काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
दुई देशबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती कर्मचारीको क्षमता विकास, स्वास्थ्य, परम्परागत चिकित्सा, दिगो सहरी विकास र कृषिलगायतका विषय समेटिएका आठवटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।
नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सम्पन्न प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्तापछि दुवै पक्षले उक्त समझदारीपत्र आदानप्रदान गरेका हुन् ।
समझदारी
१. भारतको गुजरातस्थित गान्धीनगरको राष्ट्रिय न्यायिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्र ।
२. भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच समझदारीपत्र ।
३. भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको सुशासनसम्बन्धी राष्ट्रिय केन्द्र र नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी समझदारीपत्र ।
४. आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र ।
५. दक्षिण एसिया उपग्रहको उपयोगका लागि भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने सम्बन्धमा भारत सरकारको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन र नेपाल सरकारको सञ्चार तथा सूचना मन्त्रालयबीच समझदारीपत्र ।
६. दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्ने सम्बन्धमा भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र ।
७. स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपाल सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबीच समझदारीपत्र ।
८. पशुपालन तथा मत्स्य विकासको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्र ।
आईसीटी समाचार