कीवर्डहरू -

आईफोनमा ह्वाट्सएपको च्याट जानकारी र फोटो सम्पादनमा नयाँ डिजाइन आउँदै

आईफोनमा ह्वाट्सएपको च्याट जानकारी र फोटो सम्पादनमा नयाँ डिजाइन आउँदै

काठमाडौं । ह्वाट्सएपले आईफोन प्रयोगकर्ताका लागि आफ्नो एपमा एप्पलको ‘लिक्विड ग्लास’ डिजाइन विस्तार गर्ने तयारी गरेको छ । यसअन्तर्गत च्याटको जानकारी हेर्ने र फोटो सम्पादन गर्ने सुविधामा नयाँ डिजाइन थप गर्न लागिएको हो ।

आईओएसका लागि उपलब्ध ह्वाट्सएपको बिटा संस्करणमा यो परिवर्तन देखिएको छ । एप्पलको टेस्टफ्लाइटमार्फत वितरण गरिएको उक्त संस्करणमा च्याट जानकारी पृष्ठ र फोटो सम्पादन उपकरणहरूको स्वरूप परिवर्तन गरिएको छ ।

नयाँ डिजाइनमा विभिन्न बटन तथा सम्पादन उपकरणहरू सिसाजस्तै पारदर्शी देखिनेछन् । यसले एपको इन्टरफेसलाई थप आकर्षक बनाउनुका साथै बटनको पछाडिका सामाग्री पनि केही हदसम्म देखिने बनाउनेछ ।

हाल ह्वाट्सएपमा कुनै व्यक्तिको सम्पर्क विवरण वा समूहको जानकारी खोल्दा नाममुनि विभिन्न कामका लागि छुट्टाछुट्टै बटन देखिन्छन् । अब ती बटनमा लिक्विड ग्लास डिजाइन प्रयोग गरिनेछ ।

नयाँ स्वरूपमा बटनहरू पारदर्शी हुनेछन् र तिनमा सिसाजस्तो प्रभाव देखिनेछ । त्यस्तै, फोटो सम्पादन गर्दा प्रयोग हुने उपकरण तथा बटनहरूमा पनि यही डिजाइन लागू गरिँदैछ । यसबाट फोटो सम्पादन गर्ने इन्टरफेसको स्वरूप पनि परिवर्तन हुनेछ ।

यद्यपि, नयाँ डिजाइनले ह्वाट्सएपका सुविधाको कार्यप्रणालीमा कुनै परिवर्तन गर्ने छैन । यसले एपको बाहिरी स्वरूप र प्रयोगकर्ता इन्टरफेसलाई मात्र परिमार्जन गर्नेछ ।

एप्पलले आईओएस २६ सार्वजनिक गरेपछि ह्वाट्सएपले आफ्नो आईफोन एपमा लिक्विड ग्लास डिजाइन क्रमश: विस्तार गर्दै आएको छ । पछिल्लो परीक्षणमार्फत च्याट जानकारी र फोटो सम्पादनलगायतका भागमा पनि एउटै डिजाइन शैली कायम गर्ने प्रयास गरिएको छ ।

यो परिवर्तन हाल टेस्टफ्लाइटमार्फत ह्वाट्सएपको पछिल्लो बिटा संस्करण प्रयोग गर्ने केही प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । यसका साथै एप स्टोरबाट ह्वाट्सएपको पछिल्लो संस्करण डाउनलोड गरेका केही प्रयोगकर्ताले पनि नयाँ डिजाइन देख्न थालेका छन् ।

तर, यो सुविधा सबै प्रयोगकर्ताका लागि एकैपटक उपलब्ध हुने छैन । त्यसैले एप अपडेट गरेपछि पनि नयाँ डिजाइन नदेखिन सक्छ । आफ्नो खातामा यो सुविधा उपलब्ध नभएका प्रयोगकर्ताले थप केही समय प्रतीक्षा गर्नुपर्नेछ ।