काठमाडौं । बैतडीका नागरिकले अब आदिवासी जनजाति, खस आर्य र दलित समुदायको पहिचान प्रमाणित गर्ने सिफारिस लिन जिल्ला सदरमुकाम पुग्नुपर्ने छैन । जिल्ला प्रशासन कार्यालय बैतडीले यस्ता सेवा अनलाइनबाटै उपलब्ध गराउने गरी ‘फेसलेस’ सेवा सञ्चालनमा ल्याएको छ ।
ई-गभर्नेन्सको अवधारणाअनुसार सुरु गरिएको यो सेवाबाट विशेषगरी भौगोलिक रूपमा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ । प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार सदरमुकामसम्म आउजाउ गर्दा नागरिकले समय र पैसा दुवै खर्च गर्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले अनलाइन सेवा सुरु गरिएको हो ।
नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले आवश्यक कागजात र निवेदन कार्यालयको आधिकारिक इमेलमा पठाउन सक्नेछन् । प्राप्त निवेदनमाथि आवश्यक प्रक्रिया पूरा गरी एक घण्टाभित्र सम्बन्धित व्यक्तिको वा वडा कार्यालयको इमेलमा सिफारिसपत्र पठाइने व्यवस्था गरिएको अर्यालले जानकारी दिनुभयो ।
तर, यो सेवा लिन केही मापदण्ड पूरा गर्नुपर्नेछ । सेवाग्राहीको नेपाली नागरिकता प्रमाणपत्रमा राष्ट्रिय दलित आयोग, आदिवासी-जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन, २०५८ वा राष्ट्रिय समावेशी आयोगले सूचीकृत गरेको खस आर्य समुदायमध्ये कुनै एकसँग सम्बन्धित थर स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्नेछ ।
अनलाइनबाट आवेदन दिँदा सम्बन्धित वडा कार्यालयको स्पष्ट व्यहोरासहितको प्रमाणित सिफारिसपत्र, सेवाग्राहीको निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको रङ्गीन स्क्यान प्रति, सम्पर्क नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा पठाउनुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस व्यवस्थाले सामान्य सिफारिसका लागि समेत लामो दूरी पार गरेर सदरमुकाम आउनुपर्ने बाध्यता कम गर्नुका साथै सरकारी सेवा प्रवाहलाई छिटो, सहज र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार