काठमाडौं । पोखरा विश्वविद्यालयले आफ्नो २९ औँ दीक्षान्त समारोहमा सहभागी हुन इच्छुक विद्यार्थीका लागि अनलाइन आवेदन खुलाएको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विद्यार्थीले मंसिर ५ देखि पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तह पूरा गरी ट्रान्सक्रिप्ट प्राप्त गरिसकेका विद्यार्थी सहभागी हुन योग्य हुनेछन् । तर, यसका लागि २०८२ माघ २४ गते (७ फेब्रुअरी २०२६) पछि ट्रान्सक्रिप्ट जारी भएको हुनुपर्ने विश्वविद्यालयले स्पष्ट पारेको छ । साथै, सहभागी हुन चाहने विद्यार्थीले २०८३ मंसिर २९ गते (१५ डिसेम्बर २०२६) भित्र ट्रान्सक्रिप्ट प्राप्त गरिसकेको हुनुपर्नेछ ।
आवेदन दिन विद्यार्थीले विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट exam.pu.edu.np मा गएर अनलाइन फाराम भर्नुपर्नेछ । आवेदन प्रक्रियाका क्रममा १.१ × १.४ इन्च आकारको फोटो, नागरिकताको प्रमाणपत्र र ट्रान्सक्रिप्टको रंगीन स्क्यान प्रतिलिपि अनिवार्य रूपमा अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ ।
विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी हुन कुल ७ हजार ५०० रुपैयाँ बुझाउनुपर्ने जनाएको छ । यसमध्ये दीक्षान्त प्रमाणपत्र शुल्क ५ हजार रुपैयाँ र दीक्षान्त पोसाकका लागि २ हजार ५०० रुपैयाँ धरौटी तोकिएको छ । उक्त रकम अनलाइन आवेदन पोर्टलमार्फत भुक्तानी गर्न सकिनेछ ।
पोसाक धरौटीबापत बुझाइएको रकममध्ये ३०० रुपैयाँ मर्मतसम्भार शुल्क कट्टा गरी बाँकी २ हजार २०० रुपैयाँ विद्यार्थीलाई फिर्ता गरिनेछ । धरौटी रकम फिर्ता पाउन विद्यार्थीले आफ्नै नाममा रहेको बैंक खाताको विवरण उपलब्ध गराउनुपर्नेछ ।
फाराम भर्दा विद्यार्थीले नेपाली र अंग्रेजी दुवै भाषामा आफ्नो नाम नागरिकतामा उल्लेख भएअनुसार नै प्रविष्ट गर्नुपर्नेछ । आवेदनमा दिइएको विवरणकै आधारमा दीक्षान्त प्रमाणपत्र तयार गरिने भएकाले नाम तथा अन्य व्यक्तिगत विवरणमा त्रुटि भए त्यसको जिम्मेवारी सम्बन्धित विद्यार्थी स्वयंले लिनुपर्ने विश्वविद्यालयले जनाएको छ ।
दीक्षान्त समारोह आयोजना हुने मिति, समय र स्थानका साथै दीक्षान्त पोसाक वितरण तथा फिर्तासम्बन्धी विस्तृत जानकारी भने विश्वविद्यालयले पछि आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्नेछ ।
आईसीटी समाचार