काठमाडौं । गुगलले आफ्नो एआई च्याटबट जेमिनीलाई एप्पल कारप्लेमा उपलब्ध गराउन थालेको छ । यो सुविधासँगै आईफोन प्रयोगकर्ताले गाडीको डिस्प्लेमार्फत जेमिनी लाइभसँग हातको प्रयोग नगरी आवाजकै माध्यमबाट कुराकानी गर्न सक्नेछन् ।
यसअघि गुगलले एन्ड्रोइड अटो तथा गुगल बिल्ट–इन प्रविधि भएका सवारीसाधनमा जेमिनी उपलब्ध गराउन सुरु गरिसकेको थियो । अब भने एप्पल कारप्ले प्रयोग गर्ने चालकले पनि गाडीमै जेमिनीका एआई सुविधाहरू उपयोग गर्न पाउने भएका छन् ।
कारप्लेको डिस्प्लेमा देखिने जेमिनी आइकन थिचेर प्रयोगकर्ताले नयाँ संवाद सुरु गर्न वा यसअघि गरिएका कुराकानीलाई निरन्तरता दिन सक्नेछन् । त्यस्तै, गाडी चलाउँदा आवश्यकताअनुसार कुराकानी रोक्न, विषय परिवर्तन गर्न वा केही समयका लागि पज गर्न सकिने व्यवस्था पनि छ ।
गुगलका अनुसार जेमिनीमार्फत प्रयोगकर्ताले आफ्नो क्यालेन्डरमा रहेका कार्यक्रमबारे जानकारी लिन, नपढिएका इमेलको विवरण सुन्न, दिनभरका महत्त्वपूर्ण गतिविधिको संक्षिप्त जानकारी प्राप्त गर्न तथा नजिकैका स्थान र सेवाबारे सुझाव माग्न सक्नेछन् । यसका अतिरिक्त प्रस्तुतीकरणको अभ्यास गर्न र अन्य विभिन्न काममा समेत जेमिनीको सहयोग लिन सकिनेछ ।
जीएसएमएरिनाका अनुसार कारप्लेमा जेमिनीसँग गरिएका कुराकानी आईफोनमा रहेको जेमिनी एपसँग पनि सिङ्क्रोनाइज हुनेछन् । यसले गर्दा गाडी पार्क गरेपछि संवादका क्रममा तयार भएका नोट तथा सारांश मोबाइल एपबाटै हेर्न र प्रयोग गर्न सकिनेछ ।
गुगलले यो सुविधा क्रमश: आईओएसमा जेमिनी प्रयोग गर्ने सबै प्रयोगकर्तामाझ विस्तार गर्ने जनाएको छ । जेमिनी लाइभले समर्थन गर्ने सबै भाषामा कारप्लेको यो सुविधा उपलब्ध हुनेछ ।
यो सुविधा प्रयोग गर्न आईफोनमा जेमिनी एपको पछिल्लो संस्करण इन्स्टल गरिएको हुनुपर्छ । साथै, एपलाई माइक्रोफोन प्रयोग गर्ने अनुमति दिनुपर्ने र फोनबाट कम्तीमा एकपटक जेमिनी लाइभसँग कुराकानी गरेको हुनुपर्नेछ ।
त्यसैगरी, डेली ब्रिफ अर्थात् दैनिक संक्षिप्त विवरण सुविधा प्रयोग गर्न चाहनेले यसलाई पहिले नै सक्रिय गरेको हुनुपर्नेछ । यद्यपि, डेली ब्रिफसहित जेमिनीका केही व्यक्तिगतकरणसम्बन्धी सुविधा १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ता तथा युरोपेली आर्थिक क्षेत्र र नाइजेरियाका प्रयोगकर्ताका लागि उपलब्ध हुने छैनन् ।
आईसीटी समाचार