कीवर्डहरू -

ह्वाट्सएपमा म्यासेज पढ्ने नयाँ तरिका, निलो टिक नदेखाई च्याट हेर्न मिल्ने

ह्वाट्सएपमा म्यासेज पढ्ने नयाँ तरिका, निलो टिक नदेखाई च्याट हेर्न मिल्ने

काठमाडौं । ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताको गोपनीयतालाई थप सहज बनाउने उद्देश्यसहित नयाँ फिचर परीक्षण गरिरहेको छ । यो फिचर सार्वजनिक भएपछि प्रयोगकर्ताले म्यासेज पठाउने व्यक्तिलाई पढेको जानकारी नदिई नै म्यासेज हेर्न सक्नेछन् ।

हाल ह्वाट्सएपमा कसैले पठाएको म्यासेज खोलेर पढेपछि पठाउने व्यक्तिको च्याटमा दुईवटा निलो टिक देखिन्छ । तर परीक्षण भइरहेको नयाँ सुविधाले कुराकानीभित्र प्रवेश नगरी म्यासेज पढ्न सक्ने विकल्प उपलब्ध गराउनेछ । यसरी म्यासेज हेर्दा पठाउने व्यक्तिले म्यासेज पढिएको सूचना पाउने छैनन् ।

एन्ड्रोइड अथोरिटीका अनुसार ह्वाट्सएपको एन्ड्रोइड बिटा संस्करण २.२६.४४.१२ मा यो सुविधा फेला परेको हो । हाल यो विकास तथा परीक्षणकै चरणमा रहेको छ ।

कसरी काम गर्छ नयाँ फिचर ?
यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले ह्वाट्सएपको म्यासेज सूचीमा रहेको सम्बन्धित कुराकानीलाई केही समय थिचेर राख्नुपर्नेछ । त्यसपछि एउटा प्रिभ्यु विन्डो खुल्नेछ, जहाँबाट च्याटभित्र प्रवेश नगरी पछिल्ला म्यासेजहरू पढ्न सकिनेछ ।

यसको विशेषता भनेको रिड रिसिप्ट अर्थात् म्यासेज पढेको जानकारी पठाउने सुविधा सक्रिय नगरी पनि म्यासेज हेर्न सक्नु हो । प्रयोगकर्ताले यही प्रिभ्यु विन्डोबाट पुराना म्यासेजसमेत हेर्न सक्नेछन् ।

यसका अतिरिक्त नयाँ प्रिभ्यु विन्डोमा च्याट व्यवस्थापनका लागि विभिन्न विकल्प पनि उपलब्ध हुनेछन् । प्रयोगकर्ताले त्यहीँबाट कुराकानी आर्काइभ गर्न, नोटिफिकेसन बन्द गर्न, च्याटलाई म्यासेज सूचीको सबैभन्दा माथि राख्न तथा मेटाउन सक्नेछन् ।

आईफोनको सुविधाभन्दा एन्ड्रोइडमा थप विकल्प
द टेलिग्राफका अनुसार यो सुविधा आईफोनमा पहिलेदेखि उपलब्ध म्यासेज प्रिभ्यु सुविधासँग मिल्दोजुल्दो छ । यद्यपि, एन्ड्रोइडमा परीक्षण भइरहेको संस्करणमा च्याट व्यवस्थापनका थप विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ ।

तर यो सुविधा अहिलेसम्म सबै बिटा प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छैन । ह्वाट्सएपले यसलाई सबै एन्ड्रोइड प्रयोगकर्तामाझ कहिलेदेखि सार्वजनिक गर्छ भन्नेबारे पनि कुनै आधिकारिक मिति घोषणा गरेको छैन ।

परीक्षण सफल भएमा यो फिचरले प्रयोगकर्तालाई आफ्नो गोपनीयता कायम राख्दै म्यासेज पढ्ने र कुराकानी व्यवस्थापन गर्ने थप स्वतन्त्रता दिनेछ । विशेष गरी तत्काल जवाफ दिन नचाहने तर आएको म्यासेज भने पढ्न चाहने प्रयोगकर्ताका लागि यो सुविधा उपयोगी हुन सक्छ ।