कीवर्डहरू -

विद्यार्थीहरुलाई लक्षित राष्ट्रिय स्टिम च्यालेन्ज प्रतियोगिता \'\'भविष्य’ संचालन हुदै

प्रतियोगिता फागुन २ गते सेना शारीरिक प्रशिक्षण र खेल केन्द्र लगनखेलमा हुने

विद्यार्थीहरुलाई लक्षित राष्ट्रिय स्टिम च्यालेन्ज प्रतियोगिता \'\'भविष्य’ संचालन हुदै

काठमाडौं- निम्‍न माध्यमिक विद्यालय तथा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी विज्ञान , प्रविधि इन्जिनियरिङ , कला र गणित क्षेत्रमा सामूहिक सिकाइको प्रवर्द्धन गर्न भविष्य नामक राष्ट्रिय स्टिम च्यालेन्ज प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता फागुन २ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेना शारीरिक प्रशिक्षण र खेल केन्द्र लगनखेल , ललितपुरमा हुँदैछ।

सोमबार विज्ञान तथा प्रविधि मन्त्रालय , विज्ञा तथा प्रविधि प्रतिष्ठान (नास्ट) , रोबोटिक्स एशोसिएशन अफ नेपाल , कारखाना र नेपाल इन्‍नोभेशन ल्याबले संयुक्त रुपमा पत्रकार सम्मेालन गरी फागुन २ गते उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव संजय शर्माले विज्ञान प्रविधिलाई व्यहारमा उतार्न कल्‍पना , तर्क र चेतनासहितका नयाँ सोचबारे खोज गर्न विद्यार्थीहरुलाई प्रोत्साहित गर्न भविष्य नामक प्रतियोगिता आयोजना गर्न लागेको बताए। उनले भने ,’ विद्यार्थीहरुको सृजनशील सोच र चेतनालाई विज्ञान , प्रविधिको माध्यमबाट प्रस्फुटित बनाउने प्रयास स्वरुप कार्यक्रमको अवधारणा ल्याएका छौ। अब यसलाई सही समयमा परीक्षण गरी भविष्‍यको कर्णधारलाई विज्ञान प्रविधिको बाटोमा डोर्‍याउने बेला आएको छ।

\"\"

उनले विद्यार्थीको सृजनशील प्रतिभालाई सरकारी स्तरबाट पनि आगामी कार्यक्रम र कार्ययोजना तर्जुमा गरिसकेको बताउँदै भने ,’ नेपालको माटो सुहाउँदो प्रविधिमा दक्षता हासिल गर्न जापानमा दुईजना नेपाली विद्यार्थी न्यानो स्याटालाइटबारे अध्ययन गरिरहेका छन्। अध्य्यनपछि नेपाली गाउँघरमा यो परियोजना लागू गर्ने योजनामा छौ।साथै स्कुलदेखि नै नयाँ प्रतिभा जन्माउने विजारोपण गर्न गइरहेका छौ।

नेपाली दैनिक जीवनमा आइपर्ने समस्याहरुलाई विज्ञान प्रविधिको माध्यमबाट कसरी समाधान गर्ने भन्‍नेबारे सरकारी र निजी क्षेत्रले पब्लिक प्राइभेट पार्टनरसीपको अवधारणामा अगाडि बढ्नुपर्नेमा उनको जोड थियो।

यस्तै रोबटिक्स एशोसिएशन अफ नेपाल , कारखानाका सह-संस्थापक एवं कार्यकारी निर्देशक पवित्र गौतमले स्कुलका विद्यार्थीभित्र लुकेर रहेका प्रतिभालाई उजागर गर्न यो प्रतियोगिताले महत्‍वपूर्ण भूमिका खेल्‍ने बताए। उनले भने विद्यार्थी भनेका भविष्यका वैज्ञानिक र सृजनाका खोजकर्ता हुन्। उनीहरुको सृजनशीलतालाई अहिलेदेखि नै चिनेर सही समयमा सदुपयोग गर्न र हाम्रो प्रतिभाबाट विश्‍वलाई नयाँ आविष्कारको क्षेत्रमा केही दिन यो अवधारणा ल्याएका छौ। यसले संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य समेत तय गर्न मद्दत गर्नेछ।

उनले प्रतियोगितामा काठमाडौं उपत्यकाभित्र करीब ११० वटा सामुदायिक विद्यालय तथा संस्थागत मावि तथा निम्‍न माध्यामिक विद्यालय तहका ८ देखि १४ वर्ष उमेर समूहका तीन जना विद्यार्थीहरुको एउटा टीम रहने गरी १ सय ८३ वटा टीमबाट ५५० जना विद्यार्थीहरु सहभागि रहने बताए। उनले भने ,’ विद्यार्थीहरुले ८ वर्षदेखि ११ र १२ वर्षदेखि १४ वर्ष उमेर समूहका विद्यार्थीहरुले प्रतिस्पर्धामा भाग लिन पाउने छन्। चार घण्टामा विद्यार्थीहरुले आफ्नो सृजनालाई देखाउनुपर्ने भएकाले २५ जना मेन्टर (विद्यार्थीहरुलाई सिकाइमा सहयोग गर्ने टेक्निकल लिडर)को व्यावस्थापन गरिसकेको र आवश्यक अतिरिक्त औजारहरु विद्यार्थी आफैले पनि ल्याउन सक्ने जानकारी दिए।

यसका साथै उनले काठमाडौं नजिकै रहेको छिमेकी जिल्ला काभ्रेबाट समेत सामुदायिक विद्यालयका विद्यार्थीहरु प्रतिस्पर्धामा सहभागी गराइएको जानकारी दिए। उनले भने हामीले छिमेकी जिल्ला काभ्रेबाट पनि प्रतियोगितामा सहभागी गराएका छौ।आगामी वर्ष देशभरिबाटै प्रतियोगितामा सहभागि गराउने लक्ष्य हुनेछ।

यस्तै नबिल बैंकका अध्यक्ष शम्भूप्रसाद पौडेलले विज्ञान प्रविधि मन्त्रालय र कारखानाको टीमलाई प्रतियोगिता सम्पन्‍न गर्न तीन लाखको चेक हस्तान्तरण गरे। उनले भने ,’ सरकारले स्कुलका प्रतिभालाई यो मौका दिएकोमा ज्यादै खुशी लागेको छ। आगामी दिनमा पनि विज्ञान प्रविधिमा नयाँ नयाँ खोज र सोच भएका प्रतिभालाई सरकारले खोज्‍ने काम गर्नुपर्‍यो , हामी सहयोग र सहकार्य गर्न तयार छौ।

प्रतितियोगितामा सहभागी उत्कृष्ट प्रतिभालाई पुरस्कारका साथै प्रमाण पत्र र सहभागि सबैलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ।