काठमाडौं । अब स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन वा पुरानो बीमा नवीकरण गर्न कार्यालय धाउनुपर्ने बाध्यता छैन । स्वास्थ्य बीमा बोर्डले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमार्फत सेवाग्राहीले घरबाटै परिवारका सदस्यको नयाँ दर्ता, बीमा नवीकरण तथा सदस्य थप्न सक्ने व्यवस्था गरेको छ ।
अनलाइन प्रणाली प्रयोग गरी बीमितले केवाईसी (KYC) फाराम भर्न, आवश्यक कागजात अपलोड गर्न र बीमा बापतको शुल्क समेत भुक्तानी गर्न सक्नेछन् । यसबाट स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने प्रक्रियालाई सहज, छरितो र प्रविधिमैत्री बनाउने बोर्डको उद्देश्य छ ।
बीमा गर्न आवश्यक कागजात के-के हुन् ?
स्वास्थ्य बीमाका लागि अनलाइन आवेदन दिँदा परिवारका सदस्यको पहिचान खुल्ने कागजात र आवश्यक व्यक्तिगत विवरण पेस गर्नुपर्छ । आवश्यक कागजात भने राष्ट्रिय परिचयपत्र भए वा नभएको आधारमा फरक हुन्छ ।
राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले सोही परिचयपत्रको विवरण उपलब्ध गराउनुपर्नेछ । विवाहित व्यक्तिले वैवाहिक सम्बन्ध पुष्टि हुने विवाह दर्ता प्रमाणपत्रलगायतका कागजात पेस गर्नुपर्ने हुन्छ । धर्मपुत्र वा धर्मपुत्रीका हकमा सम्बन्ध पुष्टि गर्ने आधिकारिक प्रमाण आवश्यक पर्छ ।
राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिले भने नागरिकता वा जन्मदर्ता प्रमाणपत्रसँगै पासपोर्ट साइजको फोटो अपलोड गर्नुपर्नेछ । विवाहित व्यक्तिका लागि नाता पुष्टि गर्ने कागजात र धर्मपुत्र वा धर्मपुत्रीका लागि सम्बन्धित प्रमाण पनि अनिवार्य हुनेछ ।
त्यसैगरी, स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत लक्षित वर्गमा पर्ने व्यक्तिले आफू सम्बन्धित वर्गमा पर्ने प्रमाणित गर्ने परिचयपत्र समेत पेस गर्नुपर्नेछ ।
अनलाइन फाराममा व्यक्तिगत विवरण अनिवार्य
आवेदन प्रक्रियामा परिवारमूलीसहित परिवारका प्रत्येक सदस्यको व्यक्तिगत विवरण प्रविष्ट गर्नुपर्छ । यसमा नाम, जन्ममिति, लिङ्ग र वैवाहिक अवस्थासहित राष्ट्रिय परिचयपत्र नम्बर तथा मोबाइल नम्बर समावेश हुन्छन् ।
त्यस्तै, स्थायी र हाल बसोबास गरिरहेको ठेगाना, पेसा, शैक्षिक अवस्था तथा जातजातिसम्बन्धी विवरण पनि भर्नुपर्नेछ । आवेदन दिँदा आफ्नो अस्थायी ठेगानाका आधारमा प्रथम सेवा विन्दु (First Point of Service) समेत छनोट गर्नुपर्ने व्यवस्था छ ।
पुरानो बीमा नवीकरण गर्न पनि कार्यालय जानु नपर्ने
बोर्डको अनलाइन पोर्टल नयाँ सदस्य दर्ताका लागि मात्र सीमित छैन । यसबाट पहिले नै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका परिवारले आफ्नो बीमा नवीकरण गर्न पनि सक्नेछन् । यसका साथै परिवारमा नयाँ सदस्य थप्न र आवश्यक विवरण अद्यावधिक गर्न सकिने सुविधा उपलब्ध छ ।
अनलाइनबाटै आवेदन, कागजात पेस र शुल्क भुक्तानी गर्न मिल्ने भएकाले सेवाग्राहीको समय र झन्झट दुवै कम हुने अपेक्षा गरिएको छ । यसरी स्वास्थ्य बीमाको दर्ता, नवीकरण र विवरण अद्यावधिक गर्ने प्रक्रियालाई एउटै डिजिटल प्रणालीमा समेटेर बोर्डले सेवालाई थप पहुँच योग्य बनाउने प्रयास गरेको छ ।
आईसीटी समाचार