धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ मा प्रदेशका विभिन्न स्थानीय तहमा १६ प्रकारका सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । तालिम सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयअन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, धनगढीले इच्छुक स्थानीय तहसँग प्रस्ताव माग गरेको छ ।
केन्द्रले कात्तिक २७ गते जारी गरेको सूचनाअनुसार युवा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यका आठ र अल्पकालीन तथा परम्परागत सीपमा आधारित आठ गरी १६ प्रकारका तालिम सञ्चालन गर्ने योजना बनाएको हो । केन्द्रको कार्यक्षेत्रभित्र पर्ने जिल्लाका स्थानीय तहसँगको सहकार्यमा यी कार्यक्रम अघि बढाइनेछन् ।
तालिम सञ्चालन गर्न इच्छुक उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका तथा वडा कार्यालयले आगामी मंसिर ११ गतेभित्र प्रस्ताव पेस गर्नुपर्नेछ । प्रस्ताव स्वीकृत भएका स्थानीय तहमा तालिम सञ्चालन गरिने केन्द्रले जनाएको छ ।
तालिमका लागि आवश्यक प्रशिक्षक, प्रशिक्षण सामग्री, मेसिनरी औजार तथा अन्य खर्च केन्द्रले व्यहोर्नेछ । तर तालिम सञ्चालन गर्न आवश्यक हल, खानेपानी र विद्युत्को व्यवस्था भने सम्बन्धित स्थानीय तहले गर्नुपर्नेछ । यसबाहेक तालिम सञ्चालनका लागि स्थानीय तहलाई थप आर्थिक सहयोग उपलब्ध नगराइने सूचनामा उल्लेख छ ।
तालिम पूर्ण रूपमा नि:शुल्क हुने भएकाले सहभागी प्रशिक्षार्थीबाट कुनै पनि शुल्क लिन पाइने छैन । केन्द्रले जारी गरेको सूचना स्थानीय तहबाट तालिम सञ्चालनका लागि प्रस्ताव माग गरिएको विषयमा केन्द्रित छ । यसलाई सर्वसाधारणका लागि तालिममा सहभागी हुन प्रत्यक्ष आवेदन खुलेको रूपमा बुझ्न नहुने देखिन्छ ।
स्थानीय तहको प्रस्ताव स्वीकृत भई तालिम सञ्चालन हुने भएपछि मात्र स्थान, प्रशिक्षार्थी छनोट प्रक्रिया र व्यक्तिगत आवेदनसम्बन्धी विवरण सार्वजनिक हुनेछन् ।
विद्युत् जडान, प्लम्बिङ, ब्युटिसियन, मोबाइल मर्मत, सिलाइ, तरकारी खेतीलगायतका सीप सिक्न इच्छुक व्यक्तिले आफ्नो स्थानीय तह वा वडा कार्यालयमा सम्पर्क गरी आवश्यक तालिम सञ्चालनका लागि पहल गर्न सक्नेछन् ।
हाल सार्वजनिक सूचनामा तालिममा सहभागी हुने प्रशिक्षार्थीको संख्या, व्यक्तिगत आवेदन खुल्ने मिति तथा छनोटका लागि आवश्यक शैक्षिक योग्यताबारे जानकारी दिइएको छैन ।

आईसीटी समाचार