काठमाडौं । स्मार्टफोन हातबाट खस्नेबित्तिकै स्क्रिन फुट्ने वा चर्किने समस्या धेरैले भोगेकै हुन्छन् । कतिपयले स्क्रिन सामान्य रूपमा चलिरहेको भन्दै मर्मत नगरी लामो समयसम्म त्यस्तै फोन प्रयोग गरिरहेका हुन्छन् । तर स्क्रिन फुटेको स्मार्टफोन निरन्तर प्रयोग गर्नु तपाईंको स्वास्थ्य र फोन दुवैका लागि जोखिमपूर्ण हुन सक्छ ।
एक समय थियो, जतिबेला नोकियाका साधारण फिचर फोन निकै बलिया र टिकाउ मानिन्थे । फोन भुइँमा खस्दा पनि सामान्यतया ठूलो क्षति हुँदैनथ्यो । धुलोमाटो लागे सफा गरेर पुन: प्रयोग गर्न सकिन्थ्यो ।
तर अहिले प्रयोगमा रहेका अधिकांश स्मार्टफोन तुलनात्मक रूपमा संवेदनशील छन् । विशेष गरी टचस्क्रिन फुटेपछि फोनको कार्यक्षमता र सुरक्षामा समेत असर पर्न सक्छ । स्क्रिन फुटेको फोन प्रयोग गर्दा देखिन सक्ने प्रमुख जोखिम यस्ता छन्:
१. टच स्क्रिनले काम गर्न छाड्न सक्छ
स्क्रिन चर्किएपछि फोनको टच प्रणालीमा समस्या आउन सक्छ । सुरुमा सामान्य देखिए पनि समयसँगै टचले प्रतिक्रिया दिन ढिलाइ गर्ने, आफूले थिचेकोभन्दा फरक विकल्प खुल्ने वा स्क्रिनको केही भागले काम गर्न छाड्ने समस्या देखिन सक्छ । यसले फोन चलाउन असहज बनाउनुका साथै महत्त्वपूर्ण काममा समेत बाधा पुर्याउन सक्छ ।
२. फोनभित्र पानी र धुलो पस्न सक्छ
स्मार्टफोनको स्क्रिनले भित्री भागलाई बाहिरी वातावरणबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ । स्क्रिन फुटेपछि बनेको चिराबाट पानी, चिस्यान र धुलो फोनभित्र पस्न सक्छन् । यसले आन्तरिक पार्टपुर्जामा क्षति पुर्याउन, सर्ट सर्किट गराउन तथा फोन पूर्ण रूपमा बिगार्न सक्छ । ब्याट्री वा विद्युतीय प्रणालीमा क्षति पुगेमा अत्यधिक तात्ने वा आगलागीको जोखिम समेत हुन सक्छ ।
३. औँलामा चोट लाग्न सक्छ
स्क्रिनको सिसा चकनाचुर भएको अवस्थामा फोन चलाउँदा औँलामा चोट लाग्ने सम्भावना रहन्छ । सिसाका साना टुक्राले औँला काट्न वा छालाभित्र गाडिन सक्छन् । विशेष गरी स्क्रिनको किनारामा सिसा निस्किएको छ भने फोन प्रयोग गर्दा थप सावधानी अपनाउनुपर्छ ।
४. रेडियो फ्रिक्वेन्सी विकिरणबारे भ्रम नराख्नुहोस्
मोबाइल फोनले सञ्चारका लागि रेडियो फ्रिक्वेन्सी (आरएफ) तरङ्ग प्रयोग गर्छन् । इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी) ले रेडियो फ्रिक्वेन्सी विद्युत् चुम्बकीय क्षेत्रलाई सम्भावित रूपमा क्यान्सरको जोखिमसँग सम्बन्धित समूहमा वर्गीकरण गरेको छ । अमेरिकन क्यान्सर सोसाइटीले पनि यस विषयमा थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको छ ।
तर स्मार्टफोनको स्क्रिन फुट्दैमा त्यसबाट निस्कने विकिरणको मात्रा बढ्छ वा स्वास्थ्य जोखिम थपिन्छ भन्ने प्रमाण छैन । त्यसैले फुटेको स्क्रिनलाई विकिरण बढ्ने कारणका रूपमा बुझ्नु सही हुँदैन ।
५. आँखामा तनाव र असहजता हुन सक्छ
स्क्रिन फुटेको फोन प्रयोग गर्दा डिस्प्लेमा धर्सा देखिने, अक्षर स्पष्ट नहुने, रङ बिग्रिने वा उज्यालो असमान हुने समस्या आउन सक्छ । यस्तो अवस्थामा सामग्री पढ्न वा हेर्न कठिनाइ हुन सक्छ । स्क्रिनमा देखिने खराबीका कारण लामो समयसम्म हेर्दा आँखामा थकान, तनाव वा टाउको दुख्ने समस्या हुन सक्छ ।
के गर्ने त ?
स्मार्टफोनको स्क्रिन फुटेको छ भने मर्मत गर्न ढिलाइ नगर्नुहोस् । सिसाका टुक्रा निस्किएको छ भने फोन चलाउनबाट जोगिनुहोस् । पानी र धुलोबाट टाढा राख्नुहोस् तथा फोन असामान्य रूपमा तात्ने, ब्याट्री फुल्ने वा गन्ध आउने समस्या देखिएमा प्रयोग र चार्ज गर्न तत्काल बन्द गर्नुहोस् ।
सम्भव भएसम्म आधिकारिक वा दक्ष प्राविधिकबाट स्क्रिन परिवर्तन गराउनुहोस् । फोनमा रहेका महत्त्वपूर्ण फोटो, भिडियो र अन्य डेटा सुरक्षित राख्न पनि ध्यान दिनुहोस् । स्क्रिन फुटेपनि फोन चलिरहेको छ भन्दै त्यसलाई सामान्य ठान्नु उचित हुँदैन । समयमै मर्मत गर्दा थप क्षति र अनावश्यक खर्चबाट बच्न सकिन्छ ।
आईसीटी समाचार