कीवर्डहरू -

माइक्रोसफ्टका सेवा एकाएक अवरुद्ध, प्रयोगकर्ता समस्यामा

माइक्रोसफ्टका सेवा एकाएक अवरुद्ध, प्रयोगकर्ता समस्यामा

काठमाडौं । विश्वभर माइक्रोसफ्टका विभिन्न डिजिटल सेवामा बिहीबार कनेक्टिभिटीसम्बन्धी समस्या देखिएको छ । कम्पनीका लोकप्रिय सेवा माइक्रोसफ्ट टिम्स, आउटलुक र एआई टुल कोपाइलटमा पहुँच गर्न नसकेको भन्दै विभिन्न देशका प्रयोगकर्ताले गुनासो गरेका छन् ।

सेवामा अवरोध देखिएपछि माइक्रोसफ्टले समस्या पहिचान गरी समाधानका लागि प्राविधिक टोली परिचालन गरेको जनाएको छ । कम्पनीले सेवा पुन: सामान्य अवस्थामा फर्काउन आवश्यक काम भइरहेको जानकारी दिएको छ ।

माइक्रोसफ्टका अनुसार कम्पनीको पूर्वाधारको एउटा हिस्सामा अत्यधिक भार परेपछि कनेक्टिभिटीसम्बन्धी समस्या उत्पन्न भएको हो । सुरुमा अमेरिकामा देखिएको यो समस्या अन्य क्षेत्रका प्रयोगकर्ता समेत प्रभावित हुने गरी फैलिएको कम्पनीले जनाएको छ ।

सेवामा आएको अवरोधबारे जानकारी दिने वेबसाइट डाउनडिटेक्टरका अनुसार बेलायतमा बिहीबार राति माइक्रोसफ्टका सेवासम्बन्धी गुनासो एक्कासि बढेको थियो । भारतीय समयअनुसार राति करिब १२ बजे प्रयोगकर्ताका उजुरीमा उल्लेख्य वृद्धि देखिएको थियो ।

अमेरिकामा पनि यसअघि नै आउटलुक प्रयोगकर्ताले सेवा सञ्चालनमा समस्या आएको भन्दै ठूलो संख्यामा गुनासो गरेका थिए । डाउनडिटेक्टरका अनुसार भारतीय समयअनुसार बिहीबार राति ११:४५ बजेसम्म आउटलुकमा समस्या आएको भन्दै १ लाख ३१ हजारभन्दा बढी उजुरी दर्ता भएका थिए ।

माइक्रोसफ्टका यी सेवाहरू कार्यालयको सञ्चार, इमेल आदानप्रदान, अनलाइन बैठक तथा एआईमा आधारित कामका लागि व्यापक रूपमा प्रयोग हुने भएकाले अवरोधले विश्वभरका व्यक्तिगत तथा व्यावसायिक प्रयोगकर्ताको दैनिक काम प्रभावित बनाएको छ ।