काठमाडौं । नेपालको स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा आयोजना गरिएको सातौँ संस्करणको स्टार्टअप एन्ड आइडिया फेस्ट सम्पन्न भएको छ । दुईदिने फेस्टको दोस्रो दिन अन्तरिक्ष प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सम्भावनाबारे विशेष सिकाइ सत्र आयोजना गरिएको थियो ।
आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टका रूपमा लिभिङ विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले सनवे एआई कलेजसँगको सहकार्यमा मंसिर ३ र ४ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा फेस्ट आयोजना गरेका हुन् ।

फेस्टको दोस्रो दिनको विशेष आकर्षणका रूपमा अन्तरिक्ष प्रविधि र एआईको सम्भावनाबारे सिकाइ सत्र सञ्चालन गरिएको थियो । सत्रमा स्पेस रिसर्च सेन्टर, नास्टका एस्ट्रोफिजिसिस्ट डा. रमेश कोइरालाले प्रस्तुति दिएका थिए ।
उनले अन्तरिक्ष प्रविधिको विकास, एआईको बढ्दो प्रयोग र यी क्षेत्रमा नेपालले खोज्न सक्ने सम्भावनाबारे चर्चा गरेका थिए । प्रविधिको तीव्र विकाससँगै अन्तरिक्ष अनुसन्धान र एआईले सिर्जना गरेका नयाँ अवसर तथा सम्भावनाबारे सहभागीलाई जानकारी गराइएको थियो ।
फेस्टमा सातै प्रदेशबाट सहभागी भएका १०० भन्दा बढी स्टार्टअप तथा नवप्रवर्तनका परियोजनाले आफ्ना उत्पादन, सेवा र प्रविधि प्रदर्शनीमा राखेका थिए । सफ्टवेयर, मोबाइल एप्लिकेसन, आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स (आइओटी), रोबोटिक्स, ड्रोन तथा एयरोस्पेसलगायतका क्षेत्रमा नेपाली युवा तथा उद्यमीले विकास गरेका सिर्जना प्रदर्शनीमा राखिएका थिए ।

प्रदर्शनीमा सहभागीले नयाँ प्रविधि, व्यावसायिक अवधारणा र स्थानीय समस्या समाधान गर्न विकास गरिएका नवीनतम उपायबारे प्रत्यक्ष जानकारी लिएका थिए । विभिन्न स्टार्टअपका स्टलमा अवलोकनकर्ताको चासो देखिएको थियो । उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवाको विशेषता, प्रयोग र व्यावसायिक सम्भावनाबारे जानकारी गराएका थिए ।
दुई दिनसम्म सञ्चालन भएको फेस्टले नेपाली स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रका उत्पादन, प्रविधि र व्यावसायिक अवधारणालाई एउटै मञ्चमा प्रस्तुत गरेको छ । प्रदर्शनी, उत्पादन सार्वजनिक, प्यानल छलफल तथा सिकाइ सत्रमार्फत युवा उद्यमी, लगानीकर्ता, प्रविधि विज्ञ र सरोकारवालाबीच अनुभव तथा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्दै फेस्ट सम्पन्न भएको आयोजकले जनाएको छ ।
आईसीटी समाचार