काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग पछिल्लो समय तीव्र रूपमा विस्तार भइरहेको छ । सामान्य कुराकानीदेखि व्यावसायिक काम, प्रोग्रामिङ, अनुसन्धान र रचनात्मक सामग्री निर्माणसम्म एआईको प्रयोग हुन थालेको छ । तर, एआई प्रयोग गर्दैमा सधैँ अपेक्षाअनुसारको नतिजा आउँछ भन्ने हुँदैन । त्यसका लागि एआईलाई सही तरिकाले निर्देशन दिन जान्नुपर्छ ।
एआईसँग प्रश्न गर्ने, आवश्यक सन्दर्भ उपलब्ध गराउने र आफूले चाहेको नतिजा स्पष्ट पार्ने प्रक्रियालाई ‘प्रम्प्ट इन्जिनियरिङ’ भनिन्छ । च्याटजीपीटी, जेमिनाई र मिडजर्नी जस्ता एआई उपकरणबाट प्रभावकारी काम लिन प्रयोगकर्ताले कस्तो निर्देशन दिन्छन् भन्ने कुराले महत्त्वपूर्ण भूमिका खेल्छ । अस्पष्ट वा अधुरो निर्देशन दिँदा सामान्य र अपेक्षाभन्दा कमजोर उत्तर आउन सक्छ भने आवश्यक विवरण र सन्दर्भसहित निर्देशन दिँदा बढी उपयोगी परिणाम प्राप्त गर्न सकिन्छ ।
एआईबाट राम्रो नतिजा लिन सबैभन्दा पहिले आफूले गराउन खोजेको कामअनुसार स्पष्ट भूमिका दिनुपर्छ । उदाहरणका लागि, व्यवसायसम्बन्धी योजना बनाउनुपरेमा एआईलाई अनुभवी व्यवसाय रणनीतिकारका रूपमा प्रस्तुत गर्दै आफ्नो व्यवसायको प्रकृति, बजार र बजेटका आधारमा मार्केटिङ योजना तयार गर्न भन्न सकिन्छ ।
त्यस्तै, विद्यार्थीले एआईलाई शिक्षकको भूमिका दिएर जटिल विषयलाई सरल भाषा र उदाहरणसहित बुझाउन अनुरोध गर्न सक्छन् । यसरी भूमिका स्पष्ट पार्दा एआईले आवश्यक दृष्टिकोणअनुसार उत्तर तयार गर्न मद्दत गर्छ ।
त्यसैगरी, जटिल कामलाई एकैपटक पूरा गर्न लगाउनुभन्दा चरणबद्ध रूपमा निर्देशन दिनु प्रभावकारी हुन्छ । कुनै व्यवसायको योजना बनाउनुपरेमा पहिले बजारको अवस्था विश्लेषण गर्न, त्यसपछि लक्षित ग्राहक पहिचान गर्न र अन्त्यमा बजेटसहितको योजना तयार गर्न भन्न सकिन्छ । यसरी कामलाई साना चरणमा विभाजन गर्दा प्रत्येक चरणको नतिजा समीक्षा गर्न र आवश्यकताअनुसार सुधार गर्न सहज हुन्छ ।
एआईलाई निर्देशन दिँदा पर्याप्त सन्दर्भ र सीमा तोक्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । ‘मलाई एउटा निबन्ध लेखिदेऊ’ भन्नुभन्दा ‘म कक्षा १० को विद्यार्थी हुँ, डिजिटल नेपाल निर्माणका चुनौतीबारे करिब ५०० शब्दको निबन्ध सरल नेपाली भाषामा लेखिदेऊ’ भन्नु बढी प्रभावकारी हुन्छ । यसरी लक्षित पाठक, विषयवस्तु, शब्दसीमा र भाषाशैली स्पष्ट पार्दा आफूले खोजेको नतिजा प्राप्त गर्ने सम्भावना बढ्छ ।
एआईबाट तथ्यमा आधारित सामग्री तयार गराउन सम्बन्धित कागजात, लेख, तथ्यांक वा अन्य सामग्री उपलब्ध गराउनु पनि उपयोगी हुन्छ । उदाहरणका लागि, कुनै प्रतिवेदनको सारांश चाहिएको छ भने उक्त प्रतिवेदन अपलोड गरेर त्यसैमा भएका तथ्यका आधारमा मुख्य निष्कर्ष प्रस्तुत गर्न भन्न सकिन्छ ।
यसले एआईलाई उपलब्ध सामग्रीमा केन्द्रित राख्न सहयोग गर्छ र आफ्नै अनुमानका आधारमा विवरण थप्ने जोखिम कम गर्न सक्छ । यद्यपि, एआईले उपलब्ध गराइएको सामग्रीको गलत व्याख्या गर्न सक्ने भएकाले महत्त्वपूर्ण तथ्य जाँच गर्नुपर्छ ।
आफूले चाहेको भाषा र शैलीमा सामाग्री तयार गराउन नमुना उपलब्ध गराउनु अर्को प्रभावकारी उपाय हो । सामाजिक सञ्जालका लागि छोटा र अनौपचारिक क्याप्सन चाहिएको छ भने आफूलाई मन परेको नमुना दिएर त्यस्तै शैलीमा थप सामाग्री तयार गर्न सकिन्छ । समाचार लेखनका लागि औपचारिक भाषा, छोटा अनुच्छेद र तथ्यमा आधारित प्रस्तुति चाहिएको कुरा पनि एआईलाई स्पष्ट रूपमा बताउन सकिन्छ ।
एआईको प्रयोग विभिन्न क्षेत्रमा गर्न सकिन्छ । प्रोग्रामिङका लागि पाइथन प्रयोग गरेर एक्सेल फाइल पढ्ने कोड तयार गर्न र त्यसका मुख्य चरणको व्याख्या माग्न सकिन्छ । मार्केटिङका लागि आफ्नो व्यवसायको प्रकृतिअनुसार सामाजिक सञ्जालमा प्रयोग गर्न मिल्ने आकर्षक सामग्री तयार गर्न सकिन्छ । त्यस्तै, डिजाइनका लागि तस्बिरको विषय, वातावरण, प्रकाश र दृश्यको शैली स्पष्ट पारेर निर्देशन दिन सकिन्छ ।
तर, एआईबाट प्राप्त हुने हरेक उत्तर सही र पूर्ण हुन्छ भन्ने हुँदैन । यसले कहिलेकाहीँ गलत तथ्य, अपुष्ट विवरण वा अस्तित्वमै नभएका स्रोतसमेत प्रस्तुत गर्न सक्छ । त्यसैले स्वास्थ्य, कानुन, वित्त तथा अन्य संवेदनशील विषयमा एआईले दिएको जानकारीलाई आधिकारिक स्रोतसँग रुजु गर्नुपर्छ ।
पछिल्लो घटनाक्रम वा नयाँ तथ्यबारे जानकारी लिनुपर्दा वेब ब्राउजिङ सुविधा उपलब्ध छ कि छैन भन्ने पनि जाँच गर्नुपर्छ । व्यक्तिगत विवरण, पासवर्ड, बैंकिङ जानकारी तथा गोप्य व्यावसायिक कागजातजस्ता संवेदनशील सामग्री एआईमा राख्दा विशेष सावधानी अपनाउनुपर्छ ।
एआईले मानिसको काम गर्ने शैलीलाई परिवर्तन गरिरहेको छ । यस्तो अवस्थामा प्रविधिसँग डराउनु वा यसलाई प्रतिस्पर्धीका रूपमा मात्र हेर्नुभन्दा कामलाई सहज, छिटो र व्यवस्थित बनाउने सहयोगीका रूपमा प्रयोग गर्न जान्नु आवश्यक छ । आफूलाई के चाहिएको हो भन्ने स्पष्ट बुझेर त्यसलाई सही निर्देशनका रूपमा प्रस्तुत गर्न सक्ने क्षमता नै एआईबाट अधिकतम लाभ लिन महत्त्वपूर्ण सीप बन्दै गएको छ ।
आईसीटी समाचार