काठमाडौं । नेपालको स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा आयोजना भइरहेको सातौँ संस्करणको स्टार्टअप एन्ड आइडिया फेस्टको दोस्रो दिन विभिन्न स्टार्टअप तथा नवीन व्यावसायिक अवधारणाको प्रदर्शनी जारी रहेको छ ।
काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सञ्चालन भइरहेको फेस्टमा युवा उद्यमी, विद्यार्थी, लगानीकर्ता तथा प्रविधिप्रेमीले नयाँ उत्पादन, सेवा र प्रविधिको अवलोकन गरिरहेका छन् ।
आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टका रूपमा लिभिङ विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले सनवे एआइ कलेजसँगको सहकार्यमा मंसिर ३ र ४ गते स्टार्टअप एन्ड आइडिया फेस्ट आयोजना गरेका हुन् ।
फेस्टमा सातै प्रदेशबाट सहभागी भएका १०० भन्दा बढी स्टार्टअप तथा नवप्रवर्तनका परियोजनाले आफ्ना उत्पादन, सेवा र प्रविधि प्रदर्शनीमा राखेका छन् ।
सफ्टवेयर, मोबाइल एप्लिकेसन, आर्टिफिसियल इन्टेलिजेन्स (एआइ), इन्टरनेट अफ थिङ्स (आइओटी), रोबोटिक्स, ड्रोन तथा एयरोस्पेसलगायतका क्षेत्रमा नेपाली युवा तथा उद्यमीले विकास गरेका नवीन सिर्जना प्रदर्शनीमा समेटिएका छन् ।
प्रदर्शनीमा सहभागीले नयाँ प्रविधि, व्यावसायिक अवधारणा तथा स्थानीय समस्या समाधान गर्ने उद्देश्यले विकास गरिएका नवीनतम उपायबारे प्रत्यक्ष जानकारी लिइरहेका छन् । विभिन्न स्टार्टअपले आफ्ना उत्पादन तथा सेवाका विशेषता, उपयोगिता र सम्भावित प्रयोगबारे अवलोकनकर्तालाई जानकारी गराइरहेका छन् ।
फेस्टमा आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन तथा सोसल इन्नोभेसन विधाका ५० भन्दा बढी सेमिफाइनलिस्ट परियोजना सहभागी छन् । अवलोकनकर्ताले प्रदर्शनी अवलोकन गर्नुका साथै आफूलाई मन परेका परियोजनालाई भोट गर्ने अवसर समेत पाएका छन् ।
स्टार्टअपलाई लगानीकर्ता तथा सम्भावित व्यावसायिक साझेदारसँग जोड्ने उद्देश्यले स्टार्टअप लाउन्जको व्यवस्था गरिएको छ । यसमार्फत नयाँ उद्यमीलाई आफ्ना उत्पादन तथा सेवाको प्रवर्द्धन, बजार विस्तार, नेटवर्किङ र लगानीका सम्भावना खोज्न सहज हुने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार