काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले मौलिक भिडियो सामग्रीको चोरी तथा अनधिकृत नक्कल नियन्त्रण गर्न ‘कन्टेन्ट प्रोटेक्सन’ नामक नयाँ सुविधा ल्याउन थालेको छ । यस सुविधामार्फत प्रयोगकर्ताले बनाएका मौलिक रिल्सको नक्कल गरी इन्स्टाग्राम र फेसबुकमा पोस्ट गरिएका भिडियो पहिचान गर्न सकिनेछ ।
मेटाले ल्याउन थालेको यो सुविधाले सर्जकले दर्ता गरेका मौलिक भिडियोसँग अन्य प्रयोगकर्ताले अपलोड गरेका भिडियोको दृश्य तुलना गरी समानता खोज्नेछ । आफ्नो सामाग्रीको नक्कल भएको पाइएमा सम्बन्धित सर्जकलाई जानकारी समेत उपलब्ध गराइनेछ ।
कन्टेन्ट प्रोटेक्सन सुविधा सक्रिय गरेपछि प्रयोगकर्ताले त्यसपछि अपलोड गर्ने मौलिक भिडियो स्वत: सुरक्षाको दायरामा पर्नेछन् । तर, सुविधा उपलब्ध हुनुअघि नै पोस्ट गरिएका भिडियो भने सर्जकले आफैँ प्रणालीमा थप्नुपर्नेछ ।
कुनै भिडियोको नक्कल भएको जानकारी पाएपछि सर्जकले त्यसको दृश्य संख्या र पोस्ट गर्ने खाताका अनुयायीको विवरण समेत हेर्न सक्नेछन् । त्यसपछि सामाग्रीको अवस्थाअनुसार चारमध्ये एउटा विकल्प छनोट गर्न पाउनेछन् ।
सर्जकले नक्कल गरिएको भिडियोको गतिविधि निगरानी गर्न, इन्स्टाग्राम र फेसबुकबाट उक्त भिडियो लुकाउन, मौलिक सर्जकका रूपमा आफ्नो नाम उल्लेख गराउन वा नक्कलसम्बन्धी दाबी छाड्न सक्नेछन् ।
यद्यपि, नक्कल गरिएको भिडियो लुकाउँदैमा त्यसलाई पोस्ट गर्ने खातामाथि प्रत्यक्ष जरिवाना वा अन्य दण्डात्मक कारबाही भने हुनेछैन । यो सुविधा हाल सबै प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छैन ।
योग्य सर्जकले इन्स्टाग्रामको प्रोफेसनल ड्यासबोर्डमा गएर ‘कन्टेन्ट प्रोटेक्सन’ विकल्पमार्फत यसलाई सक्रिय गर्न सक्नेछन् । सुविधा प्रयोग गर्न पाउने वा नपाउने विषय मौलिक सामग्री तथा खाताको विश्वसनीयताका आधारमा निर्धारण गरिनेछ ।
यसैबीच, मेटाले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर मूल भिडियोको दृश्य परिवर्तन गरी तयार पारिएका सामाग्री समेत पहिचान गर्ने प्रविधिको परीक्षण गर्ने तयारी गरेको छ ।
प्रस्तावित प्रविधिले मूल सर्जकको आवाज वा भनाइ यथावत् राखेर दृश्य मात्रै परिवर्तन गरिएका भिडियो पहिचान गर्न सहयोग गर्नेछ । यसको परीक्षण सुरुमा सीमित सङ्ख्याका सर्जकसँग गरिनेछ ।
त्यस्तै, बारम्बार अरूको सामाग्री नक्कल गरेर भिडियो बनाउने खाताको पहुँच सीमित गर्ने उपायबारे पनि मेटाले काम गरिरहेको छ । नयाँ सुविधाले सामाजिक सञ्जालमा मौलिक सामाग्री सिर्जना गर्ने प्रयोगकर्ताको अधिकार संरक्षण गर्न र अरूको सिर्जना अनधिकृत रूपमा प्रयोग गर्ने प्रवृत्ति नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार