कीवर्डहरू -

स्टार्टअप फेस्टको पहिलो दिन युवाको उत्साह, नवीन प्रविधि र सिर्जनाले तान्यो अवलोकनकर्ताको ध्यान

स्टार्टअप फेस्टको पहिलो दिन युवाको उत्साह, नवीन प्रविधि र सिर्जनाले तान्यो अवलोकनकर्ताको ध्यान

काठमाडौं । नेपालको स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा सुरु भएको सातौँ संस्करणको स्टार्टअप फेस्टको पहिलो दिन उत्साहजनक सहभागिता देखिएको छ । प्रविधिमा रुचि राख्ने युवा, विद्यार्थी, उद्यमी, लगानीकर्ता तथा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थितिले फेस्टलाई थप उत्साहपूर्ण बनाएको छ ।

null

आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टका रूपमा लिभिङ विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले सनवे एआइ कलेजसँगको सहकार्यमा मंसिर ३ र ४ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा फेस्ट आयोजना गरेको हो ।

null

फेस्टको पहिलो दिन सातै प्रदेशबाट सहभागी भएका १०० भन्दा बढी स्टार्टअप तथा नवप्रवर्तनका परियोजनाले आफ्ना उत्पादन, सेवा र प्रविधि प्रदर्शनीमा राखेका छन् । सफ्टवेयर, मोबाइल एप्लिकेसन, आर्टिफिसियल इन्टेलिजेन्स (एआइ), इन्टरनेट अफ थिङ्स (आइओटी), रोबोटिक्स, ड्रोन तथा एयरोस्पेसलगायतका क्षेत्रमा नेपाली युवा तथा उद्यमीले विकास गरेका सिर्जनाले अवलोकनकर्ताको ध्यान आकर्षित गरेका छन् ।

null

प्रदर्शनीमा युवाले विकास गरेका नयाँ प्रविधि, व्यावसायिक अवधारणा र स्थानीय समस्या समाधान गर्ने नवीनतम उपायबारे अवलोकनकर्ताले प्रत्यक्ष जानकारी लिने अवसर पाएका छन् ।

null

पहिलो दिनको अर्को आकर्षणका रूपमा स्टार्टअप कन्भर्सेसन्स २०२६ आयोजना गरिएको छ । कार्यक्रममा स्टार्टअपका संस्थापक, लगानीकर्ता, उद्यमी तथा इकोसिस्टमका नेतृत्वकर्ताबीच उद्यमशीलता, लगानी, नीतिगत वातावरण र व्यवसाय विस्तारका विषयमा छलफल भएको छ ।

null

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सुधन झाले स्टार्टअप सफल बनाउन लगनशीलता र अनुशासन आवश्यक रहेको बताएका छन् । युवाको नयाँ सोच र ऊर्जालाई सही दिशामा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले नयाँ व्यावसायिक विचार विकास गर्न धेरैभन्दा धेरै मानिससँग जोडिनुपर्ने धारणा राखेका थिए । ग्रामीण र सहरी क्षेत्रको आवश्यकता फरक हुने भएकाले सोहीअनुसार स्टार्टअपका विचार विकास गर्नुपर्ने उनको सुझाव थियो ।

null

त्यस्तै, एफवान सफ्टका निर्देशक सुवास शर्माले नेपालमा प्रविधिमा आधारित व्यवसायका लागि पर्याप्त सम्भावना रहेको बताएका छन् । नीतिगत व्यवस्थाको प्रतीक्षा गरेर व्यवसाय सुरु गर्न ढिलाइ गर्न नहुने उल्लेख गर्दै उनले दीर्घकालीन सोचका साथ उद्यमशीलतामा अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

null

फेस्टमा आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन तथा सोसल इन्नोभेसन विधाका ५० भन्दा बढी सेमिफाइनलिस्ट सहभागी छन् । अवलोकनकर्ताले प्रदर्शनी अवलोकन गर्नुका साथै आफूलाई मन परेका परियोजनालाई भोट गर्ने अवसर समेत पाएका छन् ।

null

स्टार्टअपलाई लगानीकर्ता तथा सम्भावित व्यावसायिक साझेदारसँग जोड्ने उद्देश्यले स्टार्टअप लाउन्जको व्यवस्था गरिएको छ । यसले नयाँ उद्यमीलाई आफ्नो उत्पादन तथा सेवाको बजार विस्तार, नेटवर्किङ र लगानीका सम्भावना खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

null

फेस्टको पहिलो दिनको सहभागिता र युवा उद्यमीको सक्रियताले नेपालमा प्रविधि तथा नवप्रवर्तनप्रति बढ्दो आकर्षणलाई देखाएको छ । आफ्नै सिर्जना र प्रविधिमार्फत नयाँ व्यवसाय निर्माण गर्न खोजिरहेका युवाका लागि फेस्ट विचार आदानप्रदान, सिकाइ र अवसर खोज्ने साझा मञ्च बनेको छ ।

null

फेस्टको दोस्रो दिन पनि विभिन्न स्टार्टअप तथा नवप्रवर्तनका परियोजनाको प्रदर्शनी, अन्तरक्रिया र प्रविधिसम्बन्धी गतिविधि सञ्चालन हुनेछन् । आयोजकले फेस्टमार्फत नेपाली स्टार्टअपलाई प्रोत्साहन गर्नुका साथै उनीहरूका उत्पादनलाई बजार, लगानीकर्ता र सम्भावित साझेदारसम्म पुर्‍याउने लक्ष्य राखेको छ ।