काठमाडौं । अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) को कम्प्युटर प्रणालीमा यसै साता साइबर आक्रमण भएको छ । किसानलाई सरकारी भुक्तानी उपलब्ध गराउन प्रयोग हुने प्रणालीमा ह्याकरहरूले अनधिकृत पहुँच बनाएपछि मन्त्रालयमा रहेका संवेदनशील तथ्याङ्क चोरी भएको वा दुरुपयोग हुन सक्ने जोखिम बढेको छ ।
एनबीसी न्युजले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार, ह्याकरहरूले मन्त्रालयको भुक्तानीसम्बन्धी कम्प्युटर प्रणालीमा प्रवेश गरेका थिए । घटनाबारे जानकार मन्त्रालयका दुई पूर्वअधिकारीलाई उद्धृत गर्दै समाचारमा बिहीबार कर्मचारीहरूलाई साइबर आक्रमणबारे जानकारी गराइएको उल्लेख छ ।
कृषि मन्त्रालयको प्रणालीमा भएको यो आक्रमण अमेरिकाका महत्त्वपूर्ण सरकारी तथा निजी प्रविधि पूर्वाधारमा पछिल्लो समय देखिएका अवरोधहरूका बीच सार्वजनिक भएको हो । यसअघि हवाई यातायात, बैंकिङ सेवा र राष्ट्रिय सुरक्षा निकायका सञ्चार प्रणालीमा समेत प्राविधिक समस्या देखिएका थिए ।
केही दिनअघि माइक्रोसफ्टका करोडौँ प्रयोगकर्ताले विश्वव्यापी रूपमा सेवा अवरुद्ध हुने समस्या भोगेका थिए । सञ्चार प्रणालीमा आएको खराबीका कारण अमेरिकाभर हवाई उडानसमेत अस्थायी रूपमा रोक्नुपरेको थियो । उक्त समस्याबाट करिब २० हजार उडान प्रभावित भएका थिए ।
त्यसैगरी, अमेरिकाका विभिन्न प्रमुख बैंकका हजारौँ ग्राहकले अनलाइन खातामा पहुँच गर्न नसकेको गुनासो गरेका थिए । अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले प्रयोग गर्ने उच्च गोपनीयतायुक्त आन्तरिक सञ्चार सञ्जालसमेत अवरुद्ध भएको थियो ।
तर, यी सबै सेवा अवरोध साइबर आक्रमणकै कारण भएका हुन् भन्ने पुष्टि भएको छैन । अमेरिकी गुप्तचर अधिकारीहरूले बुधबार सार्वजनिक गरेको जानकारीअनुसार, ती घटनाहरू एकअर्कासँग सम्बन्धित थिएनन् ।
नियमित मर्मतसम्भार तथा प्राविधिक प्रणालीमा गरिएको परिवर्तनका क्रममा उत्पन्न भएका अलग-अलग समस्याका कारण सेवा प्रभावित भएको उनीहरूको भनाइ थियो । ती घटनामा कुनै समन्वित वा राज्य प्रायोजित साइबर आक्रमणको संलग्नता रहेको प्रमाण पनि फेला नपरेको अधिकारीहरूले बताएका थिए ।
यसैबीच, अमेरिकी प्रविधि प्रणालीमा देखिएका लगातारका अवरोध र साइबर सुरक्षासम्बन्धी चिन्ताका बीच राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका राष्ट्रिय साइबर निर्देशक सिन केर्नक्रसलाई पदबाट हटाएका छन् । उनले सन् २०२५ अगस्टदेखि उक्त कार्यालयको नेतृत्व गर्दै आएका थिए ।
एक्सियोसका अनुसार, दुई स्रोतले केर्नक्रसको बहिर्गमनलाई सौहार्दपूर्ण बताएका छन् । यद्यपि, ह्वाइट हाउसका दुई अधिकारीले राष्ट्रपति ट्रम्पका नयाँ चिफ अफ स्टाफ स्टेफन मिलरले उनलाई पदबाट हटाउन दबाब दिएको बताएका छन् ।
मिलरले केर्नक्रससँग राष्ट्रिय साइबर निर्देशकको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक बलियो साइबर सुरक्षा अनुभव नभएको ठानेको ती अधिकारीहरूको भनाइ छ ।
केर्नक्रसको स्थानमा ट्रम्पले रक्षा मन्त्रालयका प्रमुख सूचना अधिकारी किस्रटन डेभिसलाई नयाँ राष्ट्रिय साइबर निर्देशकका रूपमा अघि सारेका छन् । एक्सियोसका अनुसार, उक्त पदमा नियुक्ति हुन अमेरिकी सिनेटको अनुमोदन आवश्यक पर्नेछ ।
कृषि मन्त्रालयको प्रणालीमा भएको आक्रमणबाट कति क्षति पुगेको छ, किसान तथा अन्य सेवाग्राहीका कुन-कुन विवरण जोखिममा परेका छन् र आक्रमणमा को संलग्न थियो भन्नेबारे भने अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।
आईसीटी समाचार