काठमाडौं । ओपनएआईले आफ्नो एआई सेवा च्याटजीपीटीका च्याट र वर्क सुविधालाई एउटै उपयोग प्रणालीमा समेट्न थालेको छ । कम्पनीले परीक्षणका रूपमा केही प्रो सदस्यका खातामा नयाँ व्यवस्था लागू गरेसँगै स:शुल्क प्रयोगकर्तामाझ यसको प्रभावबारे बहस सुरु भएको छ ।
ओपनएआईका उत्पादन प्रमुख थिबो ‘टिबो’ सोतियोक्सले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत केही प्रो प्रयोगकर्ताले नयाँ प्रणालीको अनुभव गर्न थालिसकेको जानकारी दिएका हुन् । यसअघि कम्पनीले इमेल पठाएर च्याट र वर्क सुविधाको उपयोग व्यवस्थापन एकीकृत गर्न लागेको घोषणा गरेको थियो ।
नयाँ व्यवस्थाअनुसार च्याटजीपीटीको च्याट र वर्क दुवै सुविधामा हुने प्रयोग एउटै उपयोग सीमाभित्र गणना हुनेछ । यसअघि यी सुविधाका लागि छुट्टाछुट्टै उपयोग सीमा उपलब्ध रहेकोमा अब दुवैको प्रयोगले साझा सीमा खर्च गर्नेछ ।
यस परिवर्तनले विशेष गरी च्याटजीपीटीलाई नियमित रूपमा जटिल काम, अनुसन्धान तथा उन्नत एआई मोडेल प्रयोगका लागि उपयोग गर्ने सदस्यलाई असर पार्न सक्ने देखिएको छ ।
केही स:शुल्क प्रयोगकर्ताले सामाजिक सञ्जाल र कम्पनीको कम्युनिटी फोरममा नयाँ व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै यसले उन्नत मोडेल प्रयोग गर्ने अवसर घटाउन सक्ने चिन्ता जनाएका छन् । उनीहरूले सदस्यता शुल्क यथावत् रहने अवस्थामा सुविधा उपयोगमा कटौती हुनु उचित नभएको तर्क गरेका छन् ।
यद्यपि, ओपनएआईले भने अधिकांश प्रयोगकर्ताले पहिलेको तुलनामा छिटो उपयोग सीमा सकिने समस्या भोग्नुपर्ने अवस्था नआउने स्पष्ट पारेको छ । कम्पनीका प्रवक्ताले टेकक्रन्चसँग कुरा गर्दै अत्यधिक प्रयोग गर्ने सीमित संख्याका सदस्यले मात्र पहिलेभन्दा चाँडै आफ्नो उपयोग सीमा पुग्ने सम्भावना रहेको बताएका छन् ।
नयाँ प्रणाली लागू भएपछि पनि इन्स्ट्यान्ट मोडेलमार्फत गरिने कुराकानी भने असीमित रहनेछन् । यस्ता कुराकानी साझा उपयोग सीमामा समावेश हुने छैनन् । त्यसैले अन्य मोडेलको उपयोग सीमा समाप्त भएपनि प्रयोगकर्ताले इन्स्ट्यान्ट मोडेल प्रयोग गरेर च्याटजीपीटी चलाउन सक्नेछन् ।
ओपनएआईका अनुसार सदस्यता योजनाबाट प्रयोगकर्ताले अधिकतम लाभ लिन सक्ने वातावरण बनाउन कम्पनीले आफ्नो सेवा सञ्चालनलाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेको छ ।
अहिलेसम्म सीमित प्रो सदस्यमा मात्र परीक्षण भइरहेको यो व्यवस्था डिसेम्बरदेखि व्यापक रूपमा विस्तार गर्ने कम्पनीको योजना छ । ओपनएआईको सहायता पृष्ठमा पनि साझा उपयोग सीमा क्रमश: लागू गरिने उल्लेख छ ।
यसअघि ओपनएआईको प्रतिस्पर्धी एन्थ्रोपिकले पनि गत सेप्टेम्बरमा आफ्नो एआई सेवा क्लाउड र काममा केन्द्रित कोवर्कलाई एउटै इन्टरफेसमा समेटेको थियो । एआई क्षेत्रमा प्रयोगकर्तालाई संवाद र व्यावसायिक कामका लागि छुट्टाछुट्टै प्लेटफर्म प्रयोग गर्नुपर्ने अवस्था हटाउने प्रवृत्ति बढ्दै गएको छ ।
एआई कम्पनीहरू उन्नत मोडेल सञ्चालनका लागि आवश्यक कम्प्युटिङ पूर्वाधारको बढ्दो लागत र स्रोत व्यवस्थापनको चुनौतीसँग जुधिरहेका छन् । यस्तो अवस्थामा विभिन्न सुविधालाई एउटै प्रणालीमा समेट्नु कम्पनीका लागि सञ्चालन व्यवस्थापन सहज बनाउने उपाय हुन सक्छ ।
प्रयोगकर्ताका दृष्टिले भने एउटै इन्टरफेसबाट सामान्य संवाददेखि जटिल कार्यसम्पादनसम्म गर्न पाउनु सकारात्मक पक्ष हो । तर, च्याट र वर्कको उपयोग सीमा एकीकृत गर्दा विशेष गरी धेरै काम गर्ने सशुल्क सदस्यले पाउने सुविधामा कस्तो प्रभाव पर्छ भन्ने कुरा नयाँ व्यवस्था पूर्ण रूपमा लागू भएपछि स्पष्ट हुनेछ ।
आईसीटी समाचार