काठमाडौं । सरकार डिजिटल नेपाल निर्माणको अभियानमा रहेको दाबी गर्छ । सरकारी सेवालाई प्रविधिमैत्री बनाउने र नागरिकलाई घरबाटै सेवा उपलब्ध गराउने लक्ष्यसहित विभिन्न डिजिटल प्रणाली सञ्चालनमा छन् । तर, सरकारको महत्त्वपूर्ण डिजिटल प्लेटफर्मका रूपमा रहेको नागरिक एप (Nagarik App) भने लामो समयदेखि समस्याग्रस्त रहेको सेवाग्राहीले गुनासो गरेका छन् ।
नागरिक एप नचल्ने, नागरिकता विवरण लिंक नहुने, लगइन तथा ओटीपी (OTP) प्राप्त गर्न समस्या हुनेलगायतका समस्याले प्रयोगकर्ता हैरान भएका छन् । एक सेवाग्राहीका अनुसार उनको एपमा देखिएको समस्या झन्डै दुई महिनादेखि समाधान हुन सकेको छैन । यो समस्या आफूमा मात्र सीमित नभई धेरै नागरिकले भोगिरहेको उनको दाबी छ ।
नागरिक एपबाट नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी र राष्ट्रिय परिचयपत्रजस्ता महत्त्वपूर्ण विवरण तथा सेवामा पहुँच पाउन सकिन्छ । विशेष गरी सवारी चालक अनुमतिपत्र नवीकरण गरेपछि स्मार्ट कार्ड हात पर्न लामो समय लाग्ने अवस्थामा एपमा उपलब्ध डिजिटल लाइसेन्स नागरिकका लागि उपयोगी हुने गरेको छ ।
तर, नागरिकता लिंक नभएपछि एपका धेरै सेवा प्रयोग गर्न नसकिएको गुनासो छ । त्यस्तै, राहदानी र राष्ट्रिय परिचयपत्र लिंक तथा प्रमाणीकरणमा पनि समस्या देखिएको प्रयोगकर्ताको भनाइ छ । लगइन र ओटीपीसम्बन्धी समस्याले एप प्रयोग गर्न थप कठिनाइ भइरहेको उनीहरूको गुनासो छ ।
लामो समयसम्म समस्या कायम रहँदा पनि सम्बन्धित निकायले यसको कारण र समाधानको समयबारे स्पष्ट जानकारी नदिएको सेवाग्राहीको आरोप छ । एपमा समस्या देखिएपछि ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्दा फोन नउठ्ने र जिल्ला प्रशासन कार्यालयमा बुझ्दा आफ्नो कार्यक्षेत्रभित्र नपर्ने जवाफ पाउने गरेको उनीहरूको भनाइ छ ।
यसले नागरिक एपको प्राविधिक व्यवस्थापन, मर्मतसम्भार र सेवाग्राहीको गुनासो सम्बोधन गर्ने जिम्मेवारी कुन निकायको हो भन्ने प्रश्नसमेत उठाएको छ । सरकारले डिजिटल सेवाको विस्तारमार्फत सरकारी कार्यालयमा हुने भीड घटाउने र नागरिकलाई सहज सेवा दिने लक्ष्य राखेको छ ।
तर, सरकारी सेवा प्रवाहकै महत्त्वपूर्ण माध्यम मानिएको एप लामो समयसम्म प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सरकारको डिजिटल सेवा अभियानमाथि नै प्रश्न उठ्न थालेको छ । यसबाट विदेशमा रहेका नेपाली नागरिकसमेत प्रभावित हुन सक्ने देखिन्छ । सामान्य सरकारी कामका लागि पनि नेपालस्थित कार्यालयमा उपस्थित हुनुपर्ने अवस्था आउँदा उनीहरूलाई थप कठिनाइ हुने गरेको छ ।
सम्बन्धित सेवाग्राहीले गृहमन्त्री तथा गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै नागरिक एपमा देखिएका प्राविधिक समस्या तत्काल समाधान गर्न माग गरेका छन् । साथै, समस्या समाधान नहुँदासम्म आधिकारिक सूचना जारी गर्न, ग्राहक सेवा प्रभावकारी बनाउन र एपको नियमित प्राविधिक निगरानी गर्न उनीहरूले आग्रह गरेका छन् ।
डिजिटल नेपाल बनाउने लक्ष्य केवल नारा र घोषणामा सीमित नभई नागरिकले सहज रूपमा सेवा पाउने अवस्थामा देखिनुपर्ने उनीहरूको भनाइ छ ।
आईसीटी समाचार