कीवर्डहरू -

मस्कको महत्वाकांक्षी योजना स्वीकृत, अन्तरिक्षमा बन्नेछन् एआई डाटा सेन्टर

मस्कको महत्वाकांक्षी योजना स्वीकृत, अन्तरिक्षमा बन्नेछन् एआई डाटा सेन्टर

काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले पृथ्वीको कक्षमा १० लाखसम्म उपग्रह स्थापना गर्ने महत्वाकांक्षी योजनाका लागि अमेरिकी नियामक निकायबाट अनुमति पाएको छ । अन्तरिक्षमै कृत्रिम बुद्धिमत्ता (एआई) का लागि आवश्यक डाटा सेन्टर सञ्चालन गर्ने उद्देश्यले अघि सारिएको यो परियोजनालाई अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले स्वीकृति दिएको हो ।

स्पेसएक्सले ‘स्टारमाइन्ड’ नाम दिएको यस परियोजनाअन्तर्गत सौर्य ऊर्जाबाट सञ्चालन हुने उपग्रहहरूको सञ्जाल निर्माण गरिनेछ । ती उपग्रहले अन्तरिक्षमै एआईसम्बन्धी डाटा प्रशोधन गर्ने र त्यसबाट प्राप्त नतिजा पृथ्वीमा पठाउनेछन् ।

एफसीसीका अनुसार यो परियोजनाले अमेरिकाको तीव्र गतिमा विस्तार भइरहेको एआई तथा उच्च क्षमताको कम्प्युटिङ क्षेत्रलाई थप सहयोग पुर्‍याउनेछ । आयोगका अध्यक्ष ब्रेन्डन कारले यसलाई अन्तरिक्ष तथा अत्याधुनिक प्रविधिमा अमेरिकी नेतृत्व सुदृढ गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन् ।

स्वीकृत योजनाअनुसार स्पेसएक्सले सन् २०३३ नोभेम्बरसम्म उपग्रह प्रक्षेपण सुरु गरिसक्नुपर्नेछ । त्यसैगरी, सन् २०३५ नोभेम्बरसम्म स्वीकृत उपग्रहको कम्तीमा १० प्रतिशत र सन् २०३८ नोभेम्बरसम्म ५० प्रतिशत प्रक्षेपण पूरा गर्नुपर्नेछ । तर, कम्पनीले भने आगामी वर्ष नै पहिलो स्टारमाइन्ड उपग्रह अन्तरिक्षमा पठाउने लक्ष्य राखेको छ ।

योजनाअन्तर्गतका उपग्रह पृथ्वीको सतहबाट ५०० देखि २ हजार किलोमिटर उचाइमा रहनेछन् । तिनलाई स्पेसएक्सकै विद्यमान स्टारलिङ्क सञ्जालसँग जोडेर डाटा आदानप्रदान गरिनेछ । स्टारलिङ्कले हाल १० हजारभन्दा बढी उपग्रहको सञ्जालमार्फत विश्वका विभिन्न क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्ने अवधारणामा स्पेसएक्स मात्र नभई गुगल र ब्लु ओरिजिनजस्ता कम्पनीले पनि चासो देखाउँदै अध्ययन गरिरहेका छन् । पृथ्वीमा ठूला डाटा सेन्टर सञ्चालन गर्दा ठूलो परिमाणमा विद्युत् खपत हुनुका साथै उपकरण चिस्याउन प्रशस्त पानी आवश्यक पर्छ । त्यसैले सौर्य ऊर्जाको उपयोग गर्दै अन्तरिक्षमै कम्प्युटिङ पूर्वाधार विकास गर्ने अवधारणालाई सम्भावित विकल्पका रूपमा हेरिएको छ ।

एआई प्रविधिको प्रयोग र विकास तीव्र भएसँगै डाटा प्रशोधन तथा भण्डारणको माग पनि बढ्दै गएको छ । तर, पृथ्वीमा ठूला डाटा सेन्टर निर्माण गर्दा ऊर्जा र पानीको अत्यधिक खपत, वातावरणीय प्रभाव तथा स्थानीय समुदायको असन्तुष्टिजस्ता समस्या देखिने गरेका छन् । अमेरिकाका विभिन्न स्थानमा यस्ता केन्द्र निर्माणको विरोधसमेत हुँदै आएको छ ।

यद्यपि, अन्तरिक्षमा डाटा सेन्टर सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण हुनेछ । विज्ञहरूका अनुसार उपग्रह र आवश्यक उपकरण अन्तरिक्षमा पुर्‍याउन ठूलो लागत लाग्नेछ । त्यसबाहेक उपकरणको तापक्रम नियन्त्रण, ऊर्जा व्यवस्थापन र अन्तरिक्षमा सम्भावित क्षतिबाट सुरक्षा गर्नु पनि जटिल हुनेछ । अन्तरिक्षमा बढ्दो फोहोर र उपग्रहहरूबीच हुन सक्ने ठक्करको जोखिमले समेत यस्तो परियोजनाको सञ्चालनलाई चुनौतीपूर्ण बनाउनेछ ।

स्पेसएक्सको स्टारलिङ्क सञ्जाल विस्तारसँगै पृथ्वीको तल्लो कक्षमा उपग्रहको सङ्ख्या अत्यधिक बढेको र यसले अन्तरिक्षमा भीडभाड सिर्जना गरेको भन्दै आलोचना हुँदै आएको छ । तर, कम्पनीका प्रमुख एलन मस्कले भने यस्ता आरोप अस्वीकार गर्दै आएका छन् ।

एफसीसीबाट १० लाखसम्म उपग्रह राख्ने अनुमति प्राप्त भएपनि स्पेसएक्सले स्वीकृत सबै उपग्रह प्रक्षेपण गर्ने वा नगर्नेबारे भने यकिन भइसकेको छैन । परियोजना कार्यान्वयनमा आएमा अन्तरिक्षमा डाटा प्रशोधन र एआई पूर्वाधार विकासको क्षेत्रमा यो ठूलो परिवर्तनकारी कदम हुन सक्ने अपेक्षा गरिएको छ ।