काठमाडौं । माइक्रोसफ्टले आफ्ना क्लाउड तथा डिजिटल सेवामा देखिएको विश्वव्यापी प्राविधिक अवरोध पूर्ण रूपमा हटेको जनाएको छ । कम्पनीले सेवा सञ्चालनमा आएको समस्या समाधान भइसकेको र सबै प्रभावित सेवा सामान्य अवस्थामा फर्किएको जानकारी दिएको हो ।
माइक्रोसफ्टका अनुसार कम्पनीको माइक्रोसफ्ट ३६५ अन्तर्गतका आउटलुक, टिम्स र कोपाइलटलगायत सेवामा अवरोध देखिएको थियो । उक्त समस्याबाट विश्वका ७० भन्दा बढी देश तथा क्षेत्रका प्रयोगकर्ता प्रभावित भएका थिए ।
एपी न्युजका अनुसार सेवा अवरुद्ध हुँदा सरकारी कार्यालय, अस्पताल, बैंक, विमान सेवा तथा विभिन्न व्यावसायिक संस्थाहरूको नियमित कामकाज प्रभावित भएको थियो । डिजिटल सेवामा आएको समस्याले सञ्चार, सूचना आदानप्रदान तथा दैनिक कार्यसम्पादनमा समेत कठिनाइ उत्पन्न गरेको थियो ।
कम्पनीले नेटवर्क क्षमता विस्तार गर्ने क्रममा उत्पन्न भएको प्राविधिक त्रुटिका कारण सेवा अवरुद्ध भएको स्पष्ट पारेको छ । माइक्रोसफ्टले उक्त घटना साइबर आक्रमण वा एआई एजेन्टसँग सम्बन्धित नभएको पनि जनाएको छ ।
यस घटनाले विश्वभरका सरकारी तथा निजी क्षेत्रका संस्थाहरू सीमित प्रविधि प्रदायकका सेवामा निर्भर रहँदा उत्पन्न हुन सक्ने जोखिमलाई पुन: सतहमा ल्याएको छ । एउटै सेवा प्रदायकको प्रणालीमा समस्या आउँदा विभिन्न देशका अत्यावश्यक सेवा र संस्थाहरू समेत प्रभावित हुन सक्ने देखिएको छ ।
आईसीटी समाचार