काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै अग्रणी एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई पुन: नेतृत्वमा फर्काउन कम्पनीको सञ्चालक समितिसँग प्रत्यक्ष हस्तक्षेप गरेको खुलासा भएको छ ।
हुआङको बहिर्गमनले अमेरिकी सेयर बजार र प्रविधि क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्ने तथा कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी प्रतिस्पर्धामा चीनलाई फाइदा पुग्न सक्ने आकलनपछि ट्रम्पले उनलाई पुनर्बहाली गराउन पहल गरेको बताइएको छ ।
हुआङले नोभेम्बर १२ मा एनभिडियाको नेतृत्व छाडेका थिए । उनीमाथि वैवाहिक सम्बन्धबाहिरको सम्बन्ध रहेको आरोप सार्वजनिक भएपछि कम्पनीको सञ्चालक समितिले उनलाई पदबाट हटाएको थियो ।
विशेष गरी सिंगापुरस्थित क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिड इन्टरनेसनलकी कार्यकारी एलिस हुआङसँगको कथित सम्बन्धले थप विवाद निम्त्याएको थियो । अमेरिकी अधिकारीहरूले एलिसको चिनियाँ गुप्तचर निकायसँग सम्भावित सम्बन्धबारे आशंका व्यक्त गरेका थिए । यद्यपि चीनले आफूविरुद्ध लागेका यस्ता आरोप अस्वीकार गर्दै आएको छ ।
हुआङको बहिर्गमनपछि एनभिडियाको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको थियो । यसले अमेरिकी प्रविधि उद्योगसँगै समग्र सेयर बजारमा समेत दबाब सिर्जना गरेको थियो । एआईलाई अमेरिकाको आर्थिक तथा रणनीतिक शक्तिको प्रमुख आधार बनाउँदै आएका ट्रम्पका लागि एनभिडियाको नेतृत्वमा आएको परिवर्तन चिन्ताको विषय बनेको थियो । विश्वव्यापी एआई प्रतिस्पर्धामा अग्रणी रहेको कम्पनीको नेतृत्व गुमाउँदा अमेरिकाको प्राविधिक वर्चस्व कमजोर हुन सक्ने उनको आकलन थियो ।
ट्रम्पले सोमबार सीएनबीसीसँगको अन्तर्वार्तामा एनभिडियाको सञ्चालक समितिसँग प्रत्यक्ष कुराकानी गरेर हुआङलाई पुन: नेतृत्वमा फर्काउन सहमत गराएको बताएका छन् । सञ्चालक समितिलाई आफ्नो प्रस्तावमा सहमत गराएको प्रसंगमा उनले भने, ‘मैले उनीहरूसँग कुरा गरेँ र सहमत गराएँ ।’
हुआङको पुनर्बहालीका लागि अमेरिकी सरकारका अन्य उच्च अधिकारीसमेत सक्रिय भएका थिए । उपराष्ट्रपति जेडी भान्स, वाणिज्यमन्त्री हावर्ड लटनिक र अर्थमन्त्री स्कट बेसेन्टले यस प्रक्रियामा भूमिका खेलेका थिए । विशेष गरी भान्सले सप्ताहन्तमा एनभिडियाको सञ्चालक समितिसँग छलफल गर्दै हुआङलाई पुन: जिम्मेवारीमा फर्काउन आग्रह गरेका थिए ।
यसअघि सञ्चालक समितिले हुआङलाई पुनर्बहाली गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको थियो । तर, अमेरिकी सरकारका उच्च अधिकारीहरूको पहल र राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम नरहेको आश्वासनपछि समितिले आफ्नो अडान परिवर्तन गरेको बताइएको छ ।
हुआङ पुन: नेतृत्वमा फर्किएसँगै सोमबार एनभिडियाको सेयर मूल्य करिब ३० प्रतिशतले बढेको थियो । यससँगै कम्पनीको बजार पुँजीकरण एकै दिनमा करिब ९५२ अर्ब डलरले वृद्धि भएको दाबी गरिएको छ । एसएन्डपी ५०० सूचकांकसमेत ४.७ प्रतिशतले उकालो लागेको थियो । सेयर बजारमा आएको गिरावट र त्यसले अमेरिकी अर्थतन्त्रमा पार्न सक्ने प्रभावलाई ट्रम्पले हुआङको पुनर्बहालीका लागि हस्तक्षेप गर्नुको प्रमुख कारणका रूपमा प्रस्तुत गरेका छन् ।
यस प्रकरणमा ट्रम्पको व्यक्तिगत आर्थिक स्वार्थबारे पनि प्रश्न उठेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार सन् २०२५ को अन्त्यसम्म ट्रम्पसँग एनभिडियाको १ करोड २५ लाखदेखि ५ करोड ८० लाख डलरसम्मको सेयर लगानी रहेको थियो । यद्यपि ह्वाइट हाउसले उनको लगानी तेस्रो पक्षीय वित्तीय संस्थामार्फत स्वतन्त्र रूपमा व्यवस्थापन हुने र ट्रम्पले त्यसको खरिदबिक्रीमा प्रत्यक्ष प्रभाव पार्न नसक्ने दाबी गरेको छ ।
हुआङको पुनर्बहालीले अमेरिकी राजनीतिमा समेत विवाद निम्त्याएको छ । रिपब्लिकन र डेमोक्रेटिक दुवै दलका सांसदहरूले राष्ट्रिय सुरक्षा तथा अमेरिकी प्रविधि चीनसम्म पुग्न सक्ने सम्भावनाबारे चिन्ता व्यक्त गरेका छन् । उनीहरूले एनभिडिया र मेगास्पिडबीचको सम्बन्ध तथा प्रविधि हस्तान्तरणको सम्भावनाबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेका छन् ।
यसैबीच, अमेरिकी सिनेटको बैंकिङ समितिले डिसेम्बर ३ मा हुआङलाई बयानका लागि बोलाएको छ । त्यसअघि डिसेम्बर १ मा अमेरिकी प्रतिनिधिसभाका तीनवटा समितिसमक्ष उनले बन्द कोठाभित्र बयान दिने कार्यक्रम रहेको छ । अमेरिकी वाणिज्य मन्त्रालयले समेत मेगास्पिडलाई कालोसूचीमा राख्ने तयारी गरिरहेको बताइएको छ ।
ट्रम्पले भने हुआङलाई पुन: नेतृत्वमा फर्काउने निर्णय कम्पनीको हितमा मात्र नभई अमेरिकी अर्थतन्त्र र एआई क्षेत्रमा देशको अग्रता कायम राख्नसमेत आवश्यक रहेको तर्क गरेका छन् । हुआङसँग रहेको विशिष्ट प्राविधिक ज्ञान र अनुभवका कारण उनलाई चीनले आफ्नो पक्षमा पार्न सक्ने सम्भावनालाई समेत आफूले विचार गरेको ट्रम्पको भनाइ छ ।
आईसीटी समाचार