कीवर्डहरू -

सुदूरपश्चिमबाट ‘एआई फर नेपाल’ अभियान सुरु, धनगढीमा ४ सय विद्यार्थीलाई प्रशिक्षण

सुदूरपश्चिमबाट ‘एआई फर नेपाल’ अभियान सुरु, धनगढीमा ४ सय विद्यार्थीलाई प्रशिक्षण

धनगढी । विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले ‘एआई फर नेपाल २०२६’ अभियान सुदूरपश्चिम प्रदेशबाट सुरु गरिएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) सुदूरपश्चिम प्रदेशको आयोजनामा बिहीबार धनगढीमा भएको कार्यक्रममा कक्षा ११ र १२ का ४ सयभन्दा बढी विद्यार्थी सहभागी भए । कार्यक्रममा विद्यार्थीलाई एआईको प्रयोग, यसको सम्भावना, चुनौती तथा भविष्यमा उपलब्ध हुने अवसरबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट प्रमुख अतिथि तथा क्यान महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमको अध्यक्षता क्यान महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष धनबहादुर बोगटीले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले एआईको प्रयोगले मानिसको दैनिक जीवनलाई सहज बनाउँदै लगेको बताए । एआईको बढ्दो प्रयोगसँगै यससँग जोडिएका जोखिम र संवेदनशीलताप्रति पनि सचेत हुनुपर्ने उनको भनाइ थियो ।

शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा एआईको उचित प्रयोग गर्न सके सेवा प्रवाह, उत्पादन र कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्न सकिने उनले बताए । प्रविधिको प्रयोगसँगै त्यसका सम्भावित जोखिम र चुनौतीबारे पनि आवश्यक ज्ञान हासिल गर्नुपर्नेमा उनले जोड दिए ।

‘एआईका उपभोक्ता होइन, सिर्जनाकर्ता बन्नुपर्छ’
क्यान महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले ‘एआई फर नेपाल २०२६’ लाई एकदिने प्रशिक्षणमा मात्र सीमित नराखी विद्यार्थीलाई एआईमा आधारित भविष्यका लागि तयार पार्ने राष्ट्रिय अभियानका रूपमा अघि बढाइएको बताए ।

कक्षा ११ र १२ देखि नै विद्यार्थीलाई एआईसम्बन्धी व्यावहारिक ज्ञान र सीप दिन सके प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने उनले बताए ।

क्यान महासंघ र महर्षि कलेजको सहकार्यमा सञ्चालन भइरहेको अभियानले उद्योग क्षेत्रको विशेषज्ञता, शैक्षिक ज्ञान र व्यावहारिक नवप्रवर्तनलाई एकै ठाउँमा जोड्ने प्रयास गरेको अधिकारीले बताए ।

‘विद्यार्थीलाई एआईका उपभोक्ता मात्र नभई सिर्जनाकर्ता, नवप्रवर्तक र समस्या समाधानकर्ता बनाउने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो,’ उनले भने ।

सुदूरपश्चिमबाट देशभर विस्तार गरिँदै
क्यान महासंघका केन्द्रीय उपाध्यक्ष हर्क सेटीले ‘एआई फर नेपाल’ अभियानलाई क्रमश: देशभर विस्तार गर्ने तयारी भइरहेको बताए । सुदूरपश्चिमबाट राष्ट्रिय अभियानको सुरुवात गरिएको उल्लेख गर्दै उनले विद्यार्थीलाई एआईको प्रयोगमा मात्र सीमित नराखी त्यसबाट नयाँ सम्भावना पहिचान गर्न र सिर्जनात्मक काम गर्न सक्षम बनाउने उद्देश्य रहेको बताए ।

‘विद्यार्थीले एआई कसरी प्रयोग गर्ने भन्ने मात्र होइन, यसको माध्यमबाट नयाँ सम्भावना कसरी सिर्जना गर्न सकिन्छ भन्ने पनि सिक्नुपर्छ,’ उनले भने । कार्यक्रममा एआईको वर्तमान अवस्था, विभिन्न एआई उपकरणको प्रयोग, प्रॉम्प्ट इन्जिनियरिङ, एआईमा आधारित नवप्रवर्तन तथा यसको सुरक्षित र जिम्मेवार प्रयोगलगायतका विषयमा प्रशिक्षण तथा प्रस्तुति दिइएको थियो ।

विद्यार्थीलाई एआईको सामान्य परिचयमा मात्र सीमित नराखी यसको व्यावहारिक प्रयोग, सिर्जनात्मक सोच, समस्या समाधान र भविष्यका रोजगारी तथा करियरका अवसरसँग जोडेर प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

नेपालमा एआईको प्रयोग विस्तार भइरहेका बेला विद्यार्थी तहबाटै यसको सही, सुरक्षित र सिर्जनात्मक प्रयोगबारे ज्ञान दिने उद्देश्यले अभियान सुरु गरिएको हो । क्यान महासंघले ‘एआई फर नेपाल’ अभियानलाई आगामी दिनमा देशका विभिन्न स्थानमा विस्तार गर्ने तयारी गरेको जनाएको छ ।