धनगढी । सुदूरपश्चिम प्रदेशको प्रविधि क्षेत्रमा डिजिटल सुशासन, साइबर सुरक्षा, स्वचालन तथा प्राविधिक सीप विकासलाई प्राथमिकता दिने उद्देश्यले धनगढीमा ‘आईबीएम टेकएक्स’ (IBM TechX) कार्यक्रम सम्पन्न भएको छ ।
अक्टोबर १, २०२६ मा धनगढीमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधि, कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका पदाधिकारी, शैक्षिक क्षेत्रका विज्ञ, प्रविधि व्यवसायी तथा साइबर सुरक्षा क्षेत्रका विशेषज्ञहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट सहभागी भएका थिए । कार्यक्रममा प्रदेशमा डिजिटल प्रविधिको प्रयोग विस्तार, सरकारी तथा निजी क्षेत्रमा प्रविधिमैत्री सेवा प्रवाह, इन्टरप्राइज अटोमेसन र दक्ष जनशक्ति उत्पादनका विषयमा छलफल भएको आयोजकले जनाएको छ ।
क्यान महासंघका पदाधिकारीसहित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता
कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी, उपाध्यक्ष हर्क सेटी, केन्द्रीय सदस्य ओमकार श्रेष्ठ तथा क्यान महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष धिरेन बोगटी सहभागी थिए ।
त्यस्तै, पीसीपीएसकी चीफ ग्रोथ अफिसर कृपा श्रेष्ठ, अफिसर ऋषिका दाहाल तथा वन कभर प्राइभेट लिमिटेडका एआई कन्सल्ट्यान्ट बाबुराम श्रेष्ठलगायत प्रविधि तथा शैक्षिक क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो ।
साइबर सुरक्षामा जोड
कार्यक्रममा पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई), क्लाउड कम्प्युटिङ र अटोमेसन प्रविधिको प्रयोग बढ्दै गएसँगै डिजिटल सम्पत्ति तथा संस्थागत प्रणालीको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने विषयमा जोड दिइएको थियो ।
डिजिटल प्रणालीको विस्तारसँगै साइबर जोखिमसमेत बढ्दै गएकाले सरकारी निकाय, व्यवसाय तथा अन्य संस्थाले साइबर सुरक्षा पूर्वाधार र दक्ष जनशक्तिमा लगानी बढाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
कार्यक्रममा दक्षिण एसियाली क्षेत्रमा साइबर सुरक्षा तथा आईटी सुरक्षा सेवामा कार्यरत वन कभर प्राइभेट लिमिटेडले प्रदान गर्ने सुरक्षा समाधानबारे समेत जानकारी दिइएको थियो ।
सुदूरपश्चिममा दक्ष जनशक्ति उत्पादनमा जोड
कार्यक्रममा सुदूरपश्चिममा प्रविधिसम्बन्धी दक्ष जनशक्ति उत्पादन र स्थानीय युवालाई अन्तर्राष्ट्रिय स्तरका प्रविधिसँग जोड्ने विषयमा पनि छलफल भएको थियो ।
आयोजकका अनुसार आईबीएम टेकएक्सचेन्ज अटोमेसन युजर ग्रुप नेपाल तथा क्राइस्ट युनिभर्सिटीको आईबीएम इनोभेसन सेन्टरजस्ता पहलसँग सहकार्य गर्दै स्थानीय जनशक्तिको प्राविधिक क्षमता विकास गर्न सकिने सम्भावनाबारे कार्यक्रममा चर्चा गरिएको थियो ।
त्यस्तै, प्रविधि क्षेत्रमा केही समयको करियर विश्रामपछि पुन: रोजगारी तथा व्यावसायिक क्षेत्रमा फर्कन चाहने जनशक्तिलाई लक्षित ‘आईबीएम टेक री-इन्ट्री प्रोग्राम’ जस्ता अवधारणाबाट प्रेरणा लिएर सुदूरपश्चिममा दक्ष प्राविधिक जनशक्ति विकास गर्न सकिने आयोजकको विश्वास छ ।
कार्यक्रमले सुदूरपश्चिममा प्रविधिको प्रयोग विस्तारसँगै साइबर सुरक्षा, स्वचालन र प्राविधिक सीप विकासका क्षेत्रमा आगामी दिनमा थप सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार