कीवर्डहरू -

गुगलविरुद्ध मलेसियामा १४ करोड ६० लाख डलरको मुद्दा

गुगलविरुद्ध मलेसियामा १४ करोड ६० लाख डलरको मुद्दा

काठमाडौं । युट्युबमार्फत फैलिरहेका अनलाइन जुवा, ठगी तथा हानिकारक सामाग्री नियन्त्रण गर्न असफल भएको आरोपमा मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलर बराबरको मुद्दा दायर गरेको छ ।

मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोगले बुधबार गुगलले देशको कानुनी व्यवस्था र इजाजतपत्रका सर्त उल्लङ्घन गरेको आरोपमा दुईवटा छुट्टाछुट्टै मुद्दा अघि बढाएको जानकारी दिएको हो ।

आयोगका अनुसार मुद्दामध्ये एउटा युट्युबमा प्रसारित जुवा, अनलाइन ठगी तथा अन्य गैरकानुनी सामाग्री हटाउन प्रभावकारी कदम नचालेको विषयसँग सम्बन्धित छ । यस वर्ष जनवरी १ देखि अक्टोबर २८ सम्म आयोगले युट्युबमा रहेका आपत्तिजनक सामाग्रीबारे ७३ हजार ७०३ वटा उजुरी गरेको थियो । तीमध्ये अधिकांश उजुरी अनलाइन जुवासँग सम्बन्धित थिए ।

तर, उजुरीमाथि युट्युबको प्रतिक्रिया प्रभावकारी नभएको आयोगको दाबी छ । जुवासम्बन्धी उजुरीमध्ये चार हजार ९५० वटामा कुनै प्रतिक्रिया नै प्राप्त नभएको र ३५ वटा उजुरीमा सामाग्री हटाउन वा जवाफ दिन ९० दिनभन्दा बढी समय लागेको आयोगले जनाएको छ ।

त्यस्तै, एक हजार ४६८ उजुरीमा आवश्यक कारबाही गर्न ३० दिनभन्दा बढी समय लागेको थियो । यी तथ्याङ्कले युट्युबमा गैरकानुनी तथा हानिकारक सामाग्री नियन्त्रण गर्ने प्रक्रियामा गम्भीर कमजोरी रहेको आयोगको निष्कर्ष छ ।

यसैगरी, गुगलविरुद्धको अर्को मुद्दा एक मलेसियाली ब्लगरले युट्युबमा प्रकाशन गरेको कथित झुटो तथा मानहानिकारक सामाग्रीसँग सम्बन्धित छ । उक्त सामाग्रीबारे उजुरी परेपछि पनि युट्युबले नहटाएको आयोगको आरोप छ ।

रोचक पक्ष के छ भने गुगलले मलेसियामा आफ्नो लगानी विस्तार गर्ने ठूलो योजना सार्वजनिक गरेको केही सातामै यी मुद्दा दायर भएका हुन् । कम्पनीले सन् २०२४ मा घोषणा गरेको दुई अर्ब अमेरिकी डलरको लगानी योजनालाई विस्तार गर्दै आगामी दुई वर्षभित्र मलेसियामा १५ अर्ब अमेरिकी डलर लगानी गर्ने जनाएको थियो ।

उक्त लगानीबाट डेटा सेन्टर तथा अन्य डिजिटल पूर्वाधार निर्माण गर्ने गुगलको योजना छ । पछिल्लो समय मलेसिया दक्षिणपूर्वी एसियामा डेटा सेन्टर निर्माणको प्रमुख गन्तव्यका रूपमा विकसित भइरहेको छ ।

डेटा सेन्टरमा जडित सर्भरहरूले च्याटबोट, तस्बिर निर्माण प्रणाली तथा अन्य कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रशिक्षण र सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् । मलेसियाले यसअघि पनि टिकटकसहित प्रमुख सामाजिक सञ्जालमाथि आपत्तिजनक तथा गैरकानुनी सामाग्री नियन्त्रण गर्न नसकेको भन्दै प्रश्न उठाउँदै आएको थियो ।