कीवर्डहरू -

ह्वाट्सएपमा एकैपटक चल्नेछन् अगाडि र पछाडिका क्यामेरा, नयाँ ‘Dual Camera’ फिचर परीक्षणमा

ह्वाट्सएपमा एकैपटक चल्नेछन् अगाडि र पछाडिका क्यामेरा, नयाँ ‘Dual Camera’ फिचर परीक्षणमा

काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ क्यामेरा फिचर परीक्षण गरिरहेको छ । ‘डुअल क्यामेरा’ (Dual Camera) नाम दिइएको यस फिचरमार्फत मोबाइल फोनको अगाडिको (Front) र पछाडिको (Rear) क्यामेरा एकैपटक प्रयोग गरी फोटो खिच्न तथा भिडियो रेकर्ड गर्न सकिनेछ । यसले प्रयोगकर्तालाई आफूले देखिरहेको दृश्यसँगै आफ्नो प्रतिक्रिया पनि एउटै भिडियोमा कैद गर्ने सुविधा प्रदान गर्नेछ ।

यो फिचर हाल एन्ड्रोइडको बीटा संस्करणमा देखिएको छ । आगामी दिनमा यसले ह्वाट्सएपमार्फत सामाग्री सिर्जना गर्ने प्रयोगकर्ताका लागि नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।

ह्वाट्सएपमा एकैपटक चल्नेछन् दुवै क्यामेरा
WABetaInfo को रिपोर्टअनुसार, ह्वाट्सएपको एन्ड्रोइड एपमा डुअल क्यामेरा फिचर परीक्षण भइरहेको छ । यो फिचर गुगल प्ले स्टोरमा उपलब्ध एन्ड्रोइड बीटा संस्करण 2.26.46.9 मा देखिएको हो । यसमार्फत मोबाइलको अगाडि र पछाडिका दुवै क्यामेरा एकैपटक सक्रिय रहनेछन् ।

यस फिचर प्रयोग गर्न प्रयोगकर्ताले ह्वाट्सएपको क्यामेरा सेक्सनमा जानुपर्नेछ । त्यहाँ माथिल्लो दायाँ कुनामा नयाँ क्यामेरा आइकन देखिन सक्नेछ । उक्त आइकनमा ट्याप गरेपछि डुअल क्यामेरा मोड सक्रिय हुनेछ ।

त्यसपछि पछाडिको क्यामेराले कैद गरेको दृश्य मुख्य स्क्रिनमा देखिनेछ भने अगाडिको क्यामेराबाट खिचिएको प्रयोगकर्ताको भिडियो स्क्रिनको माथिल्लो कुनामा रहेको सानो विन्डोमा देखिनेछ । प्रयोगकर्ताले आफ्नो आवश्यकता र सुविधाअनुसार उक्त सानो विन्डोको स्थानसमेत परिवर्तन गर्न सक्नेछन् ।

त्यस्तै, इन्टरफेसमा उपलब्ध क्यामेरा स्विच गर्ने विकल्पमार्फत दुवै क्यामेराको दृश्य आपसमा साट्न सकिनेछ । यसो गर्दा अगाडिको क्यामेराको दृश्य मुख्य स्क्रिनमा र पछाडिको क्यामेराको दृश्य सानो विन्डोमा देखिनेछ ।

फोटो र भिडियो दुवै खिच्न सकिने
नयाँ फिचरमार्फत एउटै स्क्रिनमा दुवै क्यामेरा प्रयोग गरी फोटो खिच्न र भिडियो रेकर्ड गर्न सकिनेछ । रेकर्डिङ पूरा भएपछि प्रयोगकर्ताले फोटो वा भिडियोमा क्याप्सन थप्न, सम्पादन गर्न वा कुनै परिवर्तन नगरी सिधै पठाउन सक्नेछन् ।

विशेष गरी भ्लगिङ, रियाक्सन भिडियो, यात्रा वृत्तान्त तथा प्रत्यक्ष कार्यक्रमको दृश्य कैद गर्न यो फिचर उपयोगी हुन सक्नेछ । उदाहरणका लागि, कुनै स्थानको दृश्य देखाउँदै सोही समयमा आफ्नो प्रतिक्रिया पनि एउटै भिडियोमा रेकर्ड गर्न सकिनेछ ।

Zaps लगायत अन्य फिचरमा पनि काम गर्दै ह्वाट्सएप
ह्वाट्सएपले डुअल क्यामेरासँगै ‘Zaps’ नामक अर्को मेसेजिङ फिचरमा पनि काम गरिरहेको छ । यस फिचरमार्फत पठाइएका सन्देश प्राप्तकर्ताले हेरिसकेपछि स्वत: गायब हुनेछन् । यद्यपि, ती सन्देश पठाउने व्यक्तिको च्याट विन्डोमा भने देखिइरहन सक्नेछन् ।

त्यसैगरी, कम्पनीले आईओएस प्रयोगकर्ताका लागि ‘View Once’ टेक्स्ट मेसेज सुविधा पनि परीक्षण गरिरहेको छ । यस सुविधामार्फत पठाइएको टेक्स्ट मेसेज प्राप्तकर्ताले एकपटक हेरेपछि पुन: हेर्न नमिल्ने व्यवस्था हुनेछ ।

यी फिचरहरू हाल परीक्षणकै चरणमा रहेकाले सबै प्रयोगकर्ताका लागि कहिले उपलब्ध हुन्छन् भन्ने विषयमा ह्वाट्सएपले आधिकारिक जानकारी सार्वजनिक गरिसकेको छैन ।