बाइनान्स एक अनलाइन एक्सचेन्ज प्लेटफर्म हो, जहाँ प्रयोगकर्ताहरुले क्रिप्टोकरेन्सीको कारोबार गर्न सक्छन् । यसले चर्चित सयौँ क्रिप्टोकरेन्सीलाई सपोर्ट गर्ने गर्दछ । सहज तरिकाले बुझ्दा बाइनान्स डिजिटल मुद्रा स्टोर गर्ने एक क्रिप्टो वालेट हो ।
बाइनान्समार्फत प्रयोगकर्ताहरुले ब्याज पाउने वा क्रिप्टोकरेन्सी प्रयोग गरेर विभिन्न कारोबारहरु गर्न सक्छन् । बाइनान्सको आफ्नै ब्लकचेनमा आधारित टोकन पनि छ, जसलाई बिएनबी पनि भनिन्छ । केही देशमा सुरक्षाका लागि बाइनान्सलाई सिमित गरिएको छ ।
यसले क्रिप्टोसँग क्रिप्टो व्यवसाय गर्न दिने गर्दछ र प्रयोगकर्ताले बिटक्वाइन, इथेरियम, लाइटक्वाइन, डोजक्वाइन लगायत कुल ३६० बढी क्रिप्टोकरेन्सी, भर्चुअल टोकनमा कारोबार गर्न सक्छन् ।
बाइनान्सको इतिहास
बाइनान्स पहिलो पटक सन् २०१७ मा बनाइएको थियो । यो एक लोकप्रिय सफ्टवेयर इन्जिनियर, उद्यमी तथा लगानीकर्ता रहेको चेङपेङ्ग जाओले निर्माण गरेका हुन् ।
जाओले यसको कारोबार सन् २०१७ को जुलाईमा सुरुवात गरेका थिए र सुरुवात भएको ६ महिना भित्रमै बाइनान्स विश्वकै सबैभन्दा ठूलो क्रिप्टो एक्सचेन्ज हुन पुगेको थियो ।
बाइनान्सको लोकप्रियता बढ्नुको एक मुख्य कारण भनेको यसको एकदमै कम क्रिप्टोकरेन्सी कारोबार शुल्क हो । बाइनान्समा एकदमै उच्च तरलता हुने गर्दछ र बाइनान्सको आफ्नै क्रिप्टो बिएनबीमा भुक्तानी गरेमा प्रयोगकर्ताहरुले छुट समेत प्राप्त गर्ने गर्दछन् ।
उच्चस्तरीय सुरक्षा प्रदान गर्नुका साथै बाइनान्सले प्रति सेकेण्ड १.४ मिलियन अर्डर प्रोसेस गर्न सक्छ । यसले गर्दा प्रयोगकर्ताहरुले छिटो कारोबार गर्न सक्छन् । बाइनान्सले व्यापार, सूचीकरण, कोष सङ्कलन, डि लिस्टिङ र क्रिप्टोकरेन्सीको कारोबार गर्न दिन्छ । बाइनान्समा व्यवसाय गर्न केवाइसी भरेको हुनुपर्छ ।
बाइनान्समा विशेषगरी तीन किसिमको कारोबारहरु गर्न मिल्छ, जसमा लिमिट मार्केट, स्टप लिमिट र वान क्यान्सलस द अदर अर्डर समावेश छन् । लिमिट अर्डरमा प्रयोगकर्ताले राखेको मूल्यमा नै कारोबार हुने गर्दछ ।
मार्केट अर्डरमा बजारमा रहेको उच्चतम मूल्यमा कारोबार सञ्चालन हुने गर्दछ र वान क्यान्सलस द अदर अर्डरमा सञ्चालनमा रहेको कारोबारलाई रद्द गरिन्छ । बाइनान्सको कारोबारमा कुनै शुल्क नलागेता पनि निकासीको समयमा क्रिप्टाकरेन्सी र कारोबार रकमको अनुसार कारोबार शुल्क लाग्ने गर्दछ ।
बाइनान्स क्वाइन (बिएनबी) भनेको के हो ?
बाइनान्स क्वाइन प्लेटफर्म आन्तरिक टोकन हो । बाइनन्समा क्रिप्टो व्यवसायलाई झनै सहज बनाउनका लागि बाइनान्स क्वाइन सार्वजनिक गरिएको हो । यो क्वाइन पनि सन् २०१७ मै सार्वजनिक भएको थियो ।
यो सुरुमा इथेरियम ब्लकचेनमा आधारित रहेको थियो तर सन् २०१९ बाट यो बाइनान्सको आफ्नै प्रविधिमा आधारित क्वाइन बन्न पुग्यो । एक बिएनबी बराबर ३११ अमेरिकी डलर मूल्य छ । बाइनान्स क्वाइनको कुल बजार पुँजी करिब ४९ बिलियन डलरको रहेको छ ।
के बाइनान्स भरपर्दाे छ ?
विश्वव्यापी रुपमा लाखौँ मान्छेले विश्वासको गरेको क्रिप्टोकरेन्सी कारोबार माध्यमको रुपमा बाइनान्स रहेको छ ।
धेरै कारोबार यसमार्फत हुने भएता पनि यसमा थुप्रै थर्ड पार्टीहरु समावेश रहेका छन्, जसकारण यसलाई ह्याक गर्न सक्ने सम्भावना हुने गर्दछ । सन् २०२२ मा ह्याकरहरले ५७० मिलियन डलर बिएनबी चोरी गरेका थिए ।
हालै बाइनान्सको आफ्नै आग्रहमा अष्ट्रेलियाको शीर्ष वित्तिय नियामकले बाइनान्सको डेरिभेटिभ लाइसेन्स खारेज गरिदिएको छ ।
बाइनान्सले अष्ट्रेलियामा स्वीकृति दिएभन्दा बढिको कारोबार केही ग्राहकहरलाई गर्न दिईरहेको फेला परेपछि सो क्रिप्टो एक्सचेन्ज अहिले अष्ट्रेलियाली धितोपत्र र लगानी आयोगको निगरानीमा रहेको छ जसकारणले बाइनान्सले आफुनो डेरिभेटिभ लाइसेन्स खारेज गर्न आग्रह गरेको थियो ।
यहीसँगै अमेरिका र बेलायतमा पनि बाइनान्सलाई धेरैहदसम्म सिमित गर्दै नियमन गरिएको छ । अमेरिका तथा बेलायतमा भर्चुअप प्राइभेट नेटवर्क प्रयोग गरी प्रयोगकर्ताहरुले बाइनान्स प्रयोग गर्दै आएका छन् ।
यी देशबाहेक क्यानेडाको ओनटारियोमा, चीन, मलेसिया, जापान, थाइल्याण्ड र यूरोपको केही भागमा पनि बाइनान्सको कारोबारमा रोक लगाइएको छ ।
(एजेन्सीहरुको सहयोगमा)