काठमाडौं । नेपाल राष्ट्र बैङ्कले साइबर तथा डिजिटल माध्यमबाट हुने वित्तीय ठगीका घटनामा परेमा तत्काल १२४७ नम्बरमा सम्पर्क गरी उजुरी तथा गुनासो दर्ता गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
राष्ट्र बैङ्कका अनुसार यस्ता घटनाको शीघ्र सम्बोधन तथा नियन्त्रणका लागि प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोमा २४ सै घण्टा सञ्चालन हुने गरी एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको छ । केन्द्रमा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको छ ।
केन्द्रको हटलाइन नम्बर १२४७ मार्फत अनलाइन ठगी, फिसिङ, नक्कली लिङ्क, अनधिकृत कारोबार तथा डिजिटल भुक्तानीसँग सम्बन्धित ठगीका घटनाबारे जानकारी दिन र उजुरी गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कले साइबर तथा डिजिटल वित्तीय ठगीमा परेमा ढिलाइ नगरी उक्त हटलाइनमा सम्पर्क गर्न र केन्द्रबाट प्राप्त निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।
त्यस्तै, ठगी भएको थाहा पाउनेबित्तिकै सम्बन्धित बैङ्क तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई जानकारी गराउन पनि राष्ट्र बैङ्कले आग्रह गरेको छ ।
आईसीटी समाचार