काठमाडौं । एप्पलको नयाँ फोल्डेबल स्मार्टफोन आईफोन डुओ सार्वजनिक भएको दुई साता नबित्दै यसका लागि एक लाखभन्दा बढी एप अप्टिमाइज भएका छन् । एप्पलले एप विकासकर्ताहरूले नयाँ डिभाइसलाई तीव्र गतिमा आत्मसात् गरिरहेको र एप स्टोरमा दैनिक हजारौँ नयाँ अप्टिमाइज गरिएका एप थपिइरहेको जनाएको छ ।
एप्पलकी विश्वव्यापी डेभलपर सम्बन्ध विभागकी उपाध्यक्ष सुसान प्रेस्कटका अनुसार विकासकर्ताहरूले आईफोन डुओको नयाँ डिजाइन र डिस्प्ले क्षमताअनुसार आफ्ना एपहरू अनुकूल बनाउने काम तीव्र पारेका छन् ।
नयाँ फोनका लागि अप्टिमाइज गरिएका एपमा माइक्रोसफ्टका एक्सेल, वननोट, पावरपोइन्ट र वर्ड रहेका छन् । त्यस्तै, एट्सी, गुडनोट्स, हेलाइड मार्क थ्री, एनबीए, एनएचएल, जुम, अमेजन प्राइम भिडियो, फ्यान्टास्टिकल, फ्लाइटि, इन्स्टाग्राम, एमएलबी, नेटफ्लिक्स, स्मार्टजिम, ह्वाट्सएप र युट्युब पनि नयाँ डिभाइसअनुसार अपडेट भएका छन् ।
एप्पलले प्रयोगकर्तालाई अप्टिमाइज गरिएका एप पहिचान गर्न सहज बनाउन एप स्टोरमा छुट्टै संकेतको व्यवस्था गरेको छ । आईफोन डुओसँग पूर्ण रूपमा अनुकूल बनाइएका एपको विवरण पृष्ठमा ‘मेड फर आईफोन डुओ’ ब्याज देखिनेछ ।
एप विकासलाई तीव्र बनाउन एप्पलका कार्यशाला
जीएसएसएरिनाका अनुसार नयाँ फोनका लागि एप विकास तथा परिमार्जनको गति बढाउन एप्पलले विभिन्न सहरमा प्रत्यक्ष कार्यशाला सञ्चालन गरिरहेको छ । कम्पनीका अनुसार पछिल्लो एक महिनामा १९ सहरमा ५० भन्दा बढी कार्यशाला आयोजना गरिएका छन् । ती कार्यक्रममा दुई हजारभन्दा बढी एप विकासकर्ता सहभागी भएका थिए ।
आईफोन डुओको दुवै डिस्प्लेको क्षमताअनुसार एपलाई अनुकूल बनाउन एप्पलले विकासकर्तालाई नयाँ प्राविधिक सुविधा पनि उपलब्ध गराएको छ । स्ट्यान्डर्ड स्विफ्टयूआई र यूआईकिट कम्पोनेन्ट प्रयोग गरेर निर्माण गरिएका एपहरू फोनका दुवै डिस्प्लेको आकारअनुसार स्वतः अनुकूल हुन सक्छन् ।
यसबाहेक विकासकर्ताले आफ्नै डिजाइनअनुसार एप तयार गर्न र फोनको बीचमा रहेको हिन्जको अवस्थालाई समेत ध्यानमा राखेर एपको लेआउट मिलाउन नयाँ एपीआई प्रयोग गर्न सक्छन् ।
पुराना एप पनि चल्ने, तर सबैले पूरा डिस्प्ले प्रयोग गर्न नसक्ने
आईफोन डुओमा पुराना एप संस्करण पनि सञ्चालन गर्न सकिन्छ । तर नयाँ फोनका लागि विशेष रूपमा अप्टिमाइज नगरिएका एपले भित्री डिस्प्लेको सम्पूर्ण क्षेत्र प्रयोग गर्न नसक्ने अवस्था हुन सक्छ ।
एप स्टोरमा ठूलो संख्यामा एप उपलब्ध भएपनि सबै एप नयाँ फोनको डिस्प्लेअनुसार अनुकूल भइसकेका छैनन् । उदाहरणका लागि, गुगल म्याप्सले हालै मात्र आईफोन डुओसँग पूर्ण रूपमा मिल्ने अपडेट प्राप्त गरेको छ ।
एप्पलले आगामी दिनमा विकासकर्ताहरूबाट एप अपडेट आउने क्रम अझ तीव्र हुने अपेक्षा गरेको छ । नयाँ फोल्डेबल फोनको फराकिलो डिस्प्ले र फरक डिजाइनअनुसार एपहरू अनुकूल हुँदै जाँदा प्रयोगकर्ताले थप सहज र प्रभावकारी अनुभव पाउने कम्पनीको विश्वास छ ।
आईसीटी समाचार