि कार्यदल गठन गरी कानुनी तथा नीतिगत पक्षको अध्ययन गरिने अध्यक्ष पौडेलले बताउनुभयो ।
स्वास्थ्य व्यवसायीविरुद्ध पर्ने उजुरीको छानबिन, अनुगमन र कारबाही प्रक्रियालाई प्रभावकारी बनाउने विषय पनि सुधार योजनामा राखिएको छ । स्वास्थ्य संस्थाको नियमित निरीक्षण तथा अनुगमन र व्यवसायीको आचारसंहिता परिमार्जनलाई समेत प्राथमिकता दिइनेछ ।
परीक्षा प्रणाली सुधारका लागि परिषद्ले प्रश्न बैंक तयार गर्ने भएको छ । दर्ता परीक्षामा प्रश्नपत्र निर्माण तथा व्यवस्थापनको विद्यमान प्रक्रियाको समीक्षा गरी परीक्षालाई विश्वसनीय, पारदर्शी र एकरूप बनाउने लक्ष्य राखिएको छ ।
शैक्षिक अनुसन्धानलाई प्रोत्साहन गर्न विद्यार्थीलाई ‘स्टुडेन्ट थेसिस ग्रान्ट’ उपलब्ध गराउने र परिषद्को वार्षिक जर्नल प्रकाशन गर्ने कार्यक्रम पनि अघि सारिएको छ । यसका साथै संस्थाको आगामी पाँच वर्षको विकास योजना तयार गरिनेछ ।
स्वास्थ्य जनशक्तिसम्बन्धी नीतिगत विषयमा छलफल र समन्वय विस्तार गर्न स्वास्थ्य मन्त्रालय, नियामक निकाय, शिक्षण संस्था तथा अन्य सरोकारवालासँग सहकार्य गरिने परिषद्ले जनाएको छ । परिषद्ले आफ्ना सेवा र गतिविधिबारे सेवाग्राहीलाई जानकारी गराउन सचेतनामूलक भिडियो सामग्री उत्पादन गर्ने योजना पनि बनाएको छ ।
त्यस्तै, प्रमाणपत्र तथा पत्यारपत्रलाई डिजिटल अभिलेखमा राखिनेछ । परिषद्को नयाँ कार्ययोजनाले प्रशासनिक प्रक्रियालाई प्रविधिसँग जोड्नुका साथै स्वास्थ्य व्यवसायीको योग्यता, कार्यक्षेत्र र व्यावसायिक आचरणलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ ।
आईसीटी समाचार