कीवर्डहरू -

नेपालमा प्रविधि व्यवसायको सम्भावना ठूलो छ, उद्यम सुरु गर्न नीतिकै प्रतीक्षा नगरौँ : सुवास शर्मा

नेपालमा प्रविधि व्यवसायको सम्भावना ठूलो छ, उद्यम सुरु गर्न नीतिकै प्रतीक्षा नगरौँ : सुवास शर्मा

काठमाडौं । एफवान सफ्टका निर्देशक सुवास शर्माले नेपालमा प्रविधिमा आधारित नवीन, विश्वसनीय र नाफामूलक व्यवसाय सञ्चालन गर्ने ठूलो सम्भावना रहेको बताएका छन् ।

आइसिटी स्टार्टअप फेस्ट २०२६ अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै शर्माले नेपालमा अवसरको कमी नभएपनि उपलब्ध सेवा तथा सुविधाप्रति सन्तुष्टि नहुँदा सम्भावनालाई सही रूपमा उपयोग गर्न नसकिएको बताए ।

नेपालमा उचित नीतिको अभाव रहेको भन्ने आम बुझाइ प्रविधि क्षेत्रमा भने पूर्णतः सही नभएको उनको भनाइ थियो । प्रविधिमा काम गर्ने व्यवसायीलाई सरकारले सधैँ सहयोग गर्दै आएको उल्लेख गर्दै उनले व्यवसाय सुरु गर्नुअघि नै नीतिगत समस्यालाई मुख्य अवरोधका रूपमा लिन नहुने धारणा राखे ।

उनले पहिले व्यवसाय सुरु गरेर त्यसलाई अघि बढाउँदै जाँदा आवश्यक नीतिगत व्यवस्था र सहजीकरणका अवसर प्राप्त गर्न सकिने बताए ।

शर्माले स्टार्टअप तथा प्रविधिमा आधारित व्यवसाय सफल बनाउन दीर्घकालीन सोच र स्पष्ट दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए । छोटो समयको उपलब्धिमा मात्र केन्द्रित नभई भविष्यलाई ध्यानमा राखेर योजना बनाउने व्यवसायको सफलताको बाटो सहज हुने उनको भनाइ थियो ।

नेपालमा प्रविधिको प्रयोगमार्फत नयाँ सेवा तथा उत्पादन विकास गर्ने र तिनलाई विश्वसनीय तथा नाफामूलक व्यवसायमा रूपान्तरण गर्ने पर्याप्त अवसर रहेको उनले बताए ।