कीवर्डहरू -

एआईमा अमेरिका–चीनबीचको प्रतिस्पर्धा : अगाडि को ?

एआईमा अमेरिका–चीनबीचको प्रतिस्पर्धा : अगाडि को ?

काठमाडौं । ‘जसले एआई जित्छ, उसले जित्छ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एआईसम्बन्धी महत्त्वाकांक्षा स्पष्ट रूपमा व्यक्त गरेका छन् । साथै, अमेरिकाको मुख्य प्रतिद्वन्द्वी चीन रहेको विषयमा पनि उनी प्रस्ट छन् ।

उनका चिनियाँ समकक्षी सी जिनपिङले यस विषयमा त्यति स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् । तर, चीनले पनि एआईको विश्वव्यापी प्रतिस्पर्धालाई त्यही रूपमा लिएको देखिन्छ ।

‘चीनले यसलाई एउटा दौडका रूपमा हेर्छ । उनीहरू चीन एआईमा अग्रणी शक्ति बन्नुपर्छ भन्ने ठान्छन् । उनीहरू एआईलाई आफ्नो शक्ति बढाउने माध्यमका रूपमा हेर्छन्,’ मर्केटर इन्स्टिच्युट फर चाइना स्टडिजकी रेबेका आर्सेसाटी भन्छिन् ।

यसको प्रमाण बयानबाजीमा मात्र सीमित छैन । एक दशकभन्दा लामो समयदेखि एआई चीनको प्राविधिक महत्त्वाकांक्षाको प्रमुख आधार बन्दै आएको छ, सीले सार्वजनिक रूपमा यसलाई कति प्राथमिकता दिएका छन् भन्ने विषय अलग भए पनि ।

ट्रम्पका लागि एआईमा चीनलाई पछि पार्नु मानवका लागि प्रविधिले निम्त्याउन सक्ने जोखिमभन्दा महत्त्वपूर्ण देखिन्छ । उनले एआईका सम्भावित जोखिमसम्बन्धी कतिपय चिन्तालाई ‘छल’का रूपमा समेत वर्णन गरेका छन् ।

यता, चीनको विदेश मन्त्रालयले ‘धम्कीका कथानक’ र टकरावले विश्वव्यापी एआई शासनमा अवरोध पुर्‍याउने चेतावनी दिँदै एआईबाट सबैलाई लाभ हुने सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्यको आह्वान गरेको छ ।

यसको अर्थ बिहीबार दुई राष्ट्रपतिबीच हुने भेटवार्तामा एआईसँग सम्बन्धित महत्त्वाकांक्षाबाहेक अन्य विषय पनि महत्त्वपूर्ण हुनेछन् । उनीहरूले के भन्छन् र के निर्णय गर्छन् भन्ने विषय विश्वका लागि समेत अर्थपूर्ण हुनेछ ।

के अमेरिका अग्रस्थानमा छ ?
एआईको क्षेत्रमा अमेरिका र चीन विश्वका दुई अग्रणी राष्ट्र हुन् भन्नेमा धेरै हदसम्म सहमति छ । तर, कुन देश अगाडि छ भन्ने निष्कर्ष सफलतालाई कसरी मापन गरिन्छ भन्नेमा निर्भर गर्छ ।

अत्याधुनिक एआई मोडल अर्थात् ‘फ्रन्टियर मोडल’को विकासमा अमेरिकी कम्पनीहरू अहिले अग्रस्थानमा देखिन्छन् । अधिकांश प्रमुख बेन्चमार्कमा उत्कृष्ट प्रदर्शन गर्ने प्रणाली एन्थ्रोपिक, गुगल र ओपनएआईजस्ता अमेरिकी कम्पनीले विकास गरेका छन् ।

स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार फेब्रुअरी २०२५ मा चिनियाँ कम्पनी डीपसिकले विकास गरेको एआई मोडलले केही समयका लागि शीर्ष अमेरिकी मोडलसँग बराबरी गरेको थियो ।

मार्च २०२६ सम्म आइपुग्दा भने एन्थ्रोपिकको उत्कृष्ट मोडल अमेरिकी अग्रता कायम राख्दै चिनियाँ प्रतिस्पर्धीभन्दा २.७ प्रतिशतले अगाडि रहेको थियो । अमेरिकाको यो अग्रताको एउटा प्रमुख कारण एआई कम्पनीहरूमा भइरहेको ठूलो लगानी हो ।

नयाँ एआई मोडललाई तालिम दिन आवश्यक पूर्वाधार निर्माणमा अत्याधुनिक एआई प्रयोगशालाहरूले ठूलो रकम खर्च गरिरहेका छन् । अर्कोतर्फ, चीनको एआई क्षमतालाई सीमित गर्ने एउटा प्रमुख कारक अमेरिकी सरकारका निर्यात प्रतिबन्ध पनि हुन् ।

यी प्रतिबन्धका कारण अमेरिकी कम्पनीहरूले चिनियाँ कम्पनीलाई अत्याधुनिक माइक्रोचिप बिक्री गर्न पाउँदैनन्, जुन उन्नत एआई मोडल विकासका लागि महत्त्वपूर्ण मानिन्छन् ।

चीनको बलियो पक्ष
चिपसम्बन्धी प्रतिबन्धका बाबजुद अमेरिका र चीन दुवैमा लगभग हरेक महिना नयाँ एआई मोडल सार्वजनिक भइरहेका छन् । एआईको दौड ‘जित्नु’ भन्नाले वास्तवमा के जनाउँछ र यसको कुनै निश्चित अन्तिम बिन्दु छ कि छैन भन्ने अझै स्पष्ट छैन ।

धेरै कम्पनीहरू कृत्रिम सामान्य बुद्धिमत्ता (एजीआई) विकास गर्ने दौडमा छन् । एजीआई एआईको सैद्धान्तिक रूप हो, जसले मानवस्तर वा त्यसभन्दा माथिको क्षमतामा विभिन्न प्रकारका काम सिक्न, तर्क गर्न र सम्पन्न गर्न सक्ने अपेक्षा गरिन्छ ।

चिनियाँ एआई उद्योगले अहिलेसम्म अत्याधुनिक फ्रन्टियर मोडल निर्माणमा मात्र केन्द्रित हुनुको सट्टा ‘ओपन–वेट मोडल’ सार्वजनिक गर्न बढी जोड दिएको छ । यस्ता मोडल खुला स्रोत सफ्टवेयरजस्तै डाउनलोड गरेर आवश्यकता अनुसार परिमार्जन गर्न सकिन्छ ।

यो दृष्टिकोण धेरै अमेरिकी कम्पनीले अपनाएको स्वामित्वमा आधारित ‘प्रोप्राइटरी मोडल’भन्दा फरक छ । अमेरिकी कम्पनीका यस्ता मोडल प्राय: सशुल्क सदस्यता वा कम्पनीका आफ्नै प्लेटफर्ममार्फत प्रयोग गर्न सकिन्छ ।

चिनियाँ ओपन–वेट मोडलहरू तीव्र गतिमा सार्वजनिक भइरहेका छन् । विभिन्न बेन्चमार्कका आधारमा चीनका उत्कृष्ट मोडलहरू अमेरिकी प्रतिस्पर्धीभन्दा केही महिनामात्र पछाडि रहेको देखिन्छ ।

मूनसट एआईको ‘किमी के३’ जस्ता मोडल चीनमा मात्र नभई विदेशमा समेत लोकप्रिय भएका छन् । यस्ता मोडलले फ्रन्टियर मोडलको नजिकको प्रदर्शन दिनुका साथै प्रयोगकर्ताले स्वतन्त्र रूपमा डाउनलोड गरी आवश्यकता अनुसार परिमार्जन गर्न सक्ने सुविधा दिन्छन् । बीबीसीबाट भावानुवाद