कीवर्डहरू -

आज स्टार्टअप फेस्टमा लगानी, नीति र उद्यमशीलताबारे विशेष बहस, १५ बढी आइडिया पिचिङ

आज स्टार्टअप फेस्टमा लगानी, नीति र उद्यमशीलताबारे विशेष बहस, १५ बढी आइडिया पिचिङ

काठमाडौं । नेपालको स्टार्टअप इकोसिस्टमको विकास, लगानी विस्तार र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा जारी सातौँ स्टार्टअप फेस्टमा आज ‘स्टार्टअप कन्भर्सेसन्स २०२६’ आयोजना भइरहेको छ ।

स्टार्टअप संस्थापक, लगानीकर्ता, उद्यमी तथा इकोसिस्टमका नेतृत्वकर्तालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना भइरहेको कार्यक्रममा मुख्य वक्ताका प्रस्तुति, सफल स्टार्टअपका अनुभव, अन्तरक्रियात्मक प्यानल छलफल तथा आइडिया पिचिङ समावेश छन् ।

null

कार्यक्रमको सुरुवात बिहान १० बजे उद्घाटन मन्तव्य तथा ‘स्टार्टअप कन्भर्सेसन्स २०२६’ को परिचयबाट सुरु भएको छ । त्यसपछि  ‘बिल्डिङ द नेक्स्ट जेनेरेसन अफ स्टार्टअप्स’ शीर्षकमा मुख्य प्रस्तुति भएको छ । उक्त सत्रमा स्टार्टअपका सम्भावना, नवप्रवर्तन र उद्यमशीलताका विषयमा चर्चा गरिएको छ ।

यस्तै आज  ‘अवार्ड विनर्स स्टोरिज : फ्रम आइडिया टु मार्केट’ शीर्षकमा आइसिटी अवार्डका पाँच स्टार्टअप विजेताले आफ्ना अनुभव सुनाउनेछन् । उनीहरूले व्यावसायिक विचारलाई बजारसम्म पुर्‍याउँदाका चुनौती, असफलता, सिकाइ र सफलताका कथा प्रस्तुत गर्नेछन् ।

null

कार्यक्रमको आकर्षणका रूपमा ‘आइडिया पिचिङ : सेभेन प्रोभिन्सेस’ सञ्चालन हुनेछ । यसमा नेपालका सातै प्रदेशबाट आएका कम्तीमा १५ स्टार्टअपका व्यावसायिक विचार प्रस्तुत गरिनेछन् । कार्यक्रमको अन्तिम चरणमा  ‘प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२६’ अन्तर्गत प्रादेशिक स्टार्टअपलाई सम्मान गरिनेछ ।

कार्यक्रमले स्टार्टअप संस्थापक र लगानीकर्ताबीच प्रत्यक्ष संवाद तथा नेटवर्किङको अवसर सिर्जना गर्नुका साथै उद्यमीलाई लगानी जुटाउने, व्यवसाय विस्तार गर्ने र बजारमा प्रतिस्पर्धी बन्ने विषयमा व्यावहारिक ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ ।

null

सातौँ संस्करणको स्टार्टअप फेस्ट आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टका रूपमा लिभिङ विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले सनवे एआइ कलेजसँगको सहकार्यमा आयोजना गरिएको हो ।

मंसिर ३ र ४ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सञ्चालन भइरहेको फेस्टमा सातै प्रदेशका १०० भन्दा बढी स्टार्टअप तथा नवप्रवर्तनका परियोजना सहभागी छन् ।