काठमाडौं । कम्पनीहरूले आर्थिक वर्ष २०८२/०८३ सम्मको विवरण पेस गर्न तथा कानुनअनुसार लाग्ने कर, शुल्क र दस्तुर दाखिला गर्न पाउने समय २०८३ साल पुस मसान्तसम्म थप गरिएको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयले अर्थ मन्त्रालयको निर्णयअनुसार उक्त समयसीमा थपिएको जानकारी दिएको हो । कार्यालयले हालै जारी गरेको सूचनामा नेपाल राजपत्रको खण्ड ७६, संख्या ४५, भाग ५ मा २०८३ कात्तिक १६ गते प्रकाशित व्यवस्थाबमोजिम म्याद थप गरिएको उल्लेख छ ।
अर्थ मन्त्रालयले २०८३ कात्तिक ९ गते गरेको निर्णयअनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीलाई आर्थिक ऐन, २०८३ को दफा ४८ अन्तर्गत सुविधा उपलब्ध गराइएको हो ।
यस व्यवस्थाबाट आर्थिक वर्ष २०८२/०८३ सम्मको कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा जरिवाना दाखिला नगरेका कम्पनीले तोकिएको अवधिभित्र आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन् ।
कारोबारलाई निरन्तरता दिन चाहने र कम्पनी दर्ता खारेज गर्न इच्छुक दुवै प्रकृतिका कम्पनीले यस अवधिमा आवश्यक विवरण पेस गर्नुपर्ने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अन्तिम समयमा ठूलो संख्यामा कम्पनीले विवरण तथा फाइल पेस गर्दा अनलाइन प्रणालीमा चाप बढ्ने र सेवा प्रवाह प्रभावित हुन सक्ने जोखिम छ । त्यसैले पुस मसान्तसम्मको समयसीमा भए पनि अन्तिम समय नपर्खी आवश्यक प्रक्रिया अघि बढाउन सबै सम्बन्धित कम्पनीलाई आग्रह गरिएको छ ।
कार्यालयले कम्पनीहरूलाई सीएएमआईएस (CAMIS) अनलाइन प्रणालीमार्फत विवरण पेस गरी कानुनबमोजिम कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहासम्बन्धी सुविधाको लाभ लिन अनुरोध गरेको छ ।
आईसीटी समाचार