कीवर्डहरू -

हल्ट प्राइज आइओईको फाइनल शनिबार

हल्ट प्राइज आइओईको फाइनल शनिबार

हल्ट प्राइज आइईओ (इञ्जिनियरिङ अध्ययन संस्थान) को फाइनल आगामी शनिबार (माघ २९ गते) आयोजना गरिने भएको छ ।

चार उद्यमशील वक्ता श्रृंखला, दुई कार्यशाला, दुई सल्लाहसत्र, र सेमिफाइनलपछि कार्यक्रमको फाइनल आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

युवा उद्यमीका विचार र योजनाबारे औपचारिक कार्यक्रममार्फत जानकारी दिँदै यो कार्यक्रम शुरू भएको थियो । कार्यक्रम बज्र टेक्नोलोजिज, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि विकास बैंक, इम्प्याक्ट हब नेपाल, भर्टेक्स नेपाल र दराजसँगको सहकार्यमा भएको हो ।

कार्यक्रममा सहभागी १०६ जनामध्ये १८ टोलीहरू फाइनलमा पुगेका छन् । अन्तिम चरणमा तीन शीर्ष फाइनलिस्ट र एक विजेता टोली घोषणा हुनेछ । फाइनल कार्यक्रममा अनिलकेशरी शाह, आकाश खड्का, समीर श्रेष्ठ, संजोग कोइराला, सनुप पौडेल, ऋचा शर्मा र ओसिस थापा उपस्थित हुनेछन् ।

आयोजकका अनुसार अनुकार महर्जन, डेगेन्द्र शिवाकोटी, नवरुप सहदेव, आँचल कुँवर, सोनिका मानन्धर, आरती गुरुङ मल्ल र डा. सूर्यराज आचार्य निर्णायक रहनेछन् ।

कार्यक्रमका विजेताहरूले १८ हजार प्राप्त गर्नेछन् । साथै, एक पासवर्डबाट एक वर्षको निःशुल्क खाता प्राप्त गर्नेछन् । फेब्रुअरी १५ मा दराजले समग्र क्याम्पस अन्तर्गत शीर्ष विजेता टोलीको लागि अन–साइट सत्रको आयोजना गर्नेछ ।

समग्रमा क्याम्पस अन्तर्गत सबै विजेता टोलीका प्रत्येक सदस्यले ५०० रुपैयाँ बराबरको दराज भौचर प्राप्त गर्नेछन् । क्लर्की, डिजिटल ओशन र टास्केडबाट पनि अन्य पुरस्कारहरू उपलब्ध हुने आयोजनाले जानकारी दिएको छ ।