कीवर्डहरू -

कुन कुन जिल्लाबाट लिन सकिन्छ ई-पासपोर्ट ?

कुन कुन जिल्लाबाट लिन सकिन्छ ई-पासपोर्ट ?

मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू गरेको थियो । राहदानी विभागबाट शुरू भएको ई-पासपोर्ट वितरण अहिले ३० भन्दा बढी जिल्लाबाट वितरण गर्न थालिएको छ ।

राहदानी विभागका अनुसार हालसम्म झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, पर्सा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, लमजुङ्ग, गोर्खा, कास्की, परासी, रुपन्देही, बुटवल, कपिलबस्तु, गुल्मी, सुर्खेत, कैलाली, कञ्चनपुर,काभ्रे, रामेछाप, सिराहा,ईलाका प्रशासन कार्यालय गौशाला, ईलाका प्रशासन कार्यालय हरिवनबाट ई-पासपोर्ट लिन सकिन्छ ।

विभागले यी बाहेक अन्य जिल्ला र विदेशमा रहेका नेपाली राजदुताबासबाट समेत ई-पासपोर्ट वितरण गर्ने तयारीसहित काम गरिरहेको छ । ई-पासपोर्ट वितरण गर्न शुरू भएसँगै अहिले एमआरपी राहदानी वितरण गर्न बन्द गरिएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरूमा करिब १ हप्ता भित्र नै राहदानी उपलब्ध हुन्छ भने काठमाडौं बाहिर महेन्द्र राजमार्ग र आसपासका जिल्ला र हवाई सुविधा भएका जिल्लामा करिब १५ दिन भित्र राहदानी उपलब्ध हुनेछ । जिल्ला प्रशासन कार्यालयहरुमा राहदानी प्राप्त भइसकेपछि  लिन आउनको लागि मोबाइलमा एसएमएस आउने छ ।

ई-पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य आवश्यक पर्छ । विदेशबाट निवेदन दिनेको हकमा यो अनिवार्य छैन । राष्ट्रिय परिचयपत्र नम्बर जिल्ला प्रशासन कार्यालयबाट पाउन सकिन्छ ।

ई-पासपोर्टमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ । चिपमा औठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरु हुन्छन् । यी विवरणहरु राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन ।

यो हालसम्म संसारमा विभिन्न मुलुकहरुमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ । ICAO PKD मार्फत सुचनाहरु रुजु हुने हुँदा विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुन्छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वत: खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।