कीवर्डहरू -

नेपालमै विकसित एआई कोड एडिटर ‘एस्ट्राकोड’ सार्वजनिक, आफैँले कोड परीक्षण र त्रुटि सुधार गर्ने सुविधा

नेपालमै विकसित एआई कोड एडिटर ‘एस्ट्राकोड’ सार्वजनिक, आफैँले कोड परीक्षण र त्रुटि सुधार गर्ने सुविधा

काठमाडौं । नेपालमै विकास गरिएको कृत्रिम बुद्धिमत्ता (एआई) आधारित कोड एडिटर ‘एस्ट्राकोड’ (AstraCode) औपचारिक रूपमा सार्वजनिक भएको छ । मंसिर ३ र ४ गते आयोजित ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२६’ (Startup & Idea Fest 2026) मार्फत एस्ट्राकोड सार्वजनिक गरिएको हो । कम्पनी उक्त कार्यक्रमको आधिकारिक एआई टेक पार्टनरसमेत रहेको थियो ।

फेस्टमा राखिएको एस्ट्राकोडको स्टलमा सफ्टवेयर डेभलपर, विद्यार्थी तथा स्टार्टअप संस्थापकहरूले आफ्नै ल्यापटपमा एस्ट्राकोड इन्स्टल गरेर प्रत्यक्ष प्रयोग गर्ने अवसर पाएका थिए । स्टलमा ‘बग हन्ट’ प्रतिस्पर्धासमेत आयोजना गरिएको थियो । प्रतिस्पर्धामा सहभागीहरूले आयोजक टोलीले आफ्नै एउटा प्रोजेक्टमा जानाजान राखेका त्रुटि (बग) पहिचान गरी समाधान गर्नुपर्ने थियो ।

एस्ट्राकोडको मुख्य विशेषता यसको एआई एजेन्ट हो, जसले डेभलपरले सामान्य भाषामा दिएको निर्देशनअनुसार सुरुदेखि अन्त्यसम्म काम गर्न सक्छ । यसले पूरै प्रोजेक्ट अध्ययन गरेर आवश्यक परिवर्तनको योजना बनाउने, कोड लेख्ने र परीक्षण (टेस्ट) चलाउने काम गर्छ । परीक्षणबाट नतिजा प्रमाणित नभएसम्म एजेन्टले काम पूरा भएको मान्दैन ।

कुनै फङ्सनमा परिवर्तन गर्नुअघि त्यसको प्रयोग भएका सबै स्थान जाँच गर्ने भएकाले अन्य फाइलमा अनावश्यक असर पर्ने जोखिमसमेत कम हुन्छ । एजेन्टले एपलाई वास्तविक ब्राउजरमा खोलेर परीक्षण गर्ने, समस्या देखिएका भाग सच्याउने र पुन: परीक्षण गर्ने सुविधा पनि दिन्छ । प्रत्येक चरणअघि चेकप्वाइन्ट सुरक्षित हुने भएकाले गरिएका परिवर्तन आवश्यक पर्दा पूर्ण रूपमा फिर्ता लिन सकिन्छ । यसमा प्रोजेक्टको कोड भने डेभलपरकै कम्प्युटरमा सुरक्षित रहन्छ ।

विद्यार्थीका लागि एस्ट्राकोड कोडमार्फत व्यावहारिक रूपमा सिक्ने माध्यम बन्न सक्छ। उनीहरूले आफूले नबुझेको प्रोजेक्टबारे एआई एजेन्टसँग व्याख्या माग्न सक्छन् । साथै, एजेन्टले कुनै परिवर्तनको योजना कसरी बनाउँछ, परीक्षण कसरी गर्छ र नतिजा कसरी जाँच गर्छ भन्ने प्रक्रिया चरणबद्ध रूपमा हेरेर सिक्न सक्छन् । विद्यार्थीका लागि छुट्टै ‘स्टुडेन्ट प्लान’ पनि उपलब्ध छ ।

स्टार्टअप संस्थापक तथा साना टोलीका लागि पनि एस्ट्राकोड उपयोगी हुने कम्पनीको भनाइ छ । कुन कामका लागि कुन एआई मोडल प्रयोग गर्ने भन्ने निर्णय गर्नुपर्ने झन्झट हटाउँदै यसको ‘एस्ट्रावन’ (AstraOne) प्रणालीले आवश्यकताअनुसार आफैँ उपयुक्त मोडल छनोट गर्छ । प्रोजेक्टका नियमहरू रिपोजिटरीमै सुरक्षित रहने भएकाले टोलीका सबै सदस्यले एउटै एजेन्टसँग समन्वय गरेर काम गर्न सक्छन् । प्रत्येक काम पूरा भएपछि के परिवर्तन गरियो, के परीक्षण गरियो र के काम बाँकी छ भन्ने स्पष्ट विवरणसहितको सारांश पनि उपलब्ध हुन्छ ।

“स्टार्टअप एन्ड आइडिया फेस्टको आधिकारिक एआई टेक पार्टनरका रूपमा सहभागी हुन पाउँदा नेपालको प्रविधि क्षेत्रको भविष्य निर्माण गरिरहेका डेभलपर, विद्यार्थी र संस्थापकहरूमाझ एस्ट्राकोड पुर्‍याउन सफल भएका छौँ,” कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेश झाले भने, “उहाँहरूले यसको प्रयोगलाई निरन्तरता दिनुहुनेछ र आगामी दिनमा हामीले के निर्माण गर्नुपर्छ भन्ने विषयमा सुझाव दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।”

कम्पनीकी सह-संस्थापक तथा प्रमुख सञ्चालन अधिकृत (सीओओ) सपना दवाडीले नेपाली डेभलपरले पनि विश्वस्तरीय एआई उपकरण प्रयोग गर्न पाउनुपर्ने र आफ्नो काममाथिको पूर्ण नियन्त्रण आफैँसँग राख्न सक्नुपर्ने बताइन् ।

“नेपाली डेभलपरहरूले पनि विश्वस्तरीय एआई उपकरण प्रयोग गर्न पाउनुपर्छ र आफ्नो कामको पूर्ण नियन्त्रण आफ्नै हातमा राख्न पाउनुपर्छ,” उनले भनिन्, “जो कोहीले आजै आफ्नो ल्यापटपमा एस्ट्राकोड इन्स्टल गरेर काम सुरु गर्न सक्नुहुन्छ । आवश्यक सहयोगका लागि हाम्रो टोली सधैँ तयार छ ।”

लिभिङ विथ आईसीटी (Living with ICT) र आईसीटी फाउन्डेसन नेपालले बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना गरेको स्टार्टअप एन्ड आइडिया फेस्ट २०२६ आईसीटी अवार्ड २०२६ को पूर्वकार्यक्रम (प्रि-इभेन्ट) हो ।

एस्ट्राकोड म्याकओएस, विन्डोज र लिनक्स अपरेटिङ सिस्टममा नि:शुल्क प्रयोग गर्न सकिन्छ । यसको विकास काठमाडौँको कलंकीस्थित एस्ट्रा कोड प्रालिले गरेको हो । एस्ट्राकोडबारे थप जानकारी तथा प्रयोगका लागि कम्पनीको वेबसाइट astracode.io मा जान सकिन्छ ।