काठमाडौं । डिजिटल सोलुसन प्रा.लि.ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा ४४ हजार ४४४ नेपालीलाई नि:शुल्क अनलाइन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम दिने कार्यक्रम सुरु गरेको छ । ‘सबैका लागि एआई’ नाम दिइएको यस तालिम कार्यक्रममा सहभागी हुन मंसिर २० गतेसम्म अनलाइन दर्ता गर्न सकिनेछ ।
वि.सं. २०७९ मंसिर १ गते रबिन पौडेलले स्थापना गरेको डिजिटल सोलुसनले चार वर्ष पूरा भएको अवसरमा एआई सम्बन्धी ज्ञान र सीप आम नेपालीसम्म पुर्याउने उद्देश्यले तालिम कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
कम्पनीका संस्थापक तथा एआई प्रशिक्षक रबिन पौडेलका अनुसार उनले पछिल्लो डेढ वर्षमा १० हजारभन्दा बढी व्यक्तिलाई एआई सम्बन्धी तालिम दिइसकेका छन् । सोही अनुभवका आधारमा यसपटक ठूलो संख्यामा नेपालीलाई नि:शुल्क तालिम दिने योजना बनाइएको हो ।
प्राविधिक ज्ञान नभएकाले पनि सिक्न पाउने
यो तालिम कार्यक्रम विशेषगरी विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्यमी तथा अन्य सर्वसाधारणलाई लक्षित गरिएको छ । एआई सिक्नका लागि प्रोग्रामिङ वा अन्य प्राविधिक ज्ञान आवश्यक पर्ने छैन । तालिममा सहभागीले एआई के हो भन्ने आधारभूत जानकारीदेखि आफ्नो पढाइ, काम, व्यवसाय र दैनिक जीवनमा यसको प्रयोग कसरी गर्ने भन्ने कुरा सिक्न पाउनेछन् ।
चार दिनमा एआईका विभिन्न टुल प्रयोग गर्न सिकाइने
तालिम कार्यक्रमअन्तर्गत चार दिनको पाठ्यक्रम तयार गरिएको छ । यसमा च्याटजीपीटी, गुगल जेमिनाई र क्लाउड जस्ता एआई टुल प्रयोग गर्ने तरिका सिकाइनेछ ।
त्यस्तै, एआईलाई सही निर्देशन दिने, अध्ययन तथा अनुसन्धान गर्ने, कागजात र प्रस्तुतीकरण तयार गर्ने, फोटो तथा ग्राफिक्स बनाउने र भिडियो तथा अन्य डिजिटल सामग्री तयार गर्ने सीप पनि सिकाइनेछ । यसका साथै एआई एजेन्टको परिचय, सामान्य एआई एजेन्ट बनाउने तरिका र दैनिक कामलाई सहज बनाउन यसको प्रयोग कसरी गर्ने भन्ने विषय पनि समेटिनेछ ।
लाइभ र रेकर्डेड कक्षाको विकल्प
सहभागीले आफ्नो सुविधाअनुसार प्रत्यक्ष (Live) वा रेकर्ड गरिएका (Recorded) कक्षामार्फत तालिम लिन सक्नेछन् । दर्ता गर्दा नै आफूले चाहेको विकल्प छनोट गर्नुपर्नेछ । लाइभ कक्षामा सहभागी हुन नसक्नेहरूले त्यसको रेकर्ड हेरेर पनि सिक्न सक्नेछन् । यसले व्यस्त विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायीलाई आफ्नो समयअनुसार तालिम लिन सहज बनाउने कम्पनीको अपेक्षा छ ।
पेशाअनुसार छुट्टै सिकाइ सामाग्री
तालिममा सहभागी हुँदा आफ्नो पेशागत पृष्ठभूमि पनि उल्लेख गर्नुपर्नेछ । सोही आधारमा विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी तथा अन्य पेशाकर्मीका लागि छुट्टाछुट्टै भिडियो सामाग्री उपलब्ध गराइनेछ । सबै सहभागीले एउटै आधारभूत पाठ्यक्रम अध्ययन गर्नेछन् भने आफ्नो काम र आवश्यकताअनुसार थप भिडियोबाट पनि सिक्न सक्नेछन् ।
एआई तथा प्रविधि क्षेत्रका विज्ञसँग अन्तरक्रिया
चारदिने तालिमबाहेक अभियान सुरु हुनुअघि र तालिम सम्पन्न भएपछि पनि विशेष कार्यक्रम आयोजना गरिनेछ । यी कार्यक्रममा एआई, प्रविधि तथा विभिन्न उद्योगमा काम गरिरहेका विज्ञ र अनुभवी व्यक्तिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर दिइने कम्पनीले जनाएको छ । यस्ता सत्रमा विभिन्न पेशामा एआईको प्रयोग, यसले पार्ने प्रभाव र भविष्यमा देखिन सक्ने अवसरबारे छलफल हुनेछ ।
प्रमाणपत्र पाउन ९० दिनभित्र तालिम पूरा गर्नुपर्ने
तालिम सुरु भएको मितिदेखि ९० दिनभित्र सहभागीले तोकिएको पाठ्यक्रम, अभ्यास कार्य (Assignment) र मूल्यांकन पूरा गर्नुपर्नेछ । प्रमाणपत्र पाउन मूल्यांकनमा कम्तीमा ४० प्रतिशत अंक ल्याउनुपर्नेछ । साथै, कम्पनीले तोकेका अन्य मापदण्ड पनि पूरा गर्नुपर्नेछ । तालिम कार्यक्रमको लक्ष्य ४४ हजार ४४४ जनालाई सफलतापूर्वक तालिम पूरा गराउनु र सोही संख्यामा प्रमाणपत्र प्रदान गर्नु हो ।
मंसिर २० सम्म नि:शुल्क दर्ता
तालिम कार्यक्रमका लागि मंसिर १ गतेदेखि अनलाइन दर्ता खुला गरिएको छ । इच्छुक नेपालीले मंसिर २० गतेसम्म निःशुल्क दर्ता गर्न सक्नेछन् । दर्ता गर्ने लिंक: https://digitalsolutionnepal.com/register/ रहेको छ ।
दर्ता गर्दा आफ्नो नाम, इमेल ठेगाना, मोबाइल नम्बर, पेशा र Live वा Recorded कक्षामध्ये कुन माध्यमबाट सिक्न चाहेको हो भन्ने विवरण दिनुपर्नेछ । दर्ता पूरा भएपछि प्राप्त हुने Registration ID, इमेल ठेगाना र मोबाइल नम्बर सुरक्षित राख्न कम्पनीले अनुरोध गरेको छ । यी विवरण तालिममा सहभागी हुन आवश्यक पर्नेछन् ।
मंसिर २१ गते तालिमबारे थप जानकारी सार्वजनिक हुने
कम्पनीका अनुसार तालिम सञ्चालन हुने तरिका, सिकाइ प्लेटफर्म र कक्षामा सहभागी हुने प्रक्रियाबारे मंसिर २१ गते थप जानकारी सार्वजनिक गरिनेछ । दर्ता गरेका सहभागीलाई आवश्यक जानकारी इमेलमार्फत पठाइनेछ ।
साथै, कम्पनीको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालबाट पनि नियमित जानकारी उपलब्ध गराइनेछ । यसअघि शुल्क लिएर एआईतालिम सञ्चालन गर्दै आएको डिजिटल सोलुसनले आफ्नो चौथो वार्षिकोत्सवमा उक्त तालिम नि:शुल्क रूपमा आम नेपालीसम्म पुर्याउन लागेको हो ।
चार वर्षदेखि डिजिटल शिक्षा र प्रविधिमा सक्रिय
पोखरामा स्थापना भएको डिजिटल सोलुसनले विगत चार वर्षदेखि डिजिटल सेवा, प्रविधि तथा डिजिटल साक्षरतासम्बन्धी जानकारी र तालिम प्रदान गर्दै आएको छ । कम्पनीका अनुसार डिजिटल सोलुसन र यसका संस्थापक रबिन पौडेलका सामाजिक सञ्जालमा गरी ६ लाखभन्दा बढी फलोअर तथा सब्सक्राइबर छन् ।
‘सबैका लागि एआई’ अभियानमार्फत नेपालीलाई नयाँ प्रविधिसँग परिचित गराउने र पढाइ, काम, व्यवसाय तथा दैनिक जीवनमा एआईको प्रयोग बढाउन सहयोग गर्ने कम्पनीको लक्ष्य छ ।
आईसीटी समाचार