कीवर्डहरू -

एनभिडियाको नेतृत्वमा हुआङलाई फर्काउन सिलिकन भ्यालीको दबाब, मस्कको समर्थन

एनभिडियाको नेतृत्वमा हुआङलाई फर्काउन सिलिकन भ्यालीको दबाब, मस्कको समर्थन

काठमाडौं । एनभिडियाका सहसंस्थापक तथा पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङलाई पुन: कम्पनीको नेतृत्वमा ल्याउन सिलिकन भ्यालीका प्रभावशाली व्यवसायीहरूले दबाब बढाएका छन् । उनको पुनर्बहालीको माग गर्दै सुरु गरिएको अनलाइन अभियानमा एक लाख ६० हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् ।

‘स्ट्यान्ड विथ जेन्सन’ नाम दिइएको उक्त अभियानलाई टेस्लाका सीईओ इलन मस्क, एपिक गेम्सका सीईओ टिम स्विनी र वाई कम्बिनेटरका प्रमुख ग्यारी ट्यानले समेत समर्थन गरेको अभियानको वेबसाइटमा उल्लेख छ । यद्यपि, हस्ताक्षर गर्ने व्यक्तिहरूको पद र उनीहरूको संस्थागत आबद्धता स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको वेबसाइटले स्पष्ट पारेको छ ।

फाइनान्सियल टाइम्सका अनुसार, एनभिडियामा लगानी गरेका कम्पनीका प्रमुख ब्राड गेस्र्टनर र गेविन बेकरले पनि कम्पनीको सञ्चालक समितिलाई पत्र पठाउँदै हुआङलाई पुन: नेतृत्वको जिम्मेवारी दिन आग्रह गरेका छन् । हुआङका समर्थक व्यवसायीहरूले सञ्चालक समिति र ह्वाइट हाउसबाट समर्थन जुटाउन छुट्टै समूह गठन गर्ने तयारी समेत गरेका छन् ।

तर, हुआङको व्यक्तिगत सम्बन्ध र चिनियाँ गुप्तचर निकायसँग जोडिएका आरोपले उनको पुनर्बहालीको अभियानलाई विवादित बनाएको छ । न्युयोर्क टाइम्सका अनुसार, सिंगापुरस्थित कम्पनी मेगास्पीडकी पूर्वअधिकारी एलिस हुआङसँग जेन्सनको व्यक्तिगत सम्बन्ध रहेको दाबी सार्वजनिक भएको छ ।

यसका अतिरिक्त एनभिडियाकी उपाध्यक्ष किम्बर्ली पावेल र कम्पनीकै अर्की एक महिला कर्मचारीसँग पनि हुआङको सम्बन्ध रहेको विवरण सार्वजनिक भएका छन् । एलिसमाथि चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आरोप समेत लागेको छ ।

एलिसले एनभिडियाका कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी चिप चीन पुर्‍याउन सहयोग गरेको वा कम्पनीका गोप्य सूचना प्राप्त गरेको हुन सक्ने आशंकामा अमेरिकी निकायले अनुसन्धान गरिरहेको बताइएको छ । यद्यपि, यी आरोप पुष्टि भइसकेका छैनन् ।

यसै विषयमा जानकारी लिन अमेरिकी संसद्ले नोभेम्बर १८ मा हुने बन्द बैठकमा उपस्थित हुन एलिसलाई बोलाएको छ । उता, एनभिडियाको सञ्चालक समितिले पनि घटनासम्बन्धी आन्तरिक छानबिन अघि बढाएको छ ।

यसरी हुआङलाई पुन: नेतृत्वमा ल्याउन प्रभावशाली व्यवसायीहरूले समर्थन जुटाइरहेका बेला उनीसँग जोडिएका व्यक्तिगत सम्बन्ध र राष्ट्रिय सुरक्षा सरोकारका आरोपले एनभिडियाको नेतृत्वसम्बन्धी विवाद थप पेचिलो बनेको छ ।