कीवर्डहरू -

एन्ड्रोइडमा पनि उपलब्ध भयो च्याटजीपीटी हेल्थ, फिटनेस एप र स्मार्ट उपकरण जोड्न सकिने

एन्ड्रोइडमा पनि उपलब्ध भयो च्याटजीपीटी हेल्थ, फिटनेस एप र स्मार्ट उपकरण जोड्न सकिने

काठमाडौं । ओपनएआईले एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि च्याटजीपीटी हेल्थ सेवा उपलब्ध गराएको छ । यस सुविधामार्फत प्रयोगकर्ताले आफ्ना फिटनेस एप र स्मार्ट उपकरण जोडेर निद्रा, व्यायाम तथा दैनिक स्वास्थ्य गतिविधिबारे जानकारी लिन सक्नेछन् । च्याटजीपीटीले यस्ता विवरणका आधारमा स्वास्थ्यसम्बन्धी सुझाव दिनुका साथै आवश्यक सम्झनासमेत गराउन सक्नेछ ।

एन्ड्रोइड प्रयोगकर्ताले गुगलको ‘हेल्थ कनेक्ट’ मार्फत आफ्नो स्वास्थ्यसम्बन्धी विवरण च्याटजीपीटीमा जोड्न सक्नेछन् । विवरण जोडिसकेपछि प्रयोगकर्ताले आफ्नो निद्रा, व्यायाम र दैनिक गतिविधिबारे च्याटजीपीटीसँग प्रश्न गर्न सक्नेछन् ।

उदाहरणका लागि, कुन दिन बढी हिँड्दा निद्रामा सुधार भयो वा दिनभरि कति हिँडियो भन्ने जानकारी च्याटजीपीटीले दिन सक्नेछ । यसका लागि प्रयोगकर्ताले सामान्य कुराकानीमार्फत प्रश्न सोध्न वा ‘@Health’ लेखेर स्वास्थ्यसम्बन्धी सुविधा प्रयोग गर्न सक्नेछन् ।

यससँगै प्रयोगकर्ताको स्वास्थ्यसम्बन्धी विवरण ‘डट्स’मा पनि जोडिनेछ । यसले प्रयोगकर्ताको दैनिक तालिका र गतिविधिका आधारमा व्यायाम गर्ने उपयुक्त समयजस्ता सुझाव आफैँ दिन सक्नेछ ।

ओपनएआईका अनुसार, जोडिएका स्वास्थ्य विवरण एआईलाई तालिम दिन वा विज्ञापन देखाउन प्रयोग गरिने छैन । यद्यपि, प्रयोगकर्ताको सेटिङअनुसार स्वास्थ्यसम्बन्धी कुराकानी भने एआई सुधारका लागि प्रयोग हुन सक्नेछ ।

यो सुविधा हाल अमेरिकामा रहेका १८ वर्ष वा सोभन्दा माथिका योग्य प्रयोगकर्ताका लागि फ्री, गो, प्लस र प्रो योजनामा उपलब्ध छ । एन्ड्रोइड प्रयोगकर्ताका लागि भने यो सुविधा चरणबद्ध रूपमा विस्तार भइरहेको छ ।

यो सुविधा प्रयोग गर्न च्याटजीपीटी एप अपडेट गरी ‘हेल्थ’ विकल्पमा जानुपर्छ । त्यसपछि ‘हेल्थ कनेक्ट’ मार्फत आवश्यक स्वास्थ्य विवरण जोड्न सकिन्छ ।