काठमाडौं । अमेरिकामा वित्तीय प्रविधि क्षेत्रमा कार्यरत प्रवेश रिजालले कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र प्रयोगमा पुर्याएको योगदानका लागि ‘भिजन अवार्ड २०२६’ प्राप्त गरेका छन् । अमेरिकाको वित्तीय प्रविधि कम्पनी क्रस रिभरका कार्यकारी उपाध्यक्ष तथा प्रमुख डेटा एवं एआई अधिकृत रिजाललाई न्युयोर्कमा आयोजित समारोहमा सम्मान गरिएको हो ।
गत शुक्रबार सम्पन्न कार्यक्रममा ‘द सीआईओ रुम’ले रिजाललाई उक्त अवार्ड प्रदान गरेको हो । प्रविधिको नवीन प्रयोग, डिजिटल रूपान्तरण र संस्थागत व्यवसायमा प्रभावकारी योगदान पुर्याउने क्षेत्रका नेतृत्वकर्तालाई यो सम्मान प्रदान गरिँदै आएको छ ।
वित्तीय सेवामा ‘एजेन्टिक एआई’को प्रयोग विस्तार गर्न रिजालले खेलेको भूमिकालाई अवार्ड प्रदान गर्नुको प्रमुख आधार बनाइएको संस्थाले जनाएको छ । अनुपालन, पुँजी बजार तथा सफ्टवेयर विकासजस्ता जटिल वित्तीय क्षेत्रमा एआईको प्रयोगमार्फत कामलाई सरल र प्रभावकारी बनाउन उनले योगदान पुर्याएको संस्थाको भनाइ छ ।
एआई प्रणालीको विकास र प्रयोगमा मानवीय निगरानी तथा जवाफदेहितालाई प्राथमिकता दिने उनको दृष्टिकोणलाई पनि सम्मान गरिएको छ । क्रस रिभरमा रिजालले डेटा प्लेटफर्म, एआई, विश्वव्यापी बैंकिङ तथा अनचेन फाइनान्ससम्बन्धी रणनीतिक जिम्मेवारी सम्हालिरहेका छन् । यसअघि उनले सोही कम्पनीको ‘क्वान्टिटेटिभ स्ट्राटेजीज’ विभागको नेतृत्व गरेका थिए ।
अमेरिकी वित्तीय क्षेत्रका विभिन्न प्रतिष्ठित संस्थामा काम गरेको अनुभव उनीसँग छ । उनले सिटीग्रुपको ग्लोबल मोडलिङ विभागमा वरिष्ठ उपाध्यक्षका रूपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए ।
वित्तीय इन्जिनियरिङमा न्युयोर्क युनिभर्सिटीबाट स्नातकोत्तर गरेका रिजाल हाल फ्रान्सस्थित ईडीएचईसी बिजनेस स्कुलमा फाइनान्स विषयमा विद्यावारिधि गरिरहेका छन् । विराटनगरमा जन्मिएका उनी व्यावसायिक क्षेत्रसँगै विभिन्न परोपकारी गतिविधिमा पनि संलग्न छन् ।
यसअघि सन् २०२५ जुलाईमा रिजाल अमेरिकाका १०० प्रभावशाली एआई नेतृत्वकर्ताको सूची ‘एआई १००’ मा समेत समावेश भएका थिए ।
आईसीटी समाचार