काठमाडौं । डिजिटल राइट्स नेपालले कर्णाली र सुदूरपश्चिम प्रदेशका युवालाई लक्षित गरी डिजिटल अधिकार तथा अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।
संस्थाले यसअघि तालिममा सहभागी हुन आवेदन आह्वान गरेको थियो । गत कात्तिक २९ गतेसम्म आवेदन दिएका १८ देखि ३५ वर्ष उमेर समूहका युवा तथा युवा नेतृत्वमा रहेका नागरिक समाजका संस्थाका प्रतिनिधिहरूलाई तालिममा सहभागी गराइनेछ ।
आयोजकका अनुसार तालिम कर्णाली प्रदेशको सुर्खेतमा मंसिर ७ र ८ गते तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १० र ११ गते सञ्चालन हुनेछ । तालिम आवासीय प्रकृतिको भने हुने छैन ।
सम्बन्धित प्रदेशका स्थायी बासिन्दा वा सोही प्रदेशमा कार्यरत रहेका तथा डिजिटल साक्षरता, मिडिया साक्षरता, डिजिटल अधिकार, अनलाइन सुरक्षा र नागरिक सहभागितामा रुचि राख्ने युवालाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो ।
डिजिटल राइट्स नेपालले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र स्विस सरकारको विकास सहयोग नियोगसँगको सहकार्यमा ‘डिजिटल राइट्स एन्ड सेफ्टी स्कुल’ सञ्चालन गर्न लागेको हो ।
तालिममा डिजिटल अधिकार, डिजिटल जोखिम र त्यसबाट बच्ने उपाय, सूचना अखण्डता, तथ्य जाँच, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग तथा डिजिटल अधिकार उल्लङ्घनका घटनामा उपलब्ध कानुनी उपचार संयन्त्रबारे प्रशिक्षण दिइनेछ ।
कार्यक्रममार्फत सहभागीहरूलाई डिजिटल क्षेत्रमा देखिने जोखिम पहिचान गर्न, आफ्नो अनलाइन सुरक्षा कायम राख्न तथा डिजिटल अधिकारसम्बन्धी विषयमा सचेत र जिम्मेवार भूमिका निर्वाह गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार