कीवर्डहरू -

हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउनु सरकारको उद्देश्य रहेको छः मन्त्री शर्मा

हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउनु सरकारको उद्देश्य रहेको छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हुलाक सेवालाई आधुनिक र प्रतिष्पर्धी बनाउनु सरकारको उद्देश्य रहेको बताएकी छन् । विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिदै मन्त्री शर्माले परम्परागतरूपमा अब हुलाक सेवा प्रभावकारी बनाउन नसकिने र सेवा प्रवाहलाई आधुनिक र प्रतिष्पर्धी बनाउनु पर्ने बताएकी हुन् ।

हुलाक सेवाको विश्वव्यापी सञ्जालमा नेपाललाई थप सक्रिय सदस्य राष्ट्रको रुपमा उभ्याउन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सहकार्य बढाउने प्रतिबद्धता उनले व्यक्त गरेकी छन् ।
सञ्चार तथा सूचना प्रविधिमा भएको तीव्र विकाससँगै हुलाक सेवाले गर्ने परम्परागत कामहरुमा व्यापक कटौती भएको छ । सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पुर्‍याउने गरी यसको सुरूवात गरिएको थियो ।

विद्यमान अवस्थामा सूचना प्रविधिसँग जोड्दै संघीय शासन प्रणाली बमोजिम हुलाक सेवाको पुनःसंरचना गर्न आवश्यक रहेको समेत उनको भनाइ छ । चालु आर्थिक वर्षबाट नै यसको सुरुवात गरी ‘एक पालिका एक हुलाक’को अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको छ ।

उनका अनुसार हुलाक सेवा प्रवाहलाई आधुनिक र प्रतिष्पर्धी बनाउनु सरकारको उद्देश्य छ । ‘मुलुकभर आफ्नो सेवा प्रवाहको सञ्जाल रहे पनि परम्परागतरुपमा अब हुलाक सेवा प्रभावकारी बनाउन सकिने अवस्था छैन,’ उनले शुभकामना सन्देशमा भनेकी छन्, ‘त्यसका लागि आवश्यक संगठनात्मक पुनर्संरचनासहित कार्यरत कर्मचारीको क्षमता विकास गर्नु उत्तिकै आवश्यक रहेको छ ।’

सरोकारवालाबिच समन्वय गरी हुलाक सेवाको प्रविधि र भौतिक पूर्वाधार सुधार सहित सेवामा व्यापक सुधार ल्याउन पहल भइरहेको समेत उनले जानकारी दिएकी छन् ।