काठमाडौं । बाढी, पहिरो, भूकम्पलगायत विपद्का बेला जोखिममा रहेका नागरिकलाई तत्काल सूचना पुर्याउने उद्देश्यले नेपालमा पहिलोपटक ‘सेल ब्रोडकास्ट’ (Cell Broadcast) प्रविधिको परीक्षण गरिँदै छ ।
गृह मन्त्रालयको विशेष पहल तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा विकसित गरिएको यस प्रविधिमार्फत निश्चित जोखिम क्षेत्रमा रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना तथा चेतावनी पठाउन सकिनेछ ।
यस प्रणालीको प्रयोगबाट विपद् प्रभावित क्षेत्रमा रहेका नागरिकलाई मोबाइल नेटवर्कमार्फत तत्काल सूचना पुर्याउन सकिने अपेक्षा गरिएको छ । विशेष गरी बाढी, पहिरो, भूकम्प तथा अन्य प्राकृतिक विपद्का समयमा सम्भावित जोखिमबारे समयमै जानकारी गराएर मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा यसले सहयोग पुर्याउनेछ ।
सेल ब्रोडकास्ट प्रविधि विश्वका विभिन्न देशमा आपत्कालीन सूचना प्रणालीका रूपमा प्रयोग हुँदै आएको छ । यस प्रविधिमा मोबाइल नम्बरको सूची आवश्यक नपर्ने र निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल फोनमा एकैपटक सन्देश पठाउन सकिने विशेषता हुन्छ ।
सम्बन्धित निकायका अनुसार आज गरिने परीक्षण प्रारम्भिक चरणको हो । परीक्षणबाट प्राप्त नतिजाका आधारमा प्रणालीको प्रभावकारिता मूल्यांकन गरी थप व्यापक परीक्षण गरिनेछ । त्यसपछि आवश्यक तयारी पूरा गरेर यसलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने योजना छ ।
परीक्षणका क्रममा मोबाइल फोनमा आपत्कालीन चेतावनी वा सन्देश प्राप्त हुन सक्ने भएकाले त्यस्तो सन्देश देखिएमा नआत्तिन र त्यसलाई परीक्षणको उद्देश्यले पठाइएको सन्देशका रूपमा लिन सम्बन्धित निकायले आग्रह गरेका छन् ।
यो प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि विपद्को जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सचेत गराउन र उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार