काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको बढ्दो प्रयोगसँगै डाटा सेन्टर निर्माण र त्यसका लागि आवश्यक नेटवर्क पूर्वाधारमा भइरहेको ठूलो लगानीले विश्व दूरसञ्चार उपकरण बजारलाई पुन: गतिशील बनाएको छ ।
विश्लेषक संस्था डेल’ओरोका अनुसार सन् २०२६ को पहिलो छ महिनामा विश्वभर दूरसञ्चार उपकरणबाट हुने आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो वृद्धि ४ प्रतिशतमा सीमित थियो ।
परम्परागत रूपमा परिपक्व मानिने दूरसञ्चार उपकरण बजारमा लामो समयदेखि वृद्धि सुस्त थियो । गत वर्षसम्म विश्वव्यापी दूरसञ्चार उपकरणको आम्दानी लगातार ओरालो लाग्दै आएकोमा एआई डाटा सेन्टरका कारण नेटवर्क पूर्वाधारमा बढेको खर्चले बजारलाई नयाँ गति दिएको डेल’ओरोको विश्लेषण छ ।
विशेष गरी एआई डाटा सेन्टरभित्र तथा एक डाटा सेन्टरलाई अर्को डाटा सेन्टरसँग जोड्न आवश्यक फिक्स्ड लाइन र नेटवर्क उपकरणमा भएको लगानीले बजार विस्तारमा ठूलो योगदान पुर्याएको छ । फाइभजी स्ट्यान्डअलोन (एसए) प्रविधिमा भइरहेको संक्रमणले पनि बजार वृद्धिमा केही भूमिका खेलेको छ ।
डेल’ओरोका अनुसार अहिले दूरसञ्चार उपकरण बजारमा देखिएको वृद्धिको प्रमुख स्रोत नै डाटा सेन्टर क्षेत्र बनेको छ । यससँगै परम्परागत दूरसञ्चार सेवा प्रदायकबाहेक क्लाउड सेवा उपलब्ध गराउने कम्पनीहरू पनि ठूला उपकरण खरिदकर्ताका रूपमा स्थापित हुन थालेका छन् ।
क्लाउड प्रदायकहरूले डाटा सेन्टर निर्माण गरी त्यहाँ उपलब्ध कम्प्युटिङ क्षमता अन्य कम्पनी तथा संस्थालाई भाडामा उपलब्ध गराउँदै आएका छन् । एआईका लागि आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार विस्तारसँगै यस्ता कम्पनीको नेटवर्क उपकरणमा हुने खर्च पनि बढेको छ ।
यद्यपि, सबै प्रकारका दूरसञ्चार उपकरणमा समान वृद्धि देखिएको छैन । फाइभजी कोर उपकरणमा देखिएको छोटो अवधिको खर्च वृद्धि अहिले सुस्त हुन थालेको छ । यसको स्थानमा अप्टिकल नेटवर्क उपकरण र राउटर बजार वृद्धिका प्रमुख आधार बनेका छन् ।
दूरसञ्चार सेवा प्रदायकहरूले अझै पनि कुल उपकरण खरिदको करिब ९० प्रतिशत हिस्सा ओगटिरहेका छन् । तर सन् २०२६ को पहिलो छ महिनामा विश्वव्यापी दूरसञ्चार उपकरण आम्दानीमा भएको वृद्धिको ५५ प्रतिशत योगदान क्लाउड प्रदायकबाट आएको डेल’ओरोले जनाएको छ ।
एआई डाटा सेन्टर केन्द्रित मागले उपकरण निर्माता कम्पनीबीचको प्रतिस्पर्धामा पनि फरक प्रभाव पारेको छ । मोबाइल नेटवर्कमा बढी केन्द्रित एरिक्सनले यो नयाँ बजारबाट तुलनात्मक रूपमा कम लाभ पाएको देखिन्छ ।
नोकियाले अप्टिकल उपकरण क्षेत्रमा लगानी बढाए पनि सिस्को र सिएनाजस्ता सोही क्षेत्रमा विशेषज्ञता भएका कम्पनीको तुलनामा लाभ सीमित रहेको विश्लेषणमा उल्लेख छ ।
अमेरिकाको प्रभाव तुलनात्मक रूपमा कम रहेका बजारमा भने चिनियाँ कम्पनी ह्वावेले फिक्स्ड लाइन उपकरण बिक्रीमा आफ्नो उपस्थिति बलियो बनाइरहेको डेल’ओरोको निष्कर्ष छ ।
क्षेत्रगत रूपमा हेर्दा चीनमा दूरसञ्चार पूर्वाधारमा भइरहेको खर्च भने कमजोर देखिएको छ । अमेरिकामा डाटा सेन्टर निर्माण र त्यससम्बन्धी पूर्वाधारमा लगानी बलियो रहेपनि चीनमा यस्तो खर्च अपेक्षाभन्दा कम रहेको बताइएको छ ।
चीनका तीन ठूला दूरसञ्चार सेवा प्रदायकले सन् २०२६ मा परम्परागत कनेक्टिभिटी पूर्वाधारमा गर्ने पुँजीगत खर्च २४ प्रतिशतले घटाउने अनुमान छ । तर त्यही अवधिमा कम्प्युटिङ पूर्वाधारमा उनीहरूको लगानी ४० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।
यसले दूरसञ्चार क्षेत्रको लगानीको प्राथमिकता परम्परागत कनेक्टिभिटीबाट एआई र उच्च क्षमताको कम्प्युटिङ पूर्वाधारतर्फ क्रमश: सर्दै गएको संकेत गरेको छ ।
आईसीटी समाचार