कीवर्डहरू -

मंसिर मसान्तसम्म बक्यौता बुझाए दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज नलाग्ने

मंसिर मसान्तसम्म बक्यौता बुझाए दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज नलाग्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई बक्यौता कर, शुल्क तथा दस्तुर बुझाउन आग्रह गरेको छ । प्राधिकरणले आर्थिक ऐन, २०८३ मा गरिएको विशेष व्यवस्थाअनुसार आगामी मंसिर मसान्तभित्र बक्यौता रकम दाखिला गरे जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुने जनाएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकलाई उक्त सुविधा उपयोग गरी सरकारलाई बुझाउनुपर्ने बाँकी रकम दाखिला गर्न अनुरोध गरेको हो । आर्थिक ऐन, २०८३ को दफा ४९ मा शुल्क, दस्तुर वा कर दाखिला नगरेका अथवा कम दाखिला गरेका व्यक्तिका लागि जरिवाना तथा ब्याज मिनाहाको व्यवस्था गरिएको छ ।

उक्त व्यवस्थाअनुसार सम्बन्धित व्यक्तिले बुझाउन बाँकी रकम र त्यसको एक प्रतिशत थप रकम २०८३ मंसिर मसान्तभित्र दाखिला गरेमा लाग्ने जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुनेछ ।

त्यस्तै, सम्बन्धित सरकारी कार्यालयबाट शुल्क, दस्तुर वा कर निर्धारण भई बक्यौता कायम भएको अवस्थामा पनि यो सुविधा लिन सकिनेछ । अदालत वा अन्य न्यायिक निकायमा बक्यौता रकमसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा समेत मुद्दा फिर्ता लिएर तोकिएको अवधिभित्र रकम बुझाएमा मिनाहा सुविधा प्राप्त हुनेछ ।

यसका लागि सम्बन्धित सेवा प्रदायकले निर्धारित बक्यौता रकम र त्यसको एक प्रतिशतले हुने थप रकम मंसिर मसान्तभित्रै दाखिला गर्नुपर्नेछ । प्राधिकरणले यो व्यवस्थाबाट लाभ लिन सक्ने सबै अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकलाई समयसीमाभित्र बक्यौता चुक्ता गर्न आग्रह गरेको छ ।