कीवर्डहरू -

ओभरफ्लो ट्याङ्कीको चिन्ताबाट स्मार्ट घरको अवधारणासम्म: ‘Suraksha360’ मार्फत रोनितको नवप्रवर्तन यात्रा

ओभरफ्लो ट्याङ्कीको चिन्ताबाट स्मार्ट घरको अवधारणासम्म: ‘Suraksha360’ मार्फत रोनितको नवप्रवर्तन यात्रा

काठमाडौं । घरको पानी ट्याङ्की भरिएपछि पनि मोटर बन्द गर्न बिर्सिँदा पानी खेर जाने र अनावश्यक रूपमा विद्युत् खपत हुने समस्या धेरै नेपाली घरमा सामान्यजस्तै छ । तर पोखराका रोनित बनिया गुप्ताले यही सामान्य समस्यालाई नयाँ प्रविधि विकास गर्ने अवसरका रूपमा लिए । 

कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा पूरा गरी हाल पोखरा इन्जिनियरिङ कलेजमा बीई कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका रोनितले घरमै देखिएको यही समस्याको समाधान खोज्ने क्रममा मोबाइल कलबाट पानी तान्ने मोटर नियन्त्रण गर्न सकिने उपकरण बनाए ।

इन्टरनेट वा वाइफाइको आवश्यकता नपर्ने, सामान्य मोबाइल नेटवर्कबाटै सञ्चालन हुने उक्त उपकरण सफल भएपछि उनले आफ्नो प्रयोगलाई थप विस्तार गर्दै चारवटा स्मार्ट प्रणाली विकास गरे । अहिले ती सबै प्रणाली ‘Suraksha360’ नामबाट चिनिन्छन् भने उनले आफ्नै ब्रान्ड ‘Suraksha Ghar’ समेत सुरु गरेका छन् ।

null

एउटा समस्याबाट चारवटा स्मार्ट प्रविधिसम्म
रोनितले विकास गरेको पहिलो प्रणाली कलमा आधारित स्मार्ट मोटर कन्ट्रोलर हो । यसमा प्रयोगकर्ताले उपकरणमा फोन गरेपछि पानीको मोटर सञ्चालन हुन्छ र पुन: फोन गर्दा बन्द हुन्छ । यसमा पहिले नै सुरक्षित गरिएका मोबाइल नम्बरबाट आएका कललाई मात्र स्वीकार गरिन्छ भने अन्य नम्बरका कल स्वत: अस्वीकार हुन्छन् ।

मोटर सञ्चालन वा बन्द भएको जानकारी एसएमएसमार्फत प्राप्त हुन्छ । पानीको ट्याङ्की भरिएर ओभरफ्लो हुने जोखिम कम गर्न मोटर करिब १५ मिनेटपछि आफैँ बन्द हुने व्यवस्था पनि छ । आवश्यक परे म्यानुअल स्विचबाट समेत नियन्त्रण गर्न सकिन्छ । यसको विशेषता भनेकै इन्टरनेट र वाइफाइबिना सामान्य मोबाइल नेटवर्कबाट सञ्चालन हुनु हो ।

दोस्रो प्रणाली ‘Suraksha Ghar Home Automation’ हो । यसले वाइफाइमार्फत चारवटा विद्युतीय उपकरण नियन्त्रण गर्न सक्छ । मोबाइल एप वा भ्वाइस कमान्डबाट घरका उपकरणलाई जहाँबाट पनि सञ्चालन गर्न सकिन्छ । विद्युत् आपूर्ति अवरुद्ध भएर पुन: आएपछि पहिले सञ्चालनमा रहेका उपकरणको अवस्था पुन: स्थापित गर्ने सुविधा पनि यसमा राखिएको छ ।

तेस्रो प्रणाली स्मार्ट सुरक्षा प्रणाली हो । घरमा जडान गरिएका मोसन सेन्सरले गतिविधि निगरानी गर्छन् । सुरक्षा प्रणाली सक्रिय रहेको अवस्थामा १५ सेकेन्डभित्र निरन्तर गतिविधि देखिए साइरन बज्ने र घरधनीलाई एसएमएस तथा एपमार्फत सूचना पुग्ने व्यवस्था गरिएको छ । यसलाई मोबाइल एप, रिमोट वा एसएमएसबाट नियन्त्रण गर्न सकिन्छ । निश्चित समयमा स्वत: सक्रिय हुने सुविधा र ब्याकअप ब्याट्रीसमेत यसमा उपलब्ध छ ।

चौथो प्रणाली ‘SwiftIgnite Keyless Bike Ignition’ हो । यसले मोटरसाइकललाई परम्परागत साँचोबिना मोबाइल, भ्वाइस कमान्ड वा रोनित आफैँले निर्माण गरेको स्मार्टवाचमार्फत अनलक गरी स्टार्ट गर्न सकिने बनाउँछ । प्रणालीसँग मोबाइल जोड्न पिन आवश्यक पर्छ र अनलक नगरेसम्म मोटरसाइकल स्टार्ट हुँदैन ।

यी चारवटै प्रणालीलाई एउटै एन्ड्रोइड एप ‘Suraksha360’ मा जोडिएको छ । एपबाट उपकरण नियन्त्रण गर्नुका साथै प्रयोगको हिस्ट्री, विद्युत् खपतको अनुमान र विभिन्न तथ्याङ्कसमेत हेर्न सकिन्छ ।

null

सर्किटदेखि मोबाइल एपसम्म सबै काम आफैँ
यी प्रविधिको विशेष पक्ष भनेको यसको विकासमा रोनितले सुरुदेखि अन्त्यसम्म आफैँ काम गर्नु हो । उनले सर्किट डिजाइन गर्ने, घरमै सर्किट बोर्ड इचिङ गर्ने, प्रत्येक उपकरणका लागि फर्मवेयर लेख्ने र एन्ड्रोइड एप निर्माण गर्ने काम आफैँ गरेका हुन् ।

प्रणालीमा आवश्यकता र प्रयोगअनुसार GSM, Wi-Fi, Bluetooth तथा Infrared प्रविधिको प्रयोग गरिएको छ । तर यो यात्रा सहज थिएन । विशेष गरी GSM नेटवर्कलाई भरपर्दो रूपमा सञ्चालन गराउनु चुनौतीपूर्ण थियो ।

नेटवर्क विच्छेद हुँदा प्रणाली अवरुद्ध नहोस् भनेर उनले निरन्तर जाँच गर्ने र समस्या देखिए आफैँ सुधार गर्ने कोड विकास गरे । GSM सिग्नलका कारण मोसन सेन्सरमा गलत अलर्ट आउने समस्या समाधान गर्न फिल्टरिङ प्रणाली पनि थपे ।

घरमै सर्किट बोर्ड इचिङ गर्दा पटक–पटक असफल भएपनि उनले प्रयास जारी राखे । अहिले उत्पादन लागत घटाउने, उपकरणका लागि व्यवस्थित कभर तथा इन्क्लोजर तयार गर्ने र अध्ययनसँगै प्रविधि विकासलाई निरन्तरता दिने काममा उनी जुटिरहेका छन् ।

null

साढे तीन वर्षदेखि प्रयोगमा, १५ ग्राहकले उपयोग गर्दै
रोनितका अनुसार मोटर कन्ट्रोलर र SwiftIgnite प्रणाली करिब साढे तीनदेखि चार वर्षदेखि प्रयोगमा छन् भने स्मार्ट सुरक्षा प्रणाली पछिल्लो समय विकास गरिएको हो । हाल करिब १५ ग्राहकले Suraksha360 प्रयोग गरिरहेका छन् ।

यसका प्रयोगकर्तामध्ये होटल अंशका सञ्चालक आनन्दकुमार श्रेष्ठ पनि एक हुन् । उनका अनुसार यस प्रणालीले होटलको समय, पानी र विद्युत् बचत गर्न सहयोग गरेको छ । विशेष गरी वाइफाइ नभए पनि मोबाइलबाट फोन गरेर मोटर खोल्न र बन्द गर्न सकिने सुविधा उपयोगी बनेको उनको अनुभव छ ।

हाल मोटर कन्ट्रोलर अर्डरअनुसार उपलब्ध छ । यसको जडानसहितको मूल्य आठ हजार रुपैयाँ निर्धारण गरिएको छ भने छ महिनाको वारेन्टी दिइन्छ । एसएमएस सेवाका लागि भने ग्राहकले सम्बन्धित दूरसञ्चार कम्पनीलाई छुट्टै मासिक शुल्क तिर्नुपर्छ, जुन करिब १२५ रुपैयाँ पर्छ । अन्य प्रणाली पनि मागअनुसार जडान गरिँदै आएको रोनित बताउँछन् ।

null

ICT Award 2026 को सेमिफाइनलसम्मको यात्रा
रोनितको यही नवप्रवर्तन यात्रा अहिले राष्ट्रियस्तरको पहिचानतर्फ अघि बढेको छ । Suraksha360, ICT Award 2026 को ‘Rising Star Innovation’ विधामा सेमिफाइनलसम्म पुग्न सफल भएको छ ।

उनले नोभेम्बर २२ मा ग्रान्ड जुरीसमक्ष आफ्नो परियोजना प्रस्तुत गर्दै प्रत्यक्ष डेमोसमेत देखाएका थिए । यसका साथै Startup & Idea Fest 2026 मा स्टल राखेर चारवटै प्रणाली प्रत्यक्ष सञ्चालन गरी प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनीमा स्मार्ट मोटरसाइकल प्रणालीले पनि दर्शकको ध्यान आकर्षित गरेको थियो ।

Suraksha360 अहिले ICT Award 2026 को पब्लिक च्वाइस भोटिङमा समेत सहभागी छ । डिसेम्बर १० सम्म जारी रहने भोटिङका लागि Hamro Patro एपभित्र Hamro Pay हुँदै ICT Award Voting मा गएर मतदान गर्न सकिन्छ ।

अब सस्तो र सहज प्रविधि बनाउने लक्ष्य
आगामी दिनमा रोनितको प्राथमिकता अझ सानो, सजिलै जडान गर्न सकिने र कम मूल्यको प्लग-एन्ड-प्ले मोटर कन्ट्रोलर निर्माण गर्नु हो । त्यससँगै Suraksha360 एपलाई थप सरल र सुरक्षित बनाउने उनको योजना छ । आगामी दुई वर्षभित्र ‘Suraksha Ghar’ लाई औपचारिक कम्पनीका रूपमा दर्ता गर्ने लक्ष्यसमेत उनले राखेका छन् ।

प्रविधि महँगो र जटिल हुनुपर्छ भन्ने सोचभन्दा फरक, सामान्य नेपाली परिवारले पनि सहजै प्रयोग गर्न सक्ने स्मार्ट प्रणाली निर्माण गर्नु आफ्नो मुख्य उद्देश्य रहेको रोनित बताउँछन् ।

घरको पानी ट्याङ्की ओभरफ्लो हुने सामान्य समस्याबाट सुरु भएको उनको यात्रा अहिले स्मार्ट होम, सुरक्षा र सवारी साधन प्रविधिसम्म विस्तार भएको छ । सीमित स्रोत साधनका बीच आफ्नै सीप र निरन्तर प्रयोगबाट उत्पादन विकास गर्न सकिन्छ भन्ने उदाहरण बनेको Suraksha360 ले नेपाली नवप्रवर्तनको सम्भावनालाई समेत उजागर गरेको छ । अब रोनितको चुनौती आफ्नो प्रविधिलाई अझ सस्तो, भरपर्दो र धेरै नेपाली घरसम्म पहुँचयोग्य बनाउनु हो ।